रिठ्ठा खेतीबाट मनग्य आम्दानी गर्दै उदयपुरका किसान

  २०७९ पुष १९ गते १६:२२     विकासन्युज

उदयपुर । उदयपुर जिल्लाको मध्य तथा उत्तरी र पूर्वी पहाडी क्षेत्रमा रिठ्ठा खेतीबाट उत्पादन वृद्धि भएकाले अहिले कृषकहरुले राम्रै आर्थिक आम्दानी गर्न थालेका छन् ।

जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुरगढी गाउँपालिका, रौतामाई गाउँपालिकासहित पूर्वी पहाडी क्षेत्रको चौदण्डीगढी नगरपालिकाको सावा सिद्धिपुर बेलकाको बबला क्षेत्रमा बर्सेनि व्यावसायिक रुपमा रिठ्ठाखेती वृद्धि हुँदै गएकाले कृषकहरुले मनग्य आम्दानीसमेत गर्न थालेका हुन् ।

विगत केही वर्षदेखि त्रियुगा नगरपालिकाको साउने, खाँबु र रानीबास आधेरी क्षेत्रमा समेत व्यावसायिकरुपमा रिठ्ठा खेती विस्तार हुँदै गएको कृषकहरु बताउँछन् ।

नगदे बालीका रुपमा बिक्री गर्न सकिने र सहज तरिकाले रिठ्ठा बिक्री गरेर आर्थिक आम्दानी लिन सकिने हुनाले अहिले उदयपुरगढी गाउँपालिकाको भलायाडा क्षेत्र, डुम्रेसहित रौतामाई गाउँपालिकाको आँपटार, मुर्कुची, नामन्त, नामेटार क्षेत्रमा व्यावसायिकरुपमा रिठ्ठाखेती वृद्धि हुँदै गएको उदयपुरगढी–३ डुम्रेका कृषक बेगबहादुर घलेमगरले बताए ।

रौतामाई गाउँपालिका–५ आँपटारका रिठ्ठा उत्पादक कृषक हर्कबहादुर राईका अनुसार विगतमा आफूले दुई–चार बोटमात्र रिठ्ठा खेती सुरु गरिएकामा यसको मूल्य वृद्धि हुनाकासाथै राम्रो आम्दानी गर्न सकिने भएकाले केही वर्षयता व्यावसायिक रुपमा नै रिठ्ठा उत्पादनमा वृद्धि गरिएको उनले बताए । तीन वर्षदेखि आफूले वार्षिक दुई लाखभन्दा बढी मूल्यको रिठ्ठा उत्पादन गरेर बिक्री गरेको कृषक राईको भनाइ थियो ।

दश वर्षअघिदेखि आफ्नो घरपाखाको जग्गामा रिठ्ठाको बिरुवा लगाएर हुर्काउनु भएका रौतामाई मुर्कचीका कृषक दोदराज सिजालीमगरले भने, ‘तीन बर्षदेखि रिठ्ठा उत्पादन गर्न थालिएकामा अहिले वार्षिकरुपमा डेढ लाख सम्मको रिठ्ठा बिक्री गर्न आफू सफल भएको र बोटहरु हुर्कंदै गएले केही वर्षपछि उत्पादन वृद्धि हुनाका साथै आम्दानीसमेत वृद्धि हुने अपेक्षा गरेको छु ।’

अहिले रिठ्ठाको बजार राम्रो रहेको र बजार मूल्य प्रतिकेजी ८० देखि १२५ सम्म रहेकाले पनि यस क्षेत्रका कृषक व्यावसायिकरुपमा रिठ्ठा खेतीप्रति बर्सेनि आकर्षित हुँदै जान थालेको उनको भनाइ थियो । आफूले गाउँमा व्यावसायिक रिठ्ठा खेती सुरु गरेपछि अहिले छिमेकीका साथै अन्य गाउँलेले पनि व्यावसायिकरुपले खेती गरेको मुर्कचीका कुलेन्द्र मगरले बताए ।

