जब स्ट्याण्डर्ड चार्टर्ड बैंकमा नेपाली सेयरधनीले ‘गो ब्याक युओर कन्ट्री’को नारा लगाए…

  २०७९ मंसिर २५ गते २०:१९     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको आइतबार ३६औं वार्षिक साधारण सभा आयोजना भयो । आर्मी अफिसर्स क्लब, भद्रकालीमा दिउसो १ बजेबाट सुरु भएको वार्षिक साधारणसभा करिब तीन घण्टासम्म चल्यो । बैंकहरुमा प्रायः एउटै लगानीकर्ताहरु हुन्छन् । आइतबार नै कुमारी बैंक र एनसीसी बैंकको पनि विशेष साधारण सभा भएकाले स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभामा सेयरधनीहरुको उपस्थिती खासै उत्साहजनक थिएन ।

कार्यक्रमको सुरुमा बैंकका अध्यक्ष जरिना दारुवालाले सञ्चालक समितिको प्रतिवेदन सार्वजनिक गरिन् । उनले आगामी वर्षमा सेयरधनीहरुलाई लाभांश बढी वितरण गर्न प्रयास भइरहेको बताइन् । हाल कायम रहेका सूचकहरु अब्बल रहेको बताउँदै अब बैंकलाई नम्बर वान बनाउने रणनीति रहेको धारणा उनले सेयरधनी समक्ष राखिन् ।

‘स्ट्याण्डर्ड चार्टर्ड बैंकले नेपालको बैधानिक संरचना र स्ट्याण्डर्ड चार्टर्ड समूहको जोखिम व्यवस्थापन सम्बन्धी सिद्धान्त र अभ्यासहरूको पालना गर्छ, बैंकका अभ्यासहरूलाई स्वस्थ जोखिम संस्कृतिमा पङ्क्तिबद्ध गर्ने र आचरणका उच्चतम मापदण्डहरूलाई अवलम्वन गर्ने कुरालाई सुनिश्चितता प्रदान गर्छ,’ उनले कार्यक्रममा भनिन् ।

अध्यक्ष दारुवालाले वार्षिक प्रतिवेदन सार्वजनिक गरेपछि करिब आधा दर्जन सेयरधनीले कार्यक्रममा आफ्नो धारणा राखे । बैंकको साधारणसभामा सेयरधनी गुणराज भट्ट, नरसिंह चख्खु, चन्द्र नारायण श्रेष्ठ, मेजर कुबेर श्रेष्ठ, सुदिप श्रेष्ठ, ब्रम्हदेव शाक्य र शत्रुघन श्रेष्ठले आफ्नो मन्तव्य राखे ।

बैंकका कम्पनी सचिव गोपी भण्डारीले नाम टिपाएका सबै सेयरधनीहरुलाई बोलाउँदै गए । सुरुमा पालो आयो सेयरधनी नरसिंह चख्खुको । कागजमा लेखेर ल्याएको मन्तव्य पढ्दै उनले भने,‘ स्ट्याण्डर्ड चार्टर्ड बैंकले काम गर्ने शैली परिवर्तन गरेर अघि बढनु पर्छ,सेयरधनीहरुलाई उच्च प्रतिफल दिने बैंकको रुपमा आफूलाई स्थापित गर्नु पर्छ, बैंक अधिकांश सूचकमा अब्बल छ, अब अग्रस्थानका लागि काम गर्न जरुरी छ ।’

६ मिनेट १८ सेकेण्डको अंग्रेजी भाषाको मन्तव्य सकाउँदै उनी झोला भिड्दै कुमारी बैंकको साधारणसभातर्फ लागे ।

अर्का सेयरधनी गुणराज भट्टले सभामा नेपालीमै मन्तब्य राखे । उनले आफ्नो अधिकांश समय बैंकको प्रशंसामै बिताए । विगतमा बैंकको सेयर मूल्य प्रतिकित्ता ९ हजार रुपैयाँ पुगेको थियो तर आजका दिनमा ४ सयको हाराहारीमा रहेको बताउँदै उनले अब  सेयर मूल्य बढाउन तर्फ लाग्नु पर्ने बताए ।

उनले ३६ वर्षको बैंकिङ्ग इतिहास बोकेको बैंकले हालसम्म आफ्नै स्वामित्वमा भवन निर्माण गर्न नसकेकोमा गुनासो ब्यक्त गरे । एउटा घर पनि बनाउन नसक्दा ट्याण्डर्ड चार्टर्ड बैंक अब नेपालबाट भागेर जान्छ की भन्ने चिन्ता प्रकट गरे ।

सेयरधनी चन्द्र नारायण श्रेष्ठले क्यापिटल एडुकेसी राम्रो भएकोले बैंकले सेयरधनीहरुलाई २०र२५ प्रतिशतका दरले लाभांश वितरण गर्नुपर्ने धारणा राखे । उनले बैंकले सही तथ्याङ्क राख्नु पर्नेमा जोड दिए । खुद ब्याज आम्दानीमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले अझ प्रगति गर्नुपर्ने धारणा उनको थियो । यस्तै, उनले बैंकले कर्मचारीलाई ८२ करोड कर्जा प्रदान गरेको गुनासो गरे ।

