चिसोबाट बच्न चोक–चोकमा मुढा वितरण

  २०७९ पुष २० गते ९:४६     विकासन्युज

कञ्चनपुर । कञ्चनपुरमा शितलहरका कारण चिसो बढेकाले आगो ताप्न स्थानीय तहहरुले चोक चोकमा मुढा उपलब्ध गराएका छन् । सामुदायिक वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा ती निकायले दाउरा र मुढाको व्यवस्था गराएका हुन् । चिसोबाट सबैभन्दा बढी विपन्न परिवार, बालबालिका र जेष्ठ नागरिकलाई असर परेको छ।

चिसोबाट जोगाउन बजार क्षेत्रका चोक चोकमा दाउरा र मुढाको व्यवस्था गरी आगो ताप्ने व्यवस्था मिलाइएको शुक्लाफाँटा नगरपालिका–११ का वडाध्यक्ष शेरबहादुर साउदले बताउनुभयो । निकुञ्ज कार्यालयसंग समन्वय गरी दुई टिपर दाउर र मुढा वितरण गरिएको उहाँको भनाइ थियो ।

ग्रामीण क्षेत्रमा सामुदायिक वनको सहयोगमा कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकाले पनि मुढा उपलव्ध गराई आगो ताप्ने व्यवस्था गराएका छन् । कृष्णपुरका व्यवसायी हरेन्द्र बोहराले चिसोबाट कोही पनि समस्यामा नपरुन भनेर निःशुल्क ग्रामीण क्षेत्र र बजार क्षेत्रमा दाउरा वितरण गरका छन् ।

‘जनताको जीउधनको शुरक्षा गर्ने कार्य जनप्रतिनिधिको दायित्व भित्र पर्दछ” शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले भन्नुभयो, चिसोबाट सर्वसाधारणलाई जोगाउनका लागि दाउरा र मुढा बाल्ने व्यवस्था गराएका हौँ ।’ बेदकोट नगरपालिका–९ का वडाध्यक्ष जनकबहादुर बिष्टले आवश्यकता भएका ठाउमा मागअनुसार आगो ताप्न मुढा वितरण गरिएको बताए । यहाँ बिहानीको समयमा बाक्लो हुस्सु लाग्ने र दिउसो सितलहर चल्ने गरेको छ । चिसो बढेकै कारण जिल्लाका केही स्थानीय तहले एक साताका लागि विद्यालय बन्द समेत गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.