बैंकले ऋण दिन नसकेपछि साहु–महाजनको प्रवेश

  २०७९ कार्तिक १७ गते १०:२३     गोबिन्द प्रसाद पौडेल

बि.सं १९९४ मा नेपाल बैंक लि.को स्थापना भए पश्चात मात्र नेपालमा औपचारीक बैकिङको शुरुवात भएको देखिन्छ । करिब १३ बर्ष पश्चातमात्र केन्द्रीय बैंकको स्थापनाबाट औपचारिक बैंकिङ क्षेत्रको विकास तथा विस्तार भएको पाईन्छ । फलस्वरुप सम्पूर्ण नेपालीमा बैंकिङ्ग पहुँच अभिवृद्धी गर्ने अभिप्रायले बिभिन्न बैंक तथा वित्तीय संस्थाहरु र सामुदायिक स्तरमा सहकारी संस्थाहरु स्थापना भए ।

यसले गर्दा एकातिर नेपाली जनतामा वित्तीय सेवाको पहुँचमा अभिबृद्धि भएको छ । स्थानीय साहु तथा महाजनबाट ऋण लिँदा तिर्नु पर्ने चर्को व्याजबाट शोषित हुनु पर्ने अवस्थामा सुधार आएको पाईन्छ । वित्तीय संस्थाको स्थापनासंगै आर्थिक रुपमा पिछिडिएका व्यक्ति तथा समुदायले समेत आफ्नो सीपको प्रयोग गर्ने विभिन्न किसिमको व्यवसाय सञ्चालन गर्न विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट सुलभ ब्याजदरमा ऋण पाउने अवस्थाको सृजना भएको देखिन्छ ।

हालसम्म पनि नेपालको कुल जन संख्याको १८ प्रतिशत जनसख्या अझै पनि गरिबीको रेखामुनी रहेको र करिब २० प्रतिशत जनसंख्याको हिस्सा औपचारिक वित्तीय सेवाको पहुँचभन्दा बाहिर रहेको अवस्था देखिन्छ । औपचारिक बैंकिङ्गको विकास तथा विस्तारको लामो इतिहास नरहेको नेपालमा गत आर्थिक बर्षदेखिको तरलताको अभावका कारण बैंक तथा वित्तीय क्षेत्रको ब्यवसाय विस्तार हुन सकेको छैन । फलस्वरुप ग्राहक तथा सदस्यहरुले नयाँ व्यवसायको थालनी गर्न र भैरहेकै ब्यवसाय विस्तार गर्न आवश्यक थप पुँजी सहजै पाउन नसक्ने अवस्थाको सृजना भएको देखिन्छ । यसले गर्दा देशको अर्थतन्त्रको चक्रमानै नकरात्मक प्रभाव परेको देखिन्छ ।

आर्थिक कारोबारको चक्रमा तरलता अभाव रहनु, विगतमा कम ब्याजदर कायम हुँदा लिएको ऋणको ब्याजदर अनपेक्षित रुपमा वृद्धि हुनु, चालू कर्जाको रुपमा लिएको ऋण नवीकरण नभई किस्ता किस्तामा तिर्ने (आवधिक) ऋणमा रुपान्तरित हुनु, ब्यापार ब्यवसायमा संकुचन आउनु लगाएका पीडा साना तथा मध्यम उद्यमी तथा ब्यवसायीहरुको रहेको छ । अर्को तर्फ बैंक तथा वित्तीय संस्थाहरुले ती साना तथा मध्यम उद्यमी तथा ब्यवसायीहरु माथि ऋणको साँवा तथा ब्याज भुक्क्तानिमा गरेको ताकेता तथा लगाएको हर्जनाका कारण निकै तनावमा रहेको देखिन्छन ।

यस प्रकारको तनावकाबिच ब्यवसाय संचालन गरेका ब्यवसायीहरु ती बैंक तथा वित्तीय संस्थाको साँवा तथा ब्याज भुक्त्तानको लागी आनौपचारिक क्षेत्रबाट चर्को ब्याजदर तथा कडा शर्तहरु पुन: स्वीकार गरी आफुुलाई आवश्यक ऋण लिनु पर्ने अवस्था विकास भैरहेको देखिन्छ । यसले गर्दा औपचारिक वित्तीय सेवाको पहुँचमा रहका ब्यक्तिहरु समेत बैंक तथा वित्तीय संस्थाको यस प्रकारको ब्यवहार तथा शैलीका कारण अनौपचारिक माध्यमका वित्तीय सेवाहरुको प्रयोगमा विस्तार भै नव साहुमहाजनको पुनः प्रवेश हुन सक्ने देखिन्छ । जनु कुराहरु विगतमा मिटर ब्याज पीडितहरुले गरेको आन्दोलनले समेत इन्कित गर्दछ ।

यस प्रकारका नव साहु महाजनहरुको प्रवेश भएको खण्डमा बैंकिङ्ग ब्यवसाय तथा ती उद्यमीहरुको भविश्य पक्कै पनि सहज नहुन सक्ने देखिन्छ । यस प्रकारको गम्भीर अवस्था एकातर्फ रहेको छ भने अर्को तर्फ यस प्रकारको असहज परिस्थितिकाबिच बैंक तथा वित्तीय संस्थाहरुको नाफामा भने खासै संकुचन आएको देखिदैन । बैंक तथा वित्तीय संस्थाहरु स्थापनाका बिभिन्न उद्देश्यहरु रहेता पनि एक महत्वपूर्ण उद्देश्य सेवा समेत रहेको हुँदा ती बैंक तथा वित्तीय संस्थाका नाफा लगायत वित्तीय सूचकहरु राम्रा भएमामात्र राम्रो मान्ने नभै ग्राहक सदस्यहरुको सन्तुष्टिलाई मुल्याकङ्क गरी दण्ड तथा सजायको ब्यवस्था गर्नु पर्ने देखिन्छ ।

हालको तरलताको अभावको स्थीति आउनका पछाडि धेरै कारणहरु हुन सक्लान् तर अभावको स्थिती देखा परेपश्चात् बैंक तथा वित्तीय संस्था र ब्यवसायीहरु सबैंको हितमा तथा भविश्यको अवस्थालाई समेत ध्यान दिँदै अर्थतन्त्रमा नव साहुमहाजनको प्रवेशले भविश्यमा आउने समस्याहरु प्रति सजक हुँदै निराकरणका उपायहरु समेत उपनाउनु पर्ने देखिन्छ ।

(लेखक आरएमडीसी लघुवित्त वित्तीय संस्थाका प्रबन्धक हुन् । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.