मधेस प्रदेशका ९८० युवालाई सीप र रोजागारमूलक तालिम

  २०७९ पुष ३ गते ९:२१     विकासन्युज

धनुषा । कोभिड–१९ महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका मधेस प्रदेशका नौ सय ८० युवालाई तालिम दिइएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमअन्तर्गत विदेशबाट फर्किएका नेपालीका लागि रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमले प्रदेशमा कृषि, निर्माण र पर्यटन क्षेत्रमा एक सय ६० घण्टाको रोजगारमूलक तालिम दिइएको हो ।

सो कार्यक्रमको प्रगति र समीक्षाबारे स्थानीय पालिका प्रमुखसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रदेशका नौ सय ८० मध्ये नौ सय ६७ जनाले पूर्णरूपमा तालिम लिएको युएनडीपीका राष्ट्रिय कार्यक्रम प्रबन्धक डा. मुकुन्दमणि खनालले बताए ।

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद सुवेदीले एक सय ६० घण्टाको तालिम लिएका युवा स्वरोजगार हुन थालेकाले तालिम प्रभावकारी भएको बताए । सरकारसँग मिलेर  बेरोजगार युवालाई प्रोत्साहन हुनेगरी अनुदान, सहुलियत दरमा कर्जा प्रवाहलगायत प्राविधिक सेवा दिनुपर्ने आवश्यकता भएको उनले बताए ।

मधेस प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले युवालाई स्वदेशमै सीप सिकाउन सके रोजगारमूलक व्यापार व्यवसायमा वृद्धि हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्साल, पूर्वशिक्षा सचिव डा. रामहरि लामिछाने, सीटीइभीटी मधेस प्रदेश प्रमुख नागेन्द्र साह, कार्यक्रमका मधेस प्रदेश संयोजक दीपक साहशङ्करले कार्यक्रमका विविध पक्षमाथि चर्चा गरेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.