राष्ट्र बैंकको नीतिले बैंकहरुको नाफा १५ प्रतिशत घट्छ : पवन गोल्यान

  २०७९ मंसिर १४ गते १५:०३     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले बैंकहरुको नाफा १५ प्रतिशत घट्ने बताएका छन् ।

उनले नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले बैंकहरुको स्पेडदर ०.४ प्रतिशत घटाउँदा बैंकको नाफा १० देखि १५ प्रतिशतसम्म घट्ने अवस्था देखिएको बताएका हुन् ।

उनले मौद्रिक नीतिको समीक्षा समग्र अर्थतन्त्रको समस्या भन्दापनि बैंकको नाफा कम गर्ने हिसाबले आएको बताए । राष्ट्र बैंक बैंक तथा वित्तिय संस्थाहरुको अभिभावक भएपनि बैंकहरुलाई नै धरासायी बनाउने गरी मौद्रिक नीति ल्याएको उनले आराेप लगाएका छन् ।

‘सबै क्षेत्र बच्नसक्ने गरी मौद्रिक नीतिको समीक्षा हुनुपर्नेमा त्यस्तो भएको छैन, मौद्रिक नीतिको समीक्षाले बैंकहरुलाई मात्रै टार्गेट राखेकाे छ, यसले बैंकहरु धरासायी हुन्छ, बैंक तथा वित्तिय संस्थाहरु देशको आर्थिक मेरुदण्ड हुन्, बैंकहरु धरासाही हुँदा सबै क्षेत्र धरासायी हुन्छ,’ उनले भने ।

बैंकहरुले जोखिम मूल्याङ्कन गरेर लगानी लगाउने भएकाले स्पेडदर घट्दैमा कसैलाई राहत नहुने उनी बताउँछन् । स्पेडदर ०.४ प्रतिशत कम भएको फाइदा ठूला व्यवसायीहरुले मात्रै लिनसक्ने उनकाे भनाइ छ ।

यस्तै, उनले रेमिट्यान्स आएको बेला मात्रै निक्षेप बढ्ने तर ९ प्रतिशतबाट निक्षेपको ब्याज बढाएर १२ प्रतिशत पुर्याउँदासमेत निक्षेप बढ्न नसकेको बताएका छन् । ‘पौषसम्ममा ३ प्रतिशतसम्म ब्याजदर कम हुनुपर्छ, बैंकहरुको खराब कर्जा बढ्नसक्ने अवस्था देखिएको छ, पौष महिनामा बैंकको पैसा रिफाइनान्समार्फत ७० अर्ब रुपैयाँ बाहिर जान्छ त्यसपछि अझ बढी तरलताको समस्या बढ्ने देखिन्छ,’ उनले भने ।

गोल्यानले निजी क्षेत्रले बुझ्दै नबुझी बैंकको ब्याजर घटाउँ मात्रै भनेर गाली गरेर मात्रै समस्याको समाधान नहुने बताए । ब्याजदर लगायतका समस्या समाधान गर्न बैंक र निजी क्षेत्र मिल्न आवश्यक रहेको उनी बताउँछन् ।

उनले आवश्यक हुँदा ब्याजदर घटाउनु पर्छ र तरलता सहजता बनाउनुपर्छ भन्ने पक्षमा बैंकहरु रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.