सेयर बजारमा १७ बीमा कम्पनीको लगानी : अजोडले ३२९ प्रतिशतले बढाउँदा अन्यले कति ?

  २०७९ मंसिर ९ गते १०:३४     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले पौने ३ अर्ब रुपैयाँ बढी सेयर बजारमा लगानी गरेका छन् । गत साउनदेखि असोज मसान्तसम्ममा १७ निर्जीवन बीमा कम्पनीले कूल २ अर्ब ८० करोड रुपैयाँ दोश्रो बजारमा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेका हुन् ।

जुन २०७९ असारसम्मको तुलनामा १६.२० प्रतिशतले बढी हो । सञ्चालनमा रहेका दी ओरियन्टल र नेशनल इन्स्योरेन्सबाहेक अन्य कम्पनीले गत असारसम्ममा २ अर्ब ४१ करोड ११ लाख रुपैयाँ बराबरको लगानी गरेका थिए ।

समीक्षा अवधिमा रकमका आधारमा सबैभन्दा बढी लगानी गर्नेमा राष्ट्रिय बीमा कम्पनी रहेकोे छ । कम्पनीले तीन महिनाको अवधिमा ८३ करोड ९७ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । जुन गत असारको तुलनामा भने २.३० प्रतिशतले घटी हो । कम्पनीले २०७९ असारसम्ममा ८५ करोड ९५ लाख रुपैयाँ दोश्रो बजारमा लगानी गरेको थियो ।

प्रतिशतको आधारमा हेर्दा अजोड इन्स्योरेन्स आक्रामक बनेको छ । कम्पनीले गत असारको तुलनामा असोजसम्ममा ३२९.९१ प्रतिशतले सेयर बजारको लगानी बढाएको छ । गत असारमा २ करोड ५० लाख रुपैयाँ लगानी गरेको अजोडले असोजसम्ममा १० करोड ७५ लाख रुपैयाँ बराबरको लगानी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

त्यस्तै, प्रिमियरले पनि १५५.८४ प्रतिशत लगानी सेयर बजारमा बढाएको छ । असारमा १२ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेको कम्पनीले असोजसम्ममा ३१ करोड ६४ लाख रुपैयाँ गरेको छ । जुन राष्ट्रिय बीमा कम्पनीबाहेक अन्य कम्पनीको तुलनामा बढी हो ।

समीक्षा अवधिमा चार कम्पनीले भने सेयर बजारको लगानी घटाएका छन् । गत असारको तुलनामा प्रुडेन्सियल इन्स्योरेन्सले ७३.२६ प्रतिशत, नेपाल इन्स्योरेन्सले १५.५९ प्रतिशत, सगरमाथाले ४.२६ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीले २.३० प्रतिशतले सूचीकृत कम्पनीको सेयरमा लगानी घटाएका छन् ।

त्यस्तै, शिखर, नेको, युनाइटेड, आइएमई जनरल, साविकको जनरल र सानिमा जनरलको भने स्थिर लगानी रहेको छ । यीमध्ये साविकको जनरल र सानिमा जनरल मर्जर प्रकृयामा थिए । हाल मर्जर प्रकृया सम्पन्न भई सानिमा जीआईसी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार समेत शुरु भइसकेको छ ।

बीमा कम्पनीहरुले नेप्सेमा सूचीकृत कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था रहेको छ । सोहि अनुसार उनीहरुले दोश्रो बजारमा लगानी गर्दै आएका छन् ।

कुन कम्पनीले कति बढाए/घटाए ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.