आयात रोक्न प्याजमा अनुदान

  २०७९ मंसिर २१ गते १०:४१     विकासन्युज

सहजपुर । प्याज आयातमा सरकारले बर्सेनि करिब  पाँच अर्ब रुपैयाँभन्दा बढी रकम खर्च गर्ने गरेको छ । नेपालमा भारत, चीन, बङ्गलादेशलगायतका मुलुकबाट प्याज आयात हुने गर्दछ । तीमध्ये सबैभन्दा बढी प्याज नेपालले भारतबाट आयात गर्दछ । भारतबाट मात्रै करिब ९० प्रतिशत प्याज नेपाल आउने गरेको जनाएको छ ।

कोरोना महामारीको समयमा भारत सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको अभाव चर्किएको थियो । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली बजारमा प्याजको मुल्य आकाशिएको थियो । विगतका त्यस्तै सास्तीहरुका कारण स्वदेशै प्याज उत्पादन गरी आयातमा रोक लगाउन कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अनुदान कार्यक्रम ल्याएको छ । नगरपालिकाले प्याजको बीउमा ५० प्रतिशत अनुदान दिएर नगरभित्रका सबै कृषकहरुलाई वितरण गर्न थालेको छ ।

प्याजको आयात रोक्न र नगरमै कृषकहरुलाई आत्मनिर्भर बनाउन प्याजमा अनुदान दिईएको नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले बताए । उनले प्याजलाई व्यवसायीकरण गरी कृषकहरुलाई स्वरोजगार दिलाउन पनि बीउ वितरण गरिरहेको बताए । ‘अहिले हामीले बीउ मात्रै अनुदानमा वितरण गरेका छौ’ उनले भने ‘आगामी वर्षदेखि यसलाई वृहत रुपमा व्यवसायीकरण गर्न खोजिरहेका छौ । जसमा कृषकहरुले समुह बनाए थप अनुदान पाउँनेछन् ।’

उनले अनुदानमा बीउ लगेर आफु खानलाई मात्रै नभई व्यवसायीकरण गरी आयआर्जनका लागी पनि उमार्न कृषकहरुलाई आग्रह गरे । ‘नगरलाई प्याजमा आत्मनिर्भर बनाउन त्यसलाई व्यवसायीक रुपमा अगाडी बढाए मात्रै सम्भव छ’ उनले भने ‘त्यसैले आफ्नो आर्थिक स्रोत पनि बनाउने किसिमले प्याजको उत्पादन गर्नुहोला, व्यवसायीक रुपमा भए भोलिका दिनमा थप अनुदानका कार्यक्रमहरु प्राप्त गर्न सक्नुहुनेछ ।’ उनले नगरपालिकाले प्याज सहित च्याउ, गहुँ, धाँन लगायतका कृषि उत्पादनका लागी पनि अनुदान दिएको बताए ।

नगरपालिकाले प्याजको आयातमा कमी ल्याउन अनुदानमा बीउ वितरण गरिरहेकोे नगरपालिकाका कृषि शाखा प्रमुख लाल बहादुर धामीले जानकारी दिए । उनले चालु आर्थिक वर्षमा मात्रै नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई ३ लाखको बीउ वितरण गरेको बताए । ‘प्याजको परनिर्भरतामा कमी ल्याउन हामीले बिउ वितरण गरिरहेका छौ’ उनले भने ‘नगरबाट चालु आर्थिक वर्षमा मात्रै नगरपालिकाको १ लाख ५० हजार र सोही अनुसार कृषकको गरी ३ लाख बराबरको बिउ वितरण गर्नेछौ ।’

