बाँकेका ज्येष्ठ नागरिकलाई घरमै उपचार

  २०७९ कार्तिक १७ गते १४:३७     विकासन्युज

खजुरा । गत असार २७ गते अहेव मनोजकुमार कैराती ज्येष्ठ नागरिक अनोखा यादवलाई उपचार गर्नका लागि नेपालगञ्जमा डा विनोद थापा कहाँ पर्चा काट्दै थिए । भिलोरपुरुवाका ८५ वर्षीय यादवको तिघ्राको समस्या बल्झिएपछि अहेब कैराती उपचारमा खटिएका थिए । ज्येष्ठ नागरिक यादवलाई घरबाटै गाउँपालिकाको एम्बुलेन्समा राखेर नेपालगञ्ज लगिएको थियो । गाउँपालिकाले नै उपचार गरिदिने भएपछि अहेव कैराती त्यसका लागि खटिएका थिए ।

गाउँपालिकाले यादवलाई यसअघि पनि नेपालगञ्जमा ल्याएर उपचार गरेको थियो । चैत्र महिनामा होलियाको पिप्रहवा भन्दा पारीपट्टी भारतमा लाग्ने शुक जानकी बजारमा जाने क्रममा यादवलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते भएका ज्येष्ठनागरिक यादव पालिकाको सम्पर्कमा आएपछि उनको उपचार सबै पालिकाले गर्दै आएको छ । यादवको शिवशक्ति फार्मेसीमा उपचार गरिएको थियो । फेरि दुखाई बल्झिएपछि अहेव कैरातीले डा। विनोद थापाकहाँ पु्र्याएका हुन् । अहेव कैराती भन्छन्, ‘थाईमा चोट लागेको छ । पहिला शिवशक्तिमा उपचार ग्यौ । फेरि दुखाई बल्झिएपछि डा। विनोद थापालाई देखाएको छु ।’

गाउँपालिकामा ‘ज्येष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम’ सञ्चालन भएपछि ज्येष्ठनागरिकले घरमै उपचार सेवा पाएका छन् । पालिकामा ७० वर्षभन्दा माथिका ज्येष्ठनागरिकलाई कुनै समस्या भएमा स्वास्थ्यकर्मी घरमै पुग्छन् । स्वास्थ्य जाँच गर्छन् । घरमा उपचार सम्भव नभए पालिकाको स्वास्थ्य संस्थामा ल्याउँछन् । त्यहाँबाट पनि उपचार सम्भव नभए सुविधा सम्पन्न तथा विशेषज्ञ सेवाका लागि नेपालगञ्जका ठूला अस्पतालमा ल्याएर उपचार गराइन्छ ।

गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीसँग जोडिएको यो कार्यक्रमबाट ज्येष्ठ नागरिकले राम्रो लाभ लिएका छन् । गत वर्ष फाल्गुनदेखि यो कार्यक्रम लागू गरिएको हो । चैत्रदेखि कोरोनाको लहर शुरु भएकाले बीचमा केही महिना धेरैले लाभ लिन सकेका छैनन् । घरघरमा पुगेर स्वास्थ्यकर्मीले प्रचार–प्रसार गरिरहेका छन् । गाउँटोलमा प्रचारप्रसार हुँदै गएको छ । पालिकाले गत आर्थिक वर्ष २०७८/७९ को बजेटमा यो कार्यक्रमका लागि ३० लाख रुपैयाँ छुट्याइएको थियो ।

प्रदेश सरकारले ८४ वर्ष माथिकालाई घरघरमा सेवा दिने नीति लिएको छ । डुडुवा गाउँपालिकाले ७० वर्ष माथिलाई लक्षित गरेर यो कार्यक्रम सुरु गरेको थियो । विस्तारै ७० वर्ष हुँदै ६० वर्षसम्मकाले यो सेवा लिन थालेका छन् ।

बेतहनी स्वास्थ्यचौकीका जनस्वास्थ्य निरीक्षक हेमन्त शर्माले ज्येष्ठनागरिकले बिरामी छु भनेर फोन गरेपछि घरमै स्वास्थ्यकर्मीको टोली पुग्ने बताए । ‘स्वास्थ्यकर्मीलाई फोन गरे पनि हुन्छ । गाउँपालिकाका अध्यक्षलाई फोन गरे पनि हुन्छ । जहाँ फोन गरे पनि ज्येष्ठ नागरिक बिरामी छन् भन्ने थाहा पाएपछि स्वास्थ्यकर्मीको टोली घरमै पुग्छ’, जनस्वास्थ्य निरीक्षक शर्माले भने, ‘पहिला घरमै जाँच गर्छौं । त्यहाँ सम्भव नभए स्वास्थ्य संस्थामा ल्याउँछौँ । यहाँबाट पनि नभए नेपालगञ्जको ठूला अस्पतालमा पुर्याउँछौँ । बिरामीलाई उपचार गरेरै घरमा लगेर छोडिदिन्छौँ ।’

पिप्रहवाका ७५ वर्षीय सुहारा तेली बिरामी रहेको कुरा पालिका अध्यक्ष नरेन्द्र चौधरीमार्फत स्वास्थ्यकर्मीले थाहा पाए । तेलीको गोरुले हानेर तिघ्राको हड्डी भाँचिएको रहेछ । भेरी अस्पतालमा ल्याएर उनको निशुल्क अप्रेसन गरेको अहेव कैरातीले बताए । पिप्रहवाका ७६ वर्षीय धारा पासीको कम्मरमा समस्या भएपछि १८ दिन बढी भेरी अस्पतालमा उपचार गरियो । बाबागाउँका केशव अहिरलाई पटकपटक नेपालगञ्जमा ल्याएर उपचार गरिएको छ ।

पालिकामा एउटा एम्बुलेन्स सधैं तयारी अवस्थामा रहने गर्दछ । ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती वा अन्य बिरामीलाई ल्याउन र लैजान एउटाले नभ्याउने भएपछि पालिकाले अर्को एम्बुलेन्स खरिद गरेको छ । खरिद गरिएको नयाँ एम्बुलेन्स ज्येष्ठ नागरिकलाई ल्याउन र लैजान मात्रै प्रयोग गर्ने रणनीति बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.