नाफामा प्रिमियर, प्रभु र नेपाल इन्स्योरेन्सबीच ‘टक्कर’, नेशनलले मार्यो छलाङ

  २०७९ मंसिर १ गते १४:३२     विकासन्युज

काठमाडौं । १८ वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हाल सञ्चालनमा रहेका कम्पनीहरुमध्ये ओरियन्टल इन्स्योरेन्स बाहेक सबैले गत साउनदेखि असोजसम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

उक्त विवरणअनुसार कम्पनीहरुले तीन महिनामा कूल एक अर्ब १० करोड रुपैयाँ बराबरको नाफा कमाएका छन् । जुन गत वर्षको तुलनामा १८.२९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा यी १८ कम्पनीले कूल ९३ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए ।

सबैभन्दा बढी नाफा कमाउनेमा नेशनल इन्स्योरेन्स रहेको छ । कम्पनीले गत वर्षको तुलनामा ११६२ प्रतिशत बढी नाफा बढाएर कूल २१ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिमा १ करोड ७१ लाख रुपैयाँ थियो ।

त्यस्तै, नेशनलको प्रतिस्पर्धीको रुपमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले साउनदेखि असोजसम्ममा १३ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष १३ करोड ३६ लाख रुपैयाँ रहेको उक्त नाफा ०.९० प्रतिशतले बढी हो ।

त्यस्तै, यता प्रिमियर, प्रभु र नेपाल इन्स्योरेन्स बीच टक्कर देखिएको छ । यी तीनवटै कम्पनीले ७ करोड रुपैयाँ बराबरको नाफा कमाएका छन् । जसमध्ये प्रिमियर इन्स्योरेन्सले ७ करोड ७९ लाख, प्रभुले ७ करोड ४ लाख र नेपाल इन्स्योरेन्सले ७ करोड ३ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् ।

समीक्षा अवधिमा अधिकांश कम्पनीको नाफा बढेको छ । तर ७ वटा कम्पनीको नाफा घटेको तथ्याङ्कले देखाएको छ । सगरमाथा, हिमालयन एभरेष्ट, राष्ट्रिय बीमा कम्पनी, नेको, एनएलजी, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको नाफा गत वर्षको तुलनामा घटेको हो ।

यी मध्येपनि सगरमाथा इन्स्योरेन्सको नाफा सबैभन्दा बढी प्रतिशत अर्थात ४७.३३ प्रतिशतले घटेको छ । गत वर्ष ६ करोड १७ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आवमा ३ करोड २५ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ ।

रकमको आधारमा सबैभन्दा कम नाफा कमाउनेमा अजोड इन्स्योरेन्स देखिएको छ । इन्स्योरेन्सले तीन महिनामा १ करोड २७ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १५.४५ प्रतिशतले बढी हो ।

कुनले कति कमाए ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.