उनले चालु आर्थिक वर्षमा नगरका सबै वडाका कृषकहरुलाई अनुदानमा बीउ वितरण गर्ने र आगामी आर्थिक वर्षदेखि पकेट क्षेत्रका रुपमा वितरण गरिने बताए । ‘अहिले यो पहिलो वर्ष भएकाले सबैलाई प्याजको बीउ वितरण गरिरहेका छौ’ उनले भने ‘आगामी बर्षदेखि पकेट क्षेत्रका रुपमा विकास गरी आवश्यक क्षेत्रमा मात्रै वितरण गर्नेछौ ।’ उनले चालु आर्थिक वर्षमा भने किसानलाई मागको आधारमा प्याजको बिउ वितरण गरिरहेको बताए । उनले वडागत रुपमा प्याजको उत्पादन हेरेर पकेट क्षेत्र छनाट गरिने बताए ।

यसअघि अन्य तरकारी तथा बालीहरुका बीउ वितरण गरेपनि प्याजको बीउ भने नगरपालिकाले पहिलो पटक वितरण गरेको हो । नगरपालिकाले अनुदानमा दिँदा मंगलबार नगरपालिकामा प्याजको बीउ लिने नगरबासीको भिड लागेको थियो ।

प्याजको आयात लगातार बढिरहेपछि कृषि मन्त्रालयले करीब एक दशकअघि ‘मिसन प्याज’ कार्यक्रम अगाडि सारेको थियो । देशभित्रै प्याजको उत्पादन बढाउन तराईका रुपन्देही, सप्तरी, सिरहा, रौतहट, बारा लगायत जिल्लामा यो अभियान लागू गरिएको थियो । किसानलाई प्याजको उन्नत बीउबिजन, मल र सिंचाइमा अनुदान लगायत प्रोत्साहनको योजना यसले अगाडि सारेको थियो ।

तर बीउको अभावका कारण उक्त कार्यक्रम प्रभावकारी हुन सकेको थिएन । नेपालमा एक सिजनमा मात्रै उत्पादन हुने भएकाले पनि प्याजको आयात दिनानुदिन बढ्ने गरेको छ । नेपालमा प्रायः मंसीर–पुसमा रोपेर चैत–वैशाखमा उत्पादन हुने गरी एक मौसममा मात्र प्याज खेती गरिन्छ । यसरी उत्पादित प्याज अधिकांश घरायसी प्रयोजनमै प्रयोग हुन्छ । व्यावसायिक रुपमा उत्पादन गरी बजारमा पठाउने किसान कमै छन ।

बीउ पाउँदा स्थानीय खुसी

नगरपालिकाले ५० प्रतिशत अनुदानमा बीउ वितरण गर्दा स्थानियहरु खुसी देखिएका छन । वडा नम्बर ५ की नविना बडुले बजारमा महंगो पाईने प्याजको बीउ नगरपालिकाले अनुदानमा दिँदा खुसी भएको बताईन् । उनले नगरपालिकाबाट पाईएको बीउ उत्पादन गरी विक्रिवितरण गर्ने बताइन् ।

‘प्याजको बीउ लगेर गएकी छु । यसको उत्पादन गरेर विक्रि वितरण गर्छु । बजारबाट किनेर खानुभन्दा आफैले उत्पादन गरेपछि आफ्ना लागी पनि प्याज भैहाल्छ’ उनले भनीन् । सोही वडाकी स्थानीय पार्वती चौधरीले अनुदानमा बीउ पाउँदा आफु हर्सित भएको बताईन् । उनले अनुदानमा पाएको प्याज र च्याउको बीउलाई राम्रोसँग हुर्काएर आयस्रोतको माध्यम बनाउने बताईन् ।

यसैगरी वडा नम्बर ६ का जनक बहादुर चौधरीले तरकारीका लागी नगरपालिकाबाट च्याउको बीउ लगेको बताए । उनले बजारमा महंगो मुल्यमा पाईने बीउ ५० प्रतिशत अनुदानमा पाउँदा खुसी लागेको बताए ।

उनले नगरपालिकाबाट ५ पोका च्याउको बीउ लगेका थिए । उनले आफु खान र विक्रि गर्न बीउ लगेको बताए । ‘पहिला बजारबाट किनेर लगाउने गर्थे’ उनले भने ‘अहिले नगरपालिबाट अनुदानमा पाएको छु, बजार भन्दा सस्तो पाउँदा एकदमै खुसी लागेको छ ।’ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.