सिन्धुपाल्चोकको भैरवकुण्ड पदमार्गमा होमस्टे सञ्चालन

  २०७९ मंसिर १५ गते १६:३६     विकासन्युज

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ३ स्थित यार्मासिङमा पर्यटन प्रवद्र्धनलाई लक्षित गरी आमा समूहले होमस्टे सञ्चालन गरेका छन् ।

भैरवकुण्ड, दुगुनागढीलगायत पर्यटकीयस्थलमा घुम्न आउने पर्यटकको सुविधाका लागि यहाँका आमा समूहले होमस्टे सञ्चालन गरेका हुन् ।

पर्यटकीय गाउँ छगाम, बगाम, लिस्तीमाई मन्दिरसमेत यही बाटो हुँदै जाने भएकाले होमस्टेको सुरुआत गरिएको आमा समूहकी अध्यक्ष पासाङबुटी शेर्पाले जानकारी दिए ।

‘भूकम्पअघि पनि यस्तो सेवा उपलब्ध थियो’, शेर्पाले भने, ‘होमस्टे ऐतिहासिक दुगुनागढी नजिकै छ । विसं २०७२ को भूकम्पपछि दुगुनागढीको पुनःनिर्माण गरिएकाले यहाँ आउने पर्यटक बढेका छन् ।’ यहाँ गौरीशङ्कर संरक्षण क्षेत्रले समेत होमस्टे सञ्चालनका लागि पहलकदमी लिएको शेर्पाको भनाइ छ ।

यार्मासिङ गाउँमा २० वटा घरमा होमस्टे सञ्चालन गरिएको छ । हरेक घरमा कम्तीमा दुई वटा कोठा पाहुनाका लागि छुट्ट्याइएको छ ।

पाहुनालाई स्थानीय शेर्पा संस्कृति झल्कने नाचगानसमेत देखाइन्छ । होमस्टे सञ्चालनमा ल्याएपछि दुगुनागढीलगायतका क्षेत्रमा आउन सहज भएको पेमाल्हामू शेर्पाले बताए ।

‘सिन्धुपाल्चोककै फुल्पिङकट्टीबाट साथीसङ्गीसँगै घुम्ने योजना अनुसार निस्किएका थियौँं’, उनले भने, ‘शेर्पा सांस्कृति र परमम्परा झल्किने ठाउँ निकै राम्रो रहेछ ।’

यो देशभरका ऐतिहासिक १० गढीमध्ये एक हो । अग्लो स्थानमा समथर भूभाग र रमणीयडाँडामा रहेका विशाल चट्टानलाई कलात्मकता दिई पहराको खोँचमा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरले तिब्बतसँग युद्ध लडेको किबंदन्ती छ । चट्टानको आड लिएर नेपाली पक्षले यही गढीबाट तिब्बततिर प्रहार गरेको शिलालेख समेत छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.