तरकारी खेतीमा रमाउँदै थारु महिला, वार्षिक चार लाख नाफा

  २०७९ पुष ११ गते १६:३९     विकासन्युज

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका १५ धम्कापुर ४२ वर्षीया स्यानी चौधरीले व्यावसायिक तरकारी खेती गरेको लामो समय भयो । व्यावसायिक धनियाँ खेतीमार्फत् आत्मनिर्भर बनेकी उनले सफल महिला किसानको रुपमा आफूलाई स्थापित गर्न सफल भएकी छिन् ।

उनले धनियाँको पात मात्रै बिक्री गरी वार्षिक चार लाख रुपैयाँसम्म बचत गरिरहेकी छिन् । ‘धनियाँ बेच्न हरेक दिन बिहान छिटुवाभरी पात बोकेर घर-घर पुग्छु’, उनले भने, ‘गत दसैँ र तिहारमा अवधिमा धनियाँ बेचेरै डेढ लाख रुपैयाँसम्म आम्दानी गरेँ ।’

विसं २०५८ देखि धनियाँखेती गरे पनि विगत १४ वर्षदेखि भने उनी व्यावसायिक तरकारीमा लागेकी हुन् । उनले हाल १० कट्ठा जमिनमा स्थानीय जातको धनियाँखेती गरिरहेकी छिन् ।

वर्षमा मौसमी र बेमौसमी गरी दुई पटक धनियाँ खेती गर्दै आएकी उनले धनियाँ प्रतिमुठा २० रुपैयाँमा बिक्री गर्छिन् । धनियाँ बेचेर भएको आम्दानीबाट उनले गाउँमा १७ कट्ठा चार धुर जमिन जोड्न सफल भएकी छिन् । जसमध्ये १० कट्ठामा व्यावसायिक धनियाँ खेती र बाँकी जमिनमा अन्य खेती गरेको उनले बताइन् ।

उनी मात्रै होइन यस क्षेत्रका अन्य थारू महिला पनि व्यावसायिक तरकारी खेतीमा लागेर आर्थिक रुपमा आत्मनिर्भर बन्दै गएका छन् ।

सोही ठाउँकी ५० वर्षीया रेखा चौधरी पनि व्यावसायिक तरकारीखेती गरी आर्थिक रुपमा आत्मनिर्भर बनेकी छिन् । उनले १५ कट्ठा जग्गामा चम्सुर, पालक, गोभी, गोलभेडालगायतका तरकारी खेती गरेकी छिन् ।

उनी पनि हरेक दिन बिहानै छिटुवामा तरकारी बोकेर पैदल हिँड्दै बिक्रीका लागि तुलसीपुर बजारसम्म पुग्छिन् । ‘पहिले हामी धानखेती गर्दथ्यौँ, तर आम्दानी राम्रो हुने भएपछि विगत छ वर्षदेखि व्यावसायिक तरकारीखेतीमै छौँ’, उनले भनिन्, ‘यसबाट वर्षमा तीन लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको छ ।’

तरकारीखेतीमा सिँचाइको अभाव हुने गरेको बताउँदै उनले हालसम्म यसका लागि कुनै तालिम नलिएको बताइन् ।

सोही ठाउँकी ४० वर्षीया राजपति चौधरीले पनि १६ कट्ठा जमिनमा बन्दा, फूल गोभी, गोलभेडालगायतका तरकारीको व्यावासयिक खेती गर्दै आएकी छिन् । दिनभर तरकारीखेतीमा व्यस्त हुने उनी पनि हरेक बिहानै छिटुवाभरी तरकारी बोकेर बिक्रीका लागि तुलसीपुरसम्म पुग्नछिन् । उनले वार्षिकरुपमा साढे तीन लाख रुपैयाँसम्म तरकारी खेतीबाट आम्दानी भइरहेको बताइन् ।

‘तरकारीखेतीबाट भएको आम्दानीले दुई जना छोराछोरीलाई कृषि प्राविधिक विषय पढाउन सजिलो भएको छ’, उनले भनिन् ।

सामान्य लेखपढ गरेकी उनी व्यावसायिक कृषिमा महिलालाई टिकाइ राख्न सिँचाइको सहज सुविधा हुनुपर्ने बताउँछिन् । उत्पादनका लागि पानीको सुविधा र बिक्रीका लागि बजार, उचित मूल्य, विउ र कीटनाशन औषधिका साथै तालिमको व्यवस्था स्थानीय निकायले गरी दिनुपर्नेमा उनको जोड छ ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले नगरपालिकाभित्र उत्पादन हुने सबै उत्पादनको उचित मूल्य, बजारीकरणका लागि आफूहरु लागेको जिकिर गरिन् ।

किसानले तुलसीपुर बजारमा तरकारी बजार केन्द्र भवन निर्माण गरेको भए पनि सबैलाई पायक नपरेकाले महिला किसानहरु बिहानै छिटुवा बोकेर बजार जानुपरेको बताइन् ।

उनले धम्कापुर गाउँलगायत उपमहानगरपालिकाका किसानलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन उपमहानगरबाट प्रोत्साहन गर्नका लागि कृषि कार्यक्रम सञ्चालन गरेको बताइन्। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.