कसरी सफल बन्यो बुद्ध एयर ? यस्तो छ बिरेन्द्र बस्नेतको संघर्षको कथा

  २०७९ कार्तिक १३ गते १६:४८     बिरेन्द्र बस्नेत

नेपालको हवाई उद्योगमा बुद्ध एयर अग्रणी संस्था बनेको छ । यसले जनजनको विश्वास जितिसक्यो । हामीले वार्षिक करिब ३० लाख स्वदेशी तथा विदेशी यात्रुलाई सेवा दिइरहेका छौं । एउटा जहाज र ९९ जना कर्मचारीबाट हामीले यो कम्पनी सुरु गरेका थियौं । अहिले १६ वटा जहाज छन् भने १५ सय कर्मचारी छन् ।

यहाँसम्म आइपुग्दा धेरै उतारचढाब भोग्नु पर्याे । अप्ठेरा दिनमा हामी कहिल्यै आत्तिएनौं, निरन्तरको सक्रियता, यात्रुको सेवा र धैर्यबाट हामी सफलताको सिंढी चढिरहेका छौं । राज्यका सबै नियम तथा कानुन अक्षरशः पालना गरी राष्ट्रको गौरवमय उद्योगका रूपमा बुद्ध एयर स्थापित हुन पुगेको छ । हामी उत्साहित छौं । अझ धेरै वर्ष यही रफ्तार र प्रगतिले यात्रुको सेवा गर्दै जाने प्रण गर्दछौं ।

नाम र लोगो

कम्पनी स्थापना गर्ने तयारीमा नाम र लोगो के राख्ने भन्नेमा अलमल थियो । सुरुमा हनुमान एयर राख्ने कि भनेर सल्लाह गर्यौं । घरपरिवार र साथीसँगीको सल्लाहमा ‘बद्ध एयर’ राखियो र लोगोमा बुद्धको मूर्ति । लोगो निकै आकर्षक देखिएको थियो । एक दिन श्रीलङ्काली मित्रले ‘यो जहाजमा कोही चढ्दैनन्’ भन्दा झसङ्ग भयौं ।

किन चढ्दैनन् ?

‘टिकट र बोर्डिङ पासमा बुद्धको मूर्ति राखिएकाले, तिनले भने, ‘बुद्ध अंकित टिकट च्यातिन्छ, कुल्चिन्छ, धार्मिक भावनामा ठेस पुग्छ ।’ त्यस लगत्तै न्यूरोडमा रहेका कलाकारलाई भेटेर हामीले लोगो परिवर्तन गर्याैं । लोगो परिवर्तन गर्दा हिज्जे गल्ती भएछ, ‘बुद्ध’ हुनुपर्नेमा ‘बुध्द’ भएछ । जुन अहिले पनि निरन्तर छ ।

जहाज छनौट

कुन जहाज कसरी ल्याउने भनेर हामीले धेरै छलफल गर्याैं । तिनताका एउटा बेलायती जहाज थियो, एडभान्स टब्रो प्रोप (एटिपी) । एम्रो (एचएस ७४) भन्ने पुरानो जहाज नेपालमै चलिरहेको थियो । त्यो जहाजले एक घण्टा लगाएर काठमाडौंबाट विराटनगर पुर्याउँथ्यो । त्यसको सेकेन्ड जेनेरेसन पनि आइसकेको थियो । टब्रो प्रोपको थोरै परिष्कृत ‘इटिटिपी’ आयो, तर त्यो सफल हुन सकेन ।

त्यस्तैमा हाम्रा आफन्त फिजोनाथ नेपालीले निकै उत्साहित भएर भन्नुभयो, ‘वीच ९०’ नयाँ जहाज आएको छ । माउन्टेन फ्लाइटका लागि निकै राम्रो छ, १८ सिट हो । हामी ल्याएर चलाउन सक्छौं । फाइनान्स पनि गर्न सकिन्छ ।

