म्याग्दीमा दुई सय जना क्षमताको आधुनिक सभाहल निर्माण

  २०७९ मंसिर १८ गते १०:३७     विकासन्युज

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा दुई सय क्षमताको बहुउद्देश्यीय सभाहल निर्माण भएको छ । अन्नपूर्ण–६ घारका वडाध्यक्ष रामबहादुर खड्काले सभाहलको पूर्वाधार निर्माण, रङ्गरोगन, झ्याल, ढोका, विद्युत् जडानको काम सकिएको बताए ।

‘गत वर्ष सुरुआत भएको सभाहल निर्माण योजनालाई यसपालि पनि बजेट विनियोजन गरेर पूर्णता दिएका छौँ’, उनले भने, ‘कुर्ची, टेबुललगायत फर्निचर व्यवस्थापन गरेर व्यवस्थित किसिमले सभाहल सञ्चालन गर्छौँ ।’

आर्थिक वर्ष २०७८/७९ मा दुई चरणमा २५ लाख विनियोजन भएको सभाहल निर्माणका लागि गाउँपालिकाले चालु आव २०७९/८० मा छ लाख ५० हजार विनियोजन गरेको छ ।

उपभोक्ता समितिमार्फत सभाहल निर्माण गरिएको वडाध्यक्ष खड्काले बताए । सभाहलभित्र स्टेज पनि बनाइएको छ । सभाहल निर्माण भएपछि तालिम, गोष्ठी, भेला, बैठक, सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सहज हुने भएको छ ।

यसअघि संरक्षण क्षेत्र व्यवस्थापन समितिको भवन रहेको ठाउँमा सभाहल निर्माण गरिएको हो । पुरानो भवनमा रहेको प्रहरी चौकीलाई स्थानान्तरण गरिएको थियो । सभाहल नजिकै यसअघि नै वडा कार्यालय भवन निर्माण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.