बैंकहरुले ८ दिनमा २४ अर्ब निक्षेप भित्र्याए, सीडी रेसियो कति ?

  २०७९ पुष १२ गते १९:४८     विकासन्युज

काठमाडौं । पुसमा वाणिज्य बैंकहरुमा निक्षेप संकलन दर बढेको छ । पुसमा ८ दिनको अवधिमा मात्रै बैंकहरुले २४ अर्ब रुपैयाँ निक्षेप बैंकिङ्ग प्रणालीमा भित्र्याएका हुन् । गत मंसिर मसान्तसम्ममा ४६ खर्ब २१ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले पुस ८ गतेसम्म २४ अर्ब रुपैयाँ बढेर ४६ खर्ब ४५ अर्ब पुर्याएका हुन् ।

एक साताको अवधिमा भने २० अर्ब रुपैयाँ निक्षेप भित्र्याउन सफल भएका छन् । गत पुस १ गते वाणिज्य बैंकहरुको निक्षेप ४६ खर्ब २५ अर्ब रुपैयाँ मात्रै थियो । तर, एक सातामा नै प्रणालीमा २० अर्ब बढी रकम भित्र्याउन सफल भएका हुन् ।

यस्तै, बैंकहरुले पुसमा कर्जा लगानी ठप्प पारेका छन् । बैंकहरुले पुस ८ गतेसम्म १ अर्ब रुपैयाँ कर्जा घटाएका छन् । गत मंसिर मसान्तसम्ममा ४२ खर्ब २४ अर्ब कर्जा प्रवाह गरेका बैंकहरुले पुस ८ गतेसम्म १ अर्ब घटाएर ४२ खर्ब २३ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका हुन् ।

एक साताको अवधिमा भने १ अर्ब रुपैयाँ बढाएका छन् । गत पुस १ गतेदेखि पुस ८ गतेसम्म १ अर्ब रुपैयाँ कर्जा बढाएका हुन् र पुस १ गते ४२ खर्ब २२ अर्ब मात्रै कर्जा लगानी गरेका थिए । ब्याजदर महँगो भएका कारण कर्जाको माग कम रहेको बैंकरहरु बताउँछन् ।

नेपाल बैंकर्स संघका अनुसार बैंकहरुको कर्जा निक्षेप (सीडी) अनुपात ८६.०६ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.