वीच ‘हकर्स’ कम्पनीको जहाज हो । वीचभन्ने अमेरिकी कम्पनीले हर्कस भन्ने बेलायती कम्पनी किनेर बनाएको थियो । रेथियुन नामका डिफेन्स म्यानुफ्याक्चरिश कम्पनीले त्यसको उत्पादन गरेको थियो । पाँच मिलियन डरसम्ममा जहाज खरिद गर्न सकिन्थ्यो । हामीलाई जुन भए पनि जहाज ल्याउनु परेको थियो । गर्ने भनेपछि गर्ने-गर्ने ।

पुँजीको जोहो

बीचक्राफ्ट जहाजको मूल्य त्यतिखेर झण्डै ३२ करोड रुपैयाँ थियो । यत्रो ठूलो रकम जोहो गर्न बडो कष्ट भयो । हामी कहाँ वित्तीय योजना हेर्ने मदनबहादुर श्रेष्ठ र मैले एसेम्बल्ड कम्प्युटरमा विजनेस प्लान तयार गर्याैं । त्यही कम्प्युटर चलाउँदा चलाउँदै वर्ड र एक्सेल मज्जाले सिकेँ । बिजनेस प्लान लिई हामी चारैतिर भौतारियौं । सञ्चय कोष लगायत विभिन्न बैंकमा पनि पुग्यांै । भनसुनका लागि मन्त्रालय, विभाग, सिंहदरबार,वालुवाटार पनि कुद्यौं । अन्त्यमा नेपाल बैंक अफ सिलोन र कर्मचारी सञ्चय कोषको सहवित्तयकरणबाट ऋण स्वीकृत भयो ।

जावलाखेल अफिस

जावलाखेल आज व्यस्त चोकमा गनिन्छ । त्यतिखेर खासै ट्राफिक थिएन । अहिलेको केन्द्रीय कार्यालय जावलाखेलमा ८०० वर्गफिटको हाम्रो घर थियो । हाम्रो कार्यालयको सुरुवात त्यहीबाट भयो । साँघुरो अफिसमा हामी सबै जना कच्याककुचुक परेर बस्थ्यौ । बुद्ध एयर स्थापनासँगै झण्डै ९९ जना कर्मचारी थियो । अहिले २५ वर्ष पछि पनि ४९ जना साथीहरु त सँगै नै छन् ।

एउटा सपनाको अवतरण

साँझ पर्न खोजेको थियो । म मारुती–८०० चढेर एयरपोर्टतिर हानिँदै थिएँ, भीनभवनको ओरालोमा पुग्दा जहाज ठ्याक्कै कोटेश्वर पार गरेर धावनमार्गतिर सोझिएको देखियो । ब्रान्ड न्यू जहाज । पुच्छारमाथि बत्ती पिलिक्क–पिलिक्क बाल्दै, हाम्रो लोगो टल्काउँदै गौचरणमा ओर्लियो । म निकै भावुक र आह्लादित भएँ । साँच्चै जहाज ल्याउने सपना पूरा भएको हो त्यो क्षण ।

परीक्षण उडान

दशैं टीकाको दिन परीक्षण उडान भर्ने तय गर्यौं । जीवनमै पहिलो पटक पोखरा गइयो, त्यो पनि आफ्नै जहाजमा । दिउँसो गएर बेलुकी फर्कियौं । पोखरामै लन्च पनि खायौं ।

पहिलो व्यावसायिक उडान

११ अक्टोबर १९९७ का दिन हामीले पहिलो व्यावसायिक उडान सुरू गर्याैं । माउन्टेन फ्लाइट, पोखरा र विराटनगरको उडान राखेका थियौं । माउन्टेन फ्लाइटका क्याप्टेन रञ्जन शर्मा हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा त्यो उडान भएको थियो । उहाँ अहिले पनि बुद्ध एयरको अपरेसन डिपार्टमेन्टको डाइरेक्टर र इन्स्ट्रक्टर पाइलट हुनुहुन्छ ।

नेपालको हवाई इतिहासमा पहिलो पटक काठमाडौं–विराटनगर १ घण्टा लाग्ने उडान त्यसको आधा समयमा पूरा गरी नयाँ इतिहास रचेका थियौं हामीले । त्यहीबेलादेखि नेपालमा नयाँ पुस्ताका विमानहरुले आन्तरिक उडान सुरु गरेका हुन् ।

