पुस २७ गते ऐतिहासिक आँगनमा राष्ट्रनिर्माता सलामी अर्पण गरिने

  २०७९ पुष १२ गते १८:२८     विकासन्युज

गोरखा । गोरखा दरबार सङ्ग्रहालय परिसरमा रहेको ऐतिहासिक ‘ठूलो आँगन’ मा राष्ट्रिय एकता दिवसको अवसरमा झण्डोत्तोलन तथा बिगुलद्वारा विजय ध्वनिसहित राष्ट्रनिर्माता सलामी अर्पण थालनी गरिने भएको छ ।

गोरखा सदरमुकाम ठूलो आँगनमा नेपाल एकीकरणका अभियान्ता पृथ्वीनारायण शाहको सालिक, नेपालको राष्ट्रिय झण्डा र नक्सा राखेर राष्ट्र निर्माता सलामी अर्पण सुरु गरिने गोरखा नगरपालिका मेयर कृष्णबहादुर रानामगरले जानकारी दिए । सङ्ग्रहालय परिसरमा आज पत्रकार सम्मेलनको आयोजना गरी नगरप्रमुख रानामगरले पुस २७ गते राष्ट्रिय एकता दिवसको अवसरमा विजय ध्वनिसहित राष्ट्रनिर्माता सलामी अर्पणको थालनी गरिने बताए ।

समग्र गोरखाको पर्यटन प्रवद्र्धनका लागि ठूलो आँगनमा दैनिक बिहानको सूर्योदय र बेलुकीको सूर्योस्तको समयमा पृथ्वीनारायण शाह पालाका नेपाली सेनाको पेसाकमा सेनाको परेड खेल्ने र सलामी अर्पण गर्ने उनले बताए ।

‘ठूलो आँगनमा पृथ्वीनारायण शाहको पालाका समयमा पनि तत्कालीन सेनाले हतियार प्रदर्शनसहित सेनाको परेड खेलाउने ठाउँको रुपमा ऐतिहासिक महत्व भएको ठाउँ हो,’ उनले भने, ‘सोही इतिहासको जर्गेना गर्न अबदेखि दैनिकरुपमा तत्कालीन सेनाको पोसाकमा नेपाली सेनाले विजय ध्वनिसहित राष्ट्र निर्माता सलामी अर्पण गर्नेछ ।’

उनले यसबाट राष्ट्र निर्माता सलामी हेर्नका लागिसमेत पर्यटक गोरखा आउने वातावरणको सिर्जना हुने बताए । बिहान आउने पर्यटक बेलुकीको सलामी हेर्न बास बस्न सक्ने र बेलुकी आउने पर्यटक बिहानको सलामी हेर्न सदरमुकाममा एकरात बस्ने अवस्थाको सिर्जना भएको उनको भनाइ छ । नगरप्रमुख रानामगरले यसबाट गोरखाको इतिहासको जर्गेना मात्र नभइ पर्यटनको प्रवद्र्धनसमेत हुने बताए । गोरखा नगरपालिकाको प्रस्तावमा नेपाली सेनाले गोरखाको इतिहासको जर्गेना गर्न राष्ट्र निर्माता सलामी अर्पणको थालनी गर्न लागेको उनले बताए ।

‘ठूलो आँगनमा राखिने सालिक र त्यसले गर्ने पर्यटन प्रवद्र्धनले सिङ्गो गोरखाले फाइदा लिनसक्छ,’ उनले भने, ‘यसबाट गोरखाको समग्र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने निश्चित छ ।’ उनले गोरखा नगरपालिकामा नै नेपाली सेनाबाट राष्ट्रिय निर्माता सलामीको थालनी गर्न पाउनु जिल्लाको लागि सौभाग्य भएको बताए ।

‘अहिलेको सेना होइन ऐतिहासिक सेनाको पोसाक पनि ऐतिहासिक सेना हुने हो,’ उनले भने, ‘यसले गोरखाको इतिहासलाई विश्वास पु¥याएर गोरखाको पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ ।’

नेपाल एकीकरणको इतिहासमा गोरखाको छुट्टै पहिचान रहेको भन्दै नगरप्रमुख रानामगरले इतिहासलाई जोगाउँदै त्यसको प्रचारप्रसार गरेर जिल्लाले फाइदा लिन सक्नुपर्ने बताए । ‘गोरखा इतिहासलाई पनि जगेर्ना गर्नुपर्नेछ,’ उनले भने, ‘ठूलो आँगनमा पृथ्वीनारायण शाहको सालिक राख्ने, झण्डा राखेर दैनिकरुपमा सलामी दिइन्छ ।’

पुस २७ गते राष्ट्रिय एकता दिवसको दिन देशभर हरेक वर्ष राष्ट्र निर्माता सलामी दिइन्छ । नेपाली सेना रिपुमद्र्धन गणका गणपति हेमराज विष्टले गोरखा झन ऐतिहासिक जिल्ला भएकाले नेपाल एकीकरणको उद्गमस्थलमा दैनिकरुपमा सलामी दिँदा झन् यसको छुट्टै महत्व हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.