चौदण्डी नगरपालिकाको सावा सिद्धिपुर क्षेत्रमा समेत अहिले व्यापकरुपमा व्यावसायिक रिठ्ठा खेती सुरु भएको र कृषकहरुले वार्षिक ५० हजार देखि दुई लाखसम्मको रिठ्ठा उत्पादन गरेर बिक्री गर्न थालेको स्थानीय जितबहादुर बुर्जामगरले जानकारी दिए ।

सिद्धिपुर क्षेत्रमा अहिले ११ घर कृषकले व्यावसायिकरुपमा रिठ्ठाखेती गरेका र यस क्षेत्रमा अहिले वार्षिक १८ लाख रुपैयाँँ भन्दा बढीको रिठ्ठा उत्पादन हुने गरेको उनको भनाइ थियोे ।

मुर्कुची बजारका जडीबुटी उत्पादक व्यवसायी तेजनारायण शेर्पाका अनुसार रिठ्ठाबाट साबुन, सेम्पु, औषधी, कस्मेटिक सामानसहित विभिन्न वस्तु उत्पादनका लागि कच्चापदार्थका रुपमा प्रयोग गरिने भएकाले यसको माग पनि बढ्दै गएको र मूल्य पनि राम्रो रहेका कारण अहिले गाउँघरका कृषक रिठ्ठा उत्पादनप्रति आकर्षित हुँदै गएका हुन् ।

आफूहरुले समेत रिठ्ठा खरिद गरेर औषधी उत्पादन गर्ने गरेको र यसबाहेक खरिद गरिएका रिठ्ठा पूर्वको इटहरी र विराटनगर हुँदै भारतर्फ पैठारी हुने गरेको उनले बताए ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकृत जागेशश्वर साहका अनुसार अहिले जिल्लाको मध्य तथा पूर्वी पहाडी क्षेत्रका धेरै कृषकले व्यावसायिकरुपमा रिठ्ठा उत्पादन गरेर राम्रो आर्थिक आम्दानी लिन थालेका छन् ।

त्रियुगा नगरपालिका–१४ साउने र वडा नं १५ खाँबु क्षेत्रमा पनि २०६० सालदेखि रिठ्ठा खेती सुरु भएको र अहिले यस क्षेत्रका झन्डै १५ घर कृषकले रिठ्ठा उत्पादन सुरु गरेको त्रिनपा–१४ साउनेका पूर्ववडाध्यक्ष कुरुङ राईले बताए ।

उक्त नगरपालिकाको साउने र खाँबु क्षेत्रमा अहिले वार्षिक आठ लाखदेखि १० लाख रुपैयाँँसम्मको रिठ्ठा उत्पादन हुन थालेको खाँबु हुबासका कृषक दुर्गाप्रसाद तिम्सिनाले बताए ।

गाउँका कृषकबाहेक जिल्लाको सरकारी वनमा समेत रिठ्ठा उत्पादन हुँदै आएको र आफूहरुले नै गाउँका कृषकलाई रिठ्ठाको बिरुवा उपलब्ध गराएर उत्पादन गर्न प्रोत्साहन गर्दै आएको सहायक वन अधिकृत साहले जानकारी दिए ।

रिठ्ठाका बिरुवाहरु बर्सेनि डिभिजन वनले नै नर्सरीमा उत्पादन गरेर कृषकहरुलाई वितरण गर्ने गरेपछि अहिले जिल्लाको पहाडी क्षेत्रका धेरै गाउँका कृषकले व्यावसायिकरुपमा रिठ्ठा उत्पादन बढाउँदै गएका र यसबाट राम्रो आम्दानीसमेत लिन थालेको उनको भनाइ थियो ।

यस क्षेत्रमा उत्पादन हुने रिठ्ठा सहज तरिकाले विराटनगरको साबुन उद्योगमा र भारतमा समेत पैठारी हुने गरेकाले यसको बजार राम्रो रहेको कृषकहरुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.