तलब दिन पनि अप्ठ्यारो

ऋणमा ल्याइएको जहाज, त्यसको अपरेसन खर्च, बैंकको किस्ता र अस्वस्थ प्रतिस्पर्धाले गर्दा पैसा जोहो गर्न पनि धौधौ परेको सन् २००२ ताका । त्यसबेला बुद्ध एयरकर्मीसँग भलाकुसारी गर्याै । ‘तलबभन्दा पनि कम्पनी चल्नु पर्छ । पहिला कम्पनी हेरौं, त्यसपछि तलब हेरौंला’ भन्ने कुरा आयो । त्यो दिन म साथीहरुको ऋणी भएको थिएँ । आज हामी करिब १५०० जनाको परिवार भएका छौं । तलबसँगै कतिपय बेलामा बोनस पनि बाँडेका छौं ।

कोभिड कालबाहेक उडान गरेको पाँच वर्षपछि लगभग हरेक वर्ष कर्मचारीलाई बोनस बाड्न सफल भएका छौं । विश्वकै उड्डयन इतिहासमा सायद धेरथोरै कम्पनीले मात्र यस्तो सफलता प्राप्त गरेको हुनाले हामी धेरै उत्साहित छौं ।

सरकारलाई पहिलो कर

पैसा कमाउन कसलाई मन नलाग्ला ? तर यो रहर पूरा गर्दा पनि इमान्दारी र पारदर्शिता छाड्नु भएन । हिसाबकिताब पारदर्शी राख्न, रिट्ठो नबिराई राज्यलाई कर तिर्न हामी सुरूदेखि नै भित्रैदेखि प्रतिबद्ध छौं । त्यसैले सार्वजनिक रूपले भन्दै आएको पनि छु–हामी कर छली गर्दैनौं ।

खासमा हामीलाई सरकारले दिएको ‘ट्याक्स होलि–डे फापेन’ । पाँच वर्षसम्म सरकारलाई कर तिर्नु नपर्दा २० करोड घाटा भएको थियो । छैठौं वर्षदेखि कर तिर्नुपर्ने भयो, अनि फेरि खातामा नाफा देखिन थाल्यो । पाँच वर्ष घाटा भएको रकम हामीले छैठौं वर्षको हिसाबमा सार्न सक्दैनथ्यो । ‘होलि–डे’ नभएको भए सकिन्थ्यो ।

अहिलेसम्म राज्यलाई अरबौ रुपैयाँ कर तिरिसकेका छौं । हामी हर महिना १० करोड रुपैयाँभन्दा बढी तलबै बाँड्छौं । साँढे दुई करोड रुपैयाँ त्यसबाटै राज्यकोषमा कर जाने भयो ।

कम्प्युटरकृत कार्य सञ्चालन

दुई दशक अगाडि कम्प्युटर आजको जस्तो सजिलो थिएन । महँगोका साथै चलाउने जनशक्ति पनि थिएनन् । हाम्रा कामकाज बहिखातामा लेखिन्थ्यो । टिकट, सिट पनि बहिखातामै हुन्थ्यो । भुलचुकले कतिपय बेला जहाजको भन्दा बढी सिट पनि बेचिन जान्थ्यो । एक यात्रुले अदालतमै मुद्दा हाल्छु भनेका पनि थिए । नेपाली जनशक्तिकै सहयोगले विस्तारै हामीले सबै सिस्टम बनायौँ । आज हाम्रो सम्पूर्ण कार्य कम्प्युटरकृत भएको छ ।

व्यवसाय सञ्चालन गरेको ६ महिनामै हाम्रा काम कम्प्युटरकृत गरेका थियौं । नेपालमा पहिलो पटक यस्तो व्यवस्था भएको थियो ।

ठूलो जहाजको आवश्यकता

सानो जहाजको सञ्चालन खर्च स्वभावतः बढी नै हुने हो । प्रतिस्पर्धा गर्न पनि गाह्रो । सबै बुद्ध एयरकर्मीको एकै स्वर बन्यो, ‘अब हामी ठूलो जहाजमा जानुपर्छ । त्यसै अनुरूप हामीले सन् २००८ मा अर्काे जहाज एटीआर–४२ भित्र्यायौं ।

