तराईमा एक्कासि बढ्यो चिसो, जनजीवन कष्टकर बन्दै

  २०७९ पुष १४ गते १८:१५     विकासन्युज

कपिलवस्तु । कपिलवस्तुसहित तराईका अधिकांश जिल्लामा मौसम परिवर्तन भएसँगै एक्कासि चिसो बढेको छ । दुई दिनदेखि शीतलहर तथा बाक्लो हुस्सुका कारण कपिलवस्तुको जनजीवन कष्टकर बनेको छ ।

शीतलहरले चिसो बढेपछि कपिलवस्तुका अधिकांश चोक चौराहमा चहलपहल घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको तौलिहवाका गुलाम अलीले बताए ।

जाडो बढे पनि स्थानीय सरकार र स्थानीय प्रशासनले सार्वजनिक स्थल, चोक, मठमन्दिरमा दाउराको जोहो गर्न सकेका छैनन् । खास गरेर जाडोका कारण दलित, विपन्न, वृद्धवृद्धा, बालबालिका सबैभन्दा बढी प्रभावित भएको चिकित्सकहरू बताउँछन् । उनीहरूमा चिसोका कारण हुने बिरामी देखिएको छ ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राले लगातार जाडो बढ्दै गएकाले अब छिट्टै जिल्लाको सबै स्थानीय तहको चोक–चोकमा दाउरा बाल्ने व्यवस्था गर्न लागेको बताए । जिल्लामा रहेका साझेदारी वन तथा समुदायिक वनसँग समन्वय गरी गाउँ–गाउँ चोक चौराहामा दाउरा वितरण गर्नका लागि पहल गर्ने प्रमुख जिल्ला अधिकारी मिश्राले जानकारी दिए ।

अत्यधिक चिसोका कारण प्रभावित बिरामी बढेका छन । चिसोका कारण स्थानीय अस्पतालमा बालबालिका, वृद्धवद्धामा लाग्ने निमोनिया, खोकी, घाँटी दुख्ने जस्ता रोगका बिरामी अस्पतालमा बढेको पाइन्छ ।

चिसोबाट बच्नका लागि कपिलवस्तुको विभिन्न चौक चौराहा बजारमा दाउरा बाली आगो ताप्ने क्रम बढेको छ । चिसोकै कारण सवारीसाधनमा यात्रुको चाप घटेको छ । चिसोले बिहानपख यात्रु नपाई कतिपय यात्रुवाहक बस ग्यारेजमा थन्क्याइएको छ ।

एक्कासि अत्यधिक चिसो बढेपछि जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत न्यून देखिएको जिल्ला प्रशासन कार्यालय तौलिहवाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.