मेजर कुबेर श्रेष्ठले जलविद्युत क्षेत्रको विकास बढ्दै गइरहेका बेला स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने कर्जा कम प्रवाह गरेकोमा गुनासो गरे । अंग्रेजीमा आफ्नो मन्तव्य राखिरहेका उनले सम्बोधन गर्ने क्रममा उपस्थित एक जनाले नेपालीमा बोल्नु पर्यो भनेर ‘फ्लोर’बाट अवाज निकाले । उनले भने विदेशी मान्छेपनि सभामा उपस्थित भएकाले अंग्रेजी बोल्नु परेको भन्दै हिन्दीमा जवाफ फर्काए ।

१८ मिनेट भन्दा बढी समय मन्तव्य राखेका उनले आफ्नो भाषणको बिच(बिचमा केही शब्द नेपाली, केही शब्द हिन्दी पनि उच्चारण गर्दै सभालाई रमाइलो पनि गराइ रहे ।

कार्यक्रममा बोल्न नाम टिपाएका केही सेयरधनीहरु समयमा उपस्थित हुन सकेनन् भने केही सेयरधनीहरु कार्यक्रम सम्पन्न भएपछि आइपुगे । हस्याङ्फस्याङ् गर्दै अन्तिममा आइपुगे सेयरधनी शत्रुघन श्रेष्ठ । उनी सिधै मञ्चमा प्रवेश गरे । उद्घोषकले उनलाई बोलाए । उनले १० मिनेट जति आफ्नो मन्तब्य राखे । सुरुमा उनले बैंकका केही सवल र कमजोरी पक्षको चर्चा गरे । त्यसपछि उनले ३५औं साधारणभामा बैंकले गरेको गल्तिको विषय केलाए ।

मन्तव्यको बिचैमा उनले पोडियम ठोक्दै भने, ‘त्यो बेला कम्पनी सचिव माधव प्रसाद रेग्मी थिए, कम्पनी सचिवलाई १० चोटि फोन गर्दा पनि उठेन, म ३५ औं वार्षिक साधारण सभामा जोडिन सकेनँ, बैंकले दिएको पासवर्ड मिलेन, पछि हामीले बैंकको हेड अफिसमा गएर उफ्रिनु पर्यो ।’

यस्तै, उनले नेपाली सेयरधनीले नै बैंकमा आन्दोलन गरेको विषय पनि साधारणसभामा राखे । उनले गत वर्षको साधारणसभाको प्रशंग जोड्दै भने, ‘सेयरधनीहरुलाई झुक्याउने काम नगर्नुस किनभने तपाइँलाई ऐस गराउने गरी लगानी गर्ने हामी हो, ‘गो ब्याक स्ट्याण्डर्ड चार्टर्ड बैंक, यू गो योर कन्ट्री’ भनेर नारा पनि लगाएका थियौं, यस्तो नारा लगाउनुपर्ने श्रृजना तपाई आफैले गर्नुभयो, यस्तै भयो भने अझैँ पनि लगाउन सक्छौं,आगामी दिनमा यस्तो गल्ति नगर्नुहोस् अध्यक्ष महोदय ।’

‘सेयरधनीहरुको हितलाई मध्यनजर गरेर हेर्नुहोस, यो पनि लगानीकर्ता हो, लगानीकर्ता भगवान हुन् भन्ने सोच्नु पर्छ, लगानीकर्तालाई सम्मान गर्नुपर्छ, यो तपाइँको मात्रै सम्पत्ति होइन, हाम्रो पनि लगानी छ,’ उनले पुनः पोडियम ठोक्दै भने ।

उनलाई तालि बजारएर सपोर्ट गरिरहेका थिए सभामा सुनिरहेका सेयरधनीहरु । उनीहरुले उनको भाषणमा साथ दिँदै हुटिङ गर्दै हो–हो भन्दै जोडले आवाज निकालिरहेको थिए । ‘अहिलेसम्म सीईओ कुन हो, अध्यक्ष को हो भनेर आफूले चिनेको पनि छैन, अब आउँदा हामीलाई पनि मान्यता दिनुपर्छ, हामीले राय सुझाव सल्लाह पनि दिन्छौं,’ उनले भने ।

आगामी वर्ष २० प्रतिशत बोनस लाभांश दिनु पर्ने भन्दै उनले मन्तव्य टुङ्ग्याए । स्टयाण्डर्ड चार्टर्ड बैंक बैंकमा स्टयाण्डर्ड चार्टर्ड बैंक, ग्रीण्डलेज अष्ट्रेलियाको ४६.८१ प्रतिशत र स्टयाण्डर्ड चार्टर्ड बैंक यूकेको २३.४० प्रतिशत गरी विदेशी संस्थाको कूल ७०.२१ लगानी रहेको छ । नेपाली सेयरधनीहरुको २९.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.