आयातसँगै घट्यो निर्यात

  २०७९ मंसिर ८ गते ११:२१     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनाको अबधिमा विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को चार महिना (गत साउनदेखि कात्तिक मसान्तसम्म) को तथ्यांक अनुसार आयातसँगै निर्यातमा कमी आएको छ ।

तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवमा आयात १८ दशमलव ०८ र निर्यात ३३ दशमलव ३० प्रतिशतले कमी आएको हो ।

गत आवमा ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख रुपैयाँ बराबरको आयात भएकोमा चालु आवमा ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रुपैयाँ बराबरको बराबरको विदेशी वस्तुको आयात भएको हो ।

यस्तैगरी, उक्त अबधिमा ५४ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । गत आवमा ८२ अर्ब १२ करोड ४२ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।

तथ्यांक अनुसार कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ६८ र निर्यातको हिस्सा नौ दशमलव ३२ प्रतिशत बराबर रहेको छ ।

५ खर्बको व्यापार घाटा

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा नेपालको करिब ५ खर्ब बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ ।
विभागले सार्वजनिक गरेको चार महिनाको तथ्यांक अनुसार वैदेशिक व्यापार घाटा ४ खर्ब ७७ अर्ब ९१ करोड ७० लाख रुपैयाँ पुगेको हो । उक्त अबधिमा नेपालले ५ खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ ।

गत आवमा ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ बराबरको व्यापार घाटा हुँदा ७ अर्ब ३२ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कूल वैदेशिक व्यापार १९ दशमलव ७९ प्रतिशतले घटेको छ ।

प्रथम चौमासिकमा नेपालले छिमेकी मुलुक भारतसँग मात्र दुई खर्ब ८३ अर्ब ५८ करोड ९१ लाख रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ । यो अवधिमा नेपालले भारतबाट तीन खर्ब २२ अर्ब १८ करोड रुपैयाँ बराबरको आयात गरेको छ भने ३८ अर्ब ६० करोड रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.