‘आर्थिक पुनरुत्थानका लागि विश्वव्यापी साझेदारी अपरिहार्य’

  २०७९ कार्तिक २९ गते १७:१७     विकासन्युज

चीन । चीनका राष्ट्रपति सी जिनफिङले कोभिड–१९ का कारण तहसनहस भएको विश्वअर्थतन्त्रको पुनरुत्थानका लागि विश्वव्यापी साझेदारी अपरिहार्य भएको बताएका छन् ।

विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्चजी ट्वेन्टीको सत्रौँ बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले आर्थिक पुनरुत्थानका लागि विश्वव्यापी साझेदारी र सहकार्य आवश्यक भएको बताए ।

चिनियाँ राष्ट्रपतिले जनतालाई केन्द्रमा राखेर विकासलाई प्राथमिकता दिनुपर्ने, विकासोन्मुख देशका समस्या समाधानमा चासो दिनुपर्नेमा जोड दिँदै कोभिडविरुद्धको अन्तरराष्ट्रिय सहयोगलाई निरन्तरता दिनुपर्ने बताए । आर्थिक पुनरुत्थानका निम्ति पनि उपयुक्त वातावरण बनाउन आवश्यक भएको उनले बताए ।

विश्वव्यापीरूपमा बढेको मूल्यवृद्धिलाई नियन्त्रण गर्नुपर्ने, प्रणालीगत आर्थिक एवम् वित्तीय जोखिम घटाउनुपर्ने, सुदृढ अर्थतन्त्र भएका राष्ट्रका मौद्रिक नीतिको समायोजनबाट परेको प्रभाव कम गर्नेतर्फ लाग्नुपर्ने तथा उनीहरूको ऋणलाई दिगोस्तरमा राखेर बढ्दो ब्याजबाट जोगाउनुपर्ने आवश्यक राष्ट्रपति सीले औँल्याए ।

वर्तमान विश्वले सामना गर्नुपरेका विविध चुनौती सामना गर्न सबै देशले साझा भविष्यलाई सम्झेर सामुदायिक दृष्टिकोण अँगाल्नुपर्ने, विकासको बाटोमा अग्रसर देशलाई थप सहयो गर्नुपर्ने, सन्तुलित विकाका निम्ति उनीहरूलाई सघाउनुपर्ने, विश्वको प्रगतिलाई अगाडि बढाउन तथा मानव जातिको उन्नयन र शान्तिका लागि उदाहरणीय नेतृत्वका लागि विश्व नेतालाई उनले आह्वान गरे ।

राष्ट्रपति सीले खाद्यान्न र ऊर्जाका विषयलाई राजनीतिकरण गर्ने, तिनलाई हतियारका रूपमा प्रयोग गर्ने प्रवृत्तिको दृढतापूर्वक विरो गर्नुपर्ने, एकतर्फीरूपमा लगाइएका प्राविधिक एवम् अन्य क्षेत्रका सबै प्रतिबन्ध हटाउनुपर्ने बताए ।

आधुनिकीकरणको दिशामा अग्रसर चीनले विश्वका लागि थप अवसरहरू सृजना गर्ने, अन्तरराष्ट्रिय सहयोगलाई गतिदिने तथा मानव प्रगतिका निम्ति सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अफ्रिकी सङ्घलाई समूहमा सामेल गर्न चीनको समर्थन रहेको चिनियाँ राष्ट्रपतिले बताए । उनले विश्वको विकासलाई थप समावेशी, सबैका लागि लाभदायक एवम् थप लचिलो बनाउनुपर्ने बताउँदै तीनबुँदे प्रस्ताव पनि प्रस्तुत गर्नुभयो । समूहमा १९ देशसहित युरोपेली सङ्घ सदस्य छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.