विज्ञापन बजार बिस्तार हुनुपर्छ : प्रमुख निर्वाचन आयुक्त

  २०७९ मंसिर १८ गते १३:२५     विकासन्युज

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामुदायिक रेडियोहरुको भविष्य सुनिश्चित गर्नका लागि विज्ञापन बजार बिस्तार हुनुपर्ने बताएका छन् ।

आईतवार नेपाल एफ. एम. नेटवर्कको १९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सामुदायिक रेडियोहरुको वृद्धि सँगसँगै विज्ञापन बजारको पनि बिस्तार हुनुपर्ने जानकारी दिए । उनले विज्ञापनको दृष्टिकोणबाट सामुदायिक रेडियोलाई हेर्दा अवस्था भयावह देखिएको बताए । उनले हालको अवस्थामा रेडियोलाई टिकाउनका लागि २०० प्रतिशतसम्म विज्ञापन वृद्धि हुनुपर्ने बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले सामुदायिक रेडियोहरु मर्जरमा नगएमा भविष्य नै अन्योलमा रहेको समेत उनले उल्लेख गरे । उनले गाउँ गाउँमा रेडियो पुगेको भएपनि रेडियोले उत्पादन गर्ने विषयवस्तु भने एउटै हुने गरेको बताए ।

उनले भने, ‘हामीलाई के लाग्यो भने यो रेडियोको विषयमा आमसञ्चार माध्यमको विषयमा फरक ढंगले सोच्नुपर्छ भन्ने लाग्यो । अध्ययनले के देखायो भने रेडियोहरु स्थानगत रुपमा साह्रै विकेन्द्रित पाइए ।  विज्ञापनको दृष्टिकोणबाट हेर्दा त यस्तो भयावह तस्बिर देखियो कि अहिले भइरहेको विज्ञापन जति छ त्यसको २०० प्रतिशत वृद्धि नभएसम्म यि रेडियो र आम सञ्चार माध्यमहरु सस्टेन गर्दैनन् भनेर भन्छ ।  यद्यपि हामीले क्लिनफिड नीतिबाट केही न केही त झन्डै पाँच अर्बको व्यवसाय नेपाल भित्रबाट गर्ने नीति त बनायौँ । तर त्यसले पनि धान्नसक्ने देखिएन ।’

उनले रेडियोहरु झुकाव र लगावका कारण समस्यामा परेको बताए । रेडियोहरु कुनै लगावबाट मुक्त भएर स्वतन्त्र हुनुपर्ने उनको भनाई छ । थपलियाले कुनै झुकावमा नलागिकन सञ्चार माध्यमको स्वायत्तता र स्वतन्त्रताको निम्ति सामुदायिक रेडियोहरुलाई निर्दिष्ट गर्न सुझावसमेत दिए ।

उनले भने – ‘हामीले अध्ययन गर्दा तपाईहरु सबैले आम सञ्चार माध्यम विशेष गरेर रेडियोहरु विशेष गरेर तीन वटा शब्दहरु तपाईहरुले प्रयोग गरेको म सम्झन्छु । अभाव, दबाब र प्रभावका कारणले हामी प्रताडित छौँ ।  हाम्रा आम सञ्चार माध्यमहरु रेडियो, पत्रपत्रिकाहरु मारमा परेका छन् देखियो । तीन वटालाई त समाधान गर्ने अर्को बाटो खोजौला ।  हामीले आफूभित्रको समस्यालाई कसरी समाधान गर्ने भन्ने कुरा गम्भिरतापूर्वक हेर्न जरुरी छ ।’

उनले सञ्चार माध्यमले उत्पादन गर्ने विषयवस्तुहरुलाई स्वनियमनको विषय बनाउनुपर्नेमा जोड दिए । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफल गराउनको निम्ति सञ्चार माध्यमको पनि उल्लेख्य भुमिका रहेको भन्दै प्रशंसा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.