एनबिएको सदस्यमा एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ, दुई जना दोहोरिए

  २०७९ मंसिर २६ गते २१:४२     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए) को कार्यकारी सदस्यमा तीन जना नियुक्त भएका छन् । नेपाल बैंकर्स संघको सोमबार सम्पन्न भएको वार्षिक साधारण सभाले तीन जनालाई कार्यकारी सदस्यमा नियुक्त गरेको जानकारी दिएको हो ।

एनबिएको कार्यकारी सदस्यमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ नियुक्त भएका छन् । यसअघि मेगा बैंककी पूर्व सीईओ अनुपमा खुञ्जेलीले बैंकबाट अवकाश पाएपछि संघको पद रिक्त रहेको थियो । सोही पदमा एभरेष्ट बैंकका सीईओ खालिङलाई नियुक्त गरिएको बैंकर्स संघले जनाएको हो । खालिङ यसअघि पनि संघको कार्यकारी सदस्य थिए ।

यस्तै, संघको कार्यकारी सदस्यमा दुई जना दोहोरिएका छन् । माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ दीपकुमार दे संघको कार्यकारी सदस्यमा दोहोरिएका हुन् । संघको विधान अनुसार एक कार्यकाल दोहोर्याउन पाउने व्यवस्था अनुसार दुवै जनालाई दोहोर्याएको हो ।

संघको अध्यक्षमा कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्याय, उपाध्यक्षमा एनएमबि बैंकका सीईओ सुनिल केसी रहेका छन् । बैंकर्स संघको कार्यकारी सदस्यमा लक्ष्मी बैंकका सीईओ अजय विक्रम शाह, नेपाल बैंकका सीईओ कृष्ण बहादुर अधिकारी, एनआईसी एशिया बैंकका सीईओ रोशनकुमार न्यौपाने र सनराइज बैंकका सीईओ सुमन शर्मा छन् । यस्तै, नबिल बैंकका सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगाना निवर्तमान अध्यक्ष हुन् भने हिमालयन बैंकका सीईओ अशोक राणा सल्लाहकार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.