इन्स्योरन्स इन्स्टिच्युटले ३०० प्रतिशत हकप्रद सेयर जारी गर्ने, चुक्ता पुँजी २० करोड पुर्याउने

  २०७९ मंसिर २३ गते ११:४७     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरुको लगानीमा स्थापना भएको इन्स्योरेन्स इन्स्टिच्युट नेपाल (आईआईएन) ले हकप्रद सेयर जारी गर्ने भएको छ । इन्स्टिच्युटले चुक्ता पुँजी २० करोड रुपैयाँ पुर्याउन सेयरधनीहरुलाई हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

हाल इन्स्टिच्युटको चुक्ता पुँजी ५ करोड रुपैयाँ रहेको छ । प्रस्तावित २० करोडको पुँजी पुर्याउन कम्पनीले ३०० प्रतिशत हकप्रद सेयर जारी गर्नुपर्ने देखिन्छ ।

त्यस्तै, हाल १० करोड रुपैयाँ रहेको अधिकृत पुँजी पनि बढाएर ३० करोड रुपैयाँ पुर्याउने कम्पनीको योजना छ । कम्पनीले आफ्नो कार्यक्षेत्र विस्तार गर्न अधिकृत र जारी तथा चुक्ता पुँजी बढाउने प्रस्ताव गरेको हो ।

त्यस्तै, कम्पनीले विशेष प्रस्ताव अन्तर्गत आफ्नो व्यवसायिक क्रियाकलापलाई वृद्धि तथा विकास गर्ने विषयलाई सभामा लैजाँदै छ ।

उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्छ । कम्पनीको आगामी अर्थात चौथो वार्षिक साधारण सभा आगामी पुस २२ गते दिनको साढे एक बजे काठमाडौंको कान्तिपथ मार्गस्थित होटल एल्लो प्यागोडामा हुँदै छ ।

प्राधिकरणको निर्देशन पाए बीमा कलेज सञ्चालन गर्ने

त्यस्तै, इन्स्योरेन्स इन्स्टिच्युट नेपालले नेपाल बीमा प्राधिकरणबाट निर्देशन भए बीमा कलेज सञ्चालन गरी बीमा सम्बन्धी स्नातकोत्तर कार्यक्रम संचालन गर्ने जानकारी गराएको छ । साथै, प्राधिकरणको निर्देशन बमोजिम विश्वविद्यालयको शैक्षिक कार्यक्रम संचालनको लागि सम्बन्धन प्राप्त गरी एकेडेमिक कार्य गर्ने समेत इन्स्टिच्युटले जनाएको छ ।

उक्त सभामा कम्पनीका अध्यक्ष एवम् बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेश गर्नेछन् । त्यस्तै, लेखापरीक्षण समितिको सिफारिस बमोजिम २०७९/८० को लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक निर्धारण गर्ने कम्पनीको प्रस्ताव छ । हाल नियुक्त लेखा परिक्षक नबिस एण्ड एसोसियटस पुनः नियुक्त हुन सक्ने समेत कम्पनीले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.