पुँजीकोषको ठूलो दबाबमा बैंक, डेढ दर्जनको घट्दा तीनलाई सकस, कुनको कति ?

  २०७९ मंसिर २५ गते १३:२४     विकासन्युज

काठमाडौं । गत वर्षदेखि आरालो लागेको वाणिज्य बैंकहरुको पुँजीकोष हालसम्म पनि रोकिएको छैन । चालू आर्थिक वर्षको असोजसम्ममा बैंकहरुको पुँजी कोषमा खासै सुधार हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको असोजसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको औसत पुँजी कोष १३.१९ प्रतिशत रहेको छ भने प्राथमिक पुँजी कोष १०.२६ प्रतिशत रहेको छ । गत वर्षको असारसम्म पुँजीकोष १३.३२ प्रतिशत र प्राथमिक पुँजीकोष १०.४७ प्रतिशत थियो ।

अधिकांश वाणिज्य बैंकहरुले राष्ट्र बैंकको नीतिगत व्यवस्थाको हाराहारीमै पुँजीकोष कायम गरेका छन् । पुँजी कोष कम हुँदा बैंकहरुले सेयरधनीलाई वितरण गर्ने लाभांश क्षमतामा पनि कमि आउँछ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षकै वित्तीय विवरणमा केही बैंकहरुले पुँजी कोष कायम नगरेकै कारण लाभांश वितरणमा रोक लगाउने तयारी गरिरहेको छ । अहिले पुनः बैंकहरुको पुँजी कोषमा दबाब देखिएको हो ।

राष्ट्र बैंकको विद्यमान व्यवस्था अनुसार बैंकहरुले ११ प्रतिशत पुँजीकोष र प्राथमिक ८ प्रतिशत पुँजीकोष हुनु पर्ने हुन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार तीन वटा वाणिज्य बैंकको प्राथमिक पुँजी कोष ८ प्रतिशतको हाराहारीमा देखिन्छ । माछापुच्छ्रे , प्रभु र एनआइसी एसिया बैंकको प्राथमिक पुँजीकोष ८ प्रतिशतको हाराहारीमा देखिन्छ ।

६ वटा वाणिज्य बैंकको प्राथमिक पुँजीकोष ९ प्रतिशतको हाराहारीमा छ भने ७ वटा वाणिज्य बैंकको प्राथमिक पुँजीकोष १० प्रतिशतको हाराहारीमा देखिन्छ । यस्तै, तीन वटा वाणिज्य बैंकको पुँजी कोष ११ प्रतिशतको हाराहारीमा छ । राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट र सिभिल बैंकको पुँजी कोष ११ प्रतिशतको हाराहारीमा देखिन्छ ।

गत असारको तुलनामा डेढ दर्जन वाणिज्य बैंकको पुँजी कोष घटेको छ । प्राथमिक पुँजीकोष र पुँजीकोषको न्यूनतम व्यवस्था कायम नगरेको अवस्थामा राष्ट्र बैंकले बैंकहरुलाई लाभांश वितरणमा नै रोक लगाउँछ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् आर्थिक वर्षदेखि काउन्टर साइक्लिकल बफर लागू गर्ने बताइसकेको छ । राष्ट्र बैंकको सो नीतिपछि ११ प्रतिशत कायम रहेको पुँजीकोष बढाएर १३.५ प्रतिशत पुर्याउनु पर्ने हुन्छ ।

जसअनुसार बैंकले कायम गर्नुपर्ने ११ प्रतिशत पुँजी कोषको आकार बढेर १३.५ प्रतिशत पुग्नेछ । केन्द्रीय बैंकले हालको पुँजीकोषमा २.५ काउन्टर साइक्लिकल बफर थपेको हो । यो व्यवस्था लागू भएलगत्तै तरलता संकट र सीडी रेसियोको दबाबमा रहेका बैंकहरुको कर्जा विस्तारमा थप ह्रास आउने देखिन्छ । घट्दो नाफाले लाभांश दर बैंकहरुको पुँजी कोष कमजोर बन्दै गएको छ ।

पछिल्लो समय एक दजर्न बढी वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । सबै बैंकहरुले अघिल्लो वर्षको भन्दा कम लाभांश घोषणा गरेका छन् । पुँजी कोषको कारण बैंकहरुको लाभांश क्षमता पनि घट्दै गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.