अर्थ मन्त्रालयमा पौडेलको पुनरागमनले सेयर बजारका लागि हुन सक्छ सुखद, यस्तो छ विगत

  २०७९ पुष ११ गते १६:५०     सन्तोष रोकाया

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री बनेका छन् । उनले पद तथा गोपनियताको सपथ पनि लिइकसेका छन् । उनी अर्थमन्त्री बनेकै दिन सेयर बजार बढेको छ । यसअघि निरन्तर घट्दै आएको सेयर बजारले पनि उनलाई स्वागत गरेको होकि भन्ने महसुस धेरैले गरेका छन् ।

उनी अर्थमन्त्री बन्ने निश्चित भएपछि सोमबार सेयर बजार ५७ अंकले बढ्यो भने कारोबार २ अर्ब नाघ्यो । त्यसैले पनि उनी अर्थमन्त्री हुँदा लगानीकर्ता र समग्र उद्योगी व्यवसायी पनि खुसी भएकी भन्ने आभास दिलाएको छ ।

अर्थमन्त्रीको रुपमा उनको यो तेस्रो कार्यकाल हो । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनी अर्थमन्त्री थिए । यसअघि एमाले र माओवादी एउटै दलमा हुँदा पनि पौडेल अर्थमन्त्री थिए ।

अर्थमन्त्री पौडेल समन्वयकारी भूमिका निभाउन सक्ने राजनीतिज्ञको रुपमा चिनिन्छन् । पछिल्लो समय निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीच आन्तरिक विवाद भएकै कारण अर्थतन्त्रले दुःख पाएको बुझाइ धेरैको थियो । तर, अब त्यो अवस्था रहेन । अर्थमन्त्री पौडेल गभर्नरलाई सँगै लिएर समन्वय गर्न सक्ने खुबी राख्छन् ।

उनी यसअघिको कार्यकालमा पनि कुनै विवादमा आएनन् । बरु विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसकोे समयमा पनि अर्थतन्त्रलाई सही दिशामा लैजान उनले प्रभावकारी भूमीका खेले । अर्थमन्त्रीका रुपमा ९ महिना भएपनि दोस्रो कार्यकाल सुखद रह्यो ।

अर्थमन्त्री बनेर के–के गरे राम्रा काम ?

अर्थमन्त्री पौडेल दोस्रो कार्यकालका रुपमा २०७७ असोज २८ गते अर्थमन्त्रीमा नियुक्त भएपछि उनले पहिलो पटक तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायतसँग बैठक राखेर प्रत्येक स्थानीय तहमा कम्तिमा १५ शैयाको अस्पताल निर्माण गर्ने निर्ण गरे । कात्तिक १२ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेल, तत्कालिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल लगायतको बैठक बस्यो । सो बैठकले २०७८ को असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गर्यो ।

पौडेलको अध्यक्षतामा कात्तिक २८ गते कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी अर्थ मन्त्रालयमा बैठक बस्यो । सो बैठकले सात दिनभित्र कोरोना बीमाको दाबी भुक्तानी दिने निर्णय गर्यो । तर, हालसम्म अधिकांश कोरोना पीडितले भुक्तानी पाइसकेका छैनन् । अब उनी अर्थमन्त्रालयको बागडोर सम्हाल्न आएपछि कुनै प्रगति हुन्छ कि त्यो विषय भने हेर्न बाँकी नै छ ।

उनको अर्को महत्वपूर्ण कार्य भनेको पुस्तकको भन्सार कर हटाउने, कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने, मन्त्रीहरुको तलबको ५० प्रतिशत कोरोना कोषमा जम्मा गर्ने थियो । जुन निर्णयले उनको प्रशंसा समेत भएको थियो ।

यस्तै, उनले पूँजी बजारको ब्रोकर कमिसन घटाउने निर्णय गरे । नेपालमा पूर्वाधार, उत्पादनशिल लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको पूँजी भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्डको स्थापनाको घोषणा भयो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन मात्रै दिएनन् तदारुकताका साथ विदेशी दातृ नियकासँग पनि समधुर सम्बन्ध राखेर काम गरेर सहयोगको अपील गरे ।

यस्तै, उनको पहलमा अर्थ मन्त्रालयद्वारा १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियु जडानका लागि अर्थ मन्त्रालयले थप १७ करोड ८७ लाख ७० हजार रुपैयाँको सहमति भयो । जेठ १० गते अर्थ मन्त्रालयद्वारा अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियु जडान र पिसिआर मेसिन खरिदका लागि अर्थ मन्त्रालयले १२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँको सहमति भयो ।

अर्थ मन्त्रालयद्वारा कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको थप व्यवस्था गर्न ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित पनि भयो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९का लागि १६ खर्ब ४७ अर्बको बजेट प्रस्तुत गरे । जसलाई धेरैले पपुलिष्ट बजेट भनेर चर्चा गरे । बजेटमार्फत् उद्योगी व्यवसायीहरुले राहत पाए । अर्थमन्त्री पौडेलको ९ महिने कार्यकाल सेयर बजारका लागि पनि सुखद नै बन्यो । सो अवधिमा सेयर बजारले पनि विभिन्न समयमा नयाँ रेकर्डहरु स्थापित गर्न सफल भयो । उद्योगी व्यवसायीहरु पनि उनीदेखि रुष्ट भएनन् ।

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यशैलीले आजित बनेका लगानीकर्ता र उद्योगी व्यवसायीका लागि अर्थमन्त्री पौडेल प्यारा बने । उनले विभिन्न नीतिहरु ल्याउँदा होस् बजेट नै ल्याउँदा किन नहोस् लगानीकर्ता र उद्योगी व्यवसायीको मर्म बुझेर ल्याए । परिणामस्वरुप उनीप्रति व्यवसायी खुसी भए ।

उनले बजेटमार्फत् कर्मचारीको तलब २ हजार रुपैयाँले बढाए भने वृद्धभत्ता चार हजार पुर्याए । उनी वृद्धवृद्धादेखि शिक्षककहरुको पनि प्यारा बने । भलै उनले ल्याएको बजेट भने कार्यान्वयन हुन सकेन । नयाँ सरकार बनेपछि शर्माले अध्यादेशमार्फत् बजेट ल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.