भरतपुरमा बाबा र आमाको सेवा गर्न सिकाउँदै स्कुल

  २०७९ पुष १५ गते ११:५९     विकासन्युज

भरतपुर । ‘आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है’ भन्दै नारायणी नमूना मावि भरतपुरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी निश्चल अधिकारी आफ्नी आमाको गाला मुसार्दै थिए । उनले विद्यालयमा आयोजित कार्यक्रममा सबैका सामु आफ्नी आमालाई सधैँ माया गर्ने प्रतिबद्धता जनाए ।

निश्चलजस्तै अन्य विद्यार्थीले पनि आफ्ना बा–आमाप्रति माया र स्नेह जगाउँदै थिए । चितवनमै पहिलोपटक गरिएको कार्यक्रममा अभिभावकसहित विद्यार्थीको आँखाबाट भावुकतासँगै आँशु छल्किएको थियो ।

केही अभिभावक आफ्नो छोराछोरी, नाता–नातिनीले गरेको बाचाले भक्कानिँदै आँशु लुकाउन प्रयासरत देखिन्थे । यो सबै विद्यालयको कार्यक्रममा देखिएको दृश्य हो । भरतपुर महानगरपालिका–१० स्थित विद्यालयको हीरक महोत्सव समारोहमा विद्यार्थीलाई अभिभावकप्रतिको माया र दायित्ववोध गराउन ‘अभिभावक स्याहार–सुसार’ कार्यक्रम आयोजना गरेको हो ।

आँशुले टिलपिल भएको आँखा पुच्दै अभिभावक प्रियङ्का शाहले भनिन्, ‘सधैँ यस्तै व्यवहार छोराछोरीले गरुन् भन्ने आश छ । घरमा पनि मलाई सहयोग गर्छन् तर आज स्कुलले सिकाएजस्तै सधैँ गरिदिए हुन्थ्यो भन्ने लाग्छ ।’ शाहले छोराछोरीको माया स्कुलको कार्यक्रममार्फत् महसुस गर्न पाउँदा खुसी लागेको अनुभव सुनाइन्। शाहकी छोरी ४ कक्षामा अध्यनरत छिन् ।

शारीरिकरूपमा दृष्टिविहीन अभिभावक डोलकुमारी ढकालले व्यवहारिक शिक्षा सबैभन्दा महत्वपूर्ण रहेको बताइन् । उनका छोरा सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत छन् । ढकालले विद्यालयबाटै पारिवारिक शिक्षा दिन सके खुसी परिवार निर्माण गर्न सकिने विचार राखिन् ।

सानै उमेरदेखि बच्चालाई काम गर्न, असल ज्ञान दिन जरुरी रहेको उनको भनाइ छ । उनका छोरा सागर ढकालले अरुका लागि नौलो कुरा भए पनि आफ्ना लागि भने दैनिकीजस्तै लागेको बताए । ‘मेरो ममीले सानैदेखि मलाई काम गर्न सिकाएकी छिन् । ममीको स्याहारसुसार पनि गर्दै आएको छु’, सागरले भने ।

अभिभावक रुपक लामिछानेले यस्ता खालका अभियान र कार्यक्रमले मात्रै अभिभावकलाई वृद्धाश्रम जानबाट रोक्न सक्ने बताए । उनले भने, ‘अहिलेका छोराछोरी दायित्व भुलेर मात्र आमाबुवालाई आश्रम छाडेका छैनन् । हात–मुख जोड्न विदेश जानुपर्ने बाध्यताले पनि राखेका छन्, यो दुवै समस्याको अन्त्य हुनुपर्छ ।’

कार्यक्रमका संयोजक तथा विद्यालयका शिक्षक विशाल अधिकारीले छोराछोरीले बिर्सिएको नेपाली संस्कार संस्कृति र जिम्मेवारी बुझाउनका लागि अभिभावक स्याहारसुसार कार्यक्रम आयोजना गरिएको बताए ।

विद्यालयले नेपालमा नै पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरेको उनले बताए । वृद्धाश्रमलाई घटाउने र आफ्नै घरमा भएको मीठो–मसिनो खाएर अभिभावकलाई सम्मानपूर्वक खुवाउने र स्यारसुसार गर्ने बनाउन स्कुलमा यो कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

‘कलिलो दिमागमा नै यो सन्देश पसोस् भन्ने हाम्रो उद्देश्य हो’, उनले भने, ‘विद्यालयमा सिकेको कुरा भविष्यसम्म उनीहरुमा छाप बस्छ ।’ शिक्षकले जे कुरा सिकायो विद्यार्थीले त्यही कुरा सिक्ने हुँदा विद्यालयस्तरबाट यसलाई सामाजिकस्तरसम्म लैजानुपर्ने उनको भनाइ छ ।

सानै उमेरमा आमाबुवा र हजुरबुवा गुमाएका अधिकारीले समय परिस्थिति अनुकूल कार्यक्रम ल्याएको जानकारी दिन्छन् । हजुरआमाले कष्ट गरेर शिक्षकसम्म बनाएको सम्झँदै उनले आफ्नोजस्तो हजुरआमा, बुवा वृद्धाश्रममा देख्दा असैह्य हुने बताए । यसलाई जरैदेखि निको पार्न विद्यालयदेखि नै विद्यार्थीलाई सिकाउन आवश्यक रहेको उनको भनाइ छ ।

विद्यालयका प्राचार्य पूर्णप्रसाद दबाडीले एकले अर्कालाई हेप्ने होइन सम्मान गर्ने बानीको विकास हुनुपर्ने भन्दै यो संस्कार सबैलाई सिकाउनुपर्ने बताए । विद्यालयले गरेको कार्यक्रमले सबैलाई सकरात्मक सन्देश दिएको उनको भनाइ छ ।

‘सबैतिर सकारात्मक सन्देश प्रवाह भएको छ, म धेरै खुसी भएको छु’, उनले भने । विद्यार्थीले बनावटीमात्रै नभएर दिल खोलेर आफ्ना अभिभावकसँग प्रतिबद्धता जनाएको उनले बताए । सामाजिक सञ्जाल र अन्य कारणले आफ्नो घरपरिवार र आफन्तसँगको सम्बन्ध पनि टाढा बनाएको भन्दै त्यसको अन्त्य स्कुलबाट मात्रै सम्भव भएको प्राचार्य दबाडीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.