पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको परीक्षण उडान सम्पन्न

  २०७९ पुष १० गते १९:४३     विकासन्युज

कास्की । निजी वायु सेवा सञ्चालक कम्पनी सौर्य एयरलाइन्सले नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान गरेको छ । आगामी पुस १७ गतेदेखि विमानस्थल सञ्चालनमा आउने भएपछि सो एयरलाइन्सले सफलतापूर्वक जेट विमानबाट उडान भरेको हो ।

यससँगै पोखरामा पहिलोपटक सौर्यले उडान गरेको छ । सौर्यले ‘सिआरजे २००’ विमान अवतरण गराएको हो । हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलमा प्राविधिक कारणबाट सो विमान अवतरण गर्न नसक्ने भएकाले यसअघि पोखरामा सौर्यको उडान थिएन । सो एयरलायन्सले अङ्ग्रेजी नयाँ वर्षदेखि नियमित उडान गर्ने जनाएको छ ।

विगत आठ वर्षदेखि आन्तरिक उडानमा सक्रिय सौर्यले काठमाडौं–पोखरा–काठमाडौं दैनिक दुई उडान गर्ने पोखरा स्टेसनका इञ्चार्ज जितेन्द्र यादवले बताए । उनका अनुसार युरोप, अमेरिका तथा अन्य देशमा आन्तरिक उडानका लागि लोकप्रिय ‘सिआरजे २००’ जहाजमा जेट इन्जिन भएकाले सुरक्षित एवं आरामदायीसहित द्रुत गतिको मानिन्छ ।

हवाई सेवा सञ्चालनसँगै पर्यटकीय राजधानी पोखराको पर्यटनमा टेवा पुग्ने यादबले बताउनुभयो । यात्रुको सुरक्षालाई पहिलो प्राथमिकता बनाएको एयरलाइन्सले पर्यटनका गतिविधिलाई थप सशक्त बनाउन काठमाडौँ र पोखराका पर्यटन व्यवसायीसँग समन्वय गर्दै अघि बढ्ने जनाएको छ ।

इञ्चार्ज यादवले भने, ‘हाम्रो सेवालाई थप चुस्त बनाउने क्रममा पोखराको इतिहासमै पहिलोपटक जेट विमानमार्फत यात्रुलाई सेवा गराउन पाउनु कम्पनी र यात्रुका लागि खुसीको कुरा हो । पोखराको इतिहासमा पहिलोपटक जेट विमानमार्फत यात्रा गराउन लागेका छौँ ।’ पोखरा–काठमाडौं भाडा सुरुआतमा न्यूनतम चार हजार एक सय तोकिएको छ । यात्रुको चापअनुसार अन्य एयरलाइन्ससरह मूल्य तोकिने कम्पनीले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीसँगै विमान कम्पनीहरुले परीक्षण उडान गर्दै आएका छन् । केही दिनअघि बुद्धएयर र यति एयरलाइन्सले सफलतापूर्वक परीक्षण उडान गरेका थिए । पुस १७ देखि नवनिर्मित विमानस्थलदेखि आन्तरिक हवाई सेवा दिनका लागि कम्पनीले कार्यालय व्यवस्थापनलगायतका कार्य गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.