आईएफसीसँगको सहकार्य

ठूलो जहाज त ल्याउने, फेरि लगानी पनि ठूलो यत्रो रकम फेरि कसरी जोहो गर्ने ? बैंकहरुको चर्काे ब्याजदर र सर्तहरु । यस्तैमा अन्तर्राष्ट्रिय संस्था आईएफसीसँग सम्पर्क भयो । उहाँहरुको सर्त पनि राम्रै र कडा थियो तर ब्याजदर निकै सस्तो । हामीले उहाँहरुसँग सहकार्य गर्यौ । १० वर्षमा तिर्नुपर्ने ऋण हामीले ७ वर्षमै चुक्ता गर्याै ।

आईएफसीको निक्कै कडा विश्लेषणमा उत्रिन हामी सफल भयौं र यो नै नेपाली हवाई क्षेत्रमा आईएफसीले प्रवाह गरेको पहिलो ऋण, हवाई सेवा कम्पनी बन्यो ।

ह्यांगर निर्माण

सन् २००८ मा आईएफसीसँग हामीले दुईओटा एटीआर ४२ र ह्यांगर निर्माणका लागि रकम प्राप्त गर्याै । यस अघि अर्का एवरलाइन्स नेकोन एयरले पनि एटीआर जहाजबाटै अपरेसन गरेको थियो । कारणवश ती बन्द भए । कारण खोज्दा मर्मत सम्भार निकै महँगो र पायक नहुँदा कर्मचारीलाई पनि गाह्रोसारो । अहिलेको टेक्निकल टिम त्यतिखेर इन्जिनियरिङ डिपार्टमेन्ट थियो । इन्जिनियरिङसँग सल्लाह गर्दा आफ्नै ह्यांगर भएमा मर्मतसम्भार पनि सजिलो र कम खर्च हुने सुझाए । त्यसैअनुरूप २० करोड रुपैयाँमा ह्यांगर निर्माण गर्याै । हाम्रो ह्यांगरले वेस्ट आइपिएमए अवार्ड पनि प्राप्त गरिसकेको छ।

प्रकृति प्रकोप

सन् २००८ पछि कोसीको धार परिवर्तन हुँदा पूर्वको राजमार्ग निकै दिन अवरूद्ध भएको थियो । सर्वसाधारण राजधानीदेखि टाडिने अवस्था आएको थियो । यस्तो बेला हामी सबै कर्मचारी मिलेर पूर्वको उडान तालिकालाई सहज बनायौं । एकाबिहानैदेखि बेलुकासम्म निरन्तर उड़ान भरेका थियौं । त्यस उडानले हामीलाई आर्थिक रूपले सहज पनि बनाएको थियो । बैंकको ऋण पनि समयमै तिर्न सफल भएका थियौं । लगत्तै थप जहाज पनि भित्र्यायौं ।

दुर्घटनापछिको सिकाइ

सन् २०११ सेप्टेम्बर २५ को दिन हाम्रो स्मृतिमा ताजै छ । माउन्टेन फ्लाइट गरी फर्केको जहाज ललितपुरको कोटडाँडामा दुर्घटनामा पर्याे । १६ जना यात्रु तथा ३ जना चालकदल गरी १९ जना गुमाउनुको पीडा अझै छंदैछ ।

यसपछिका हाम्रा उडान र जनशक्तिलाई थप सशक्त बनायौं । तालिका व्यापक बनायौं । नयाँनयाँ सुरक्षाका प्रविधि भित्र्यायौ । एफडीएमको मद्दतले अहिले हामी हरेक उडानलाई सूक्ष्म निगरानी गरिरहेका हुन्छौं ।

हाम्रो उडान तथा मर्मतसम्भारलाई अन्तर्राष्ट्रिय संस्थाको सहयोग अडिट पनि गरायांै, जुन निरन्तर जारी छ ।आज पनि हरेक सेप्टेम्बर २५ का दिन ‘इमरजेन्सी डे’ का रुपमा सुरक्षा सम्बन्धी कार्यक्रम गरी यो घटनालाई हाम्रा कर्मचारीकाबीच ताजा राखेका छौं ।

अन्तर्राष्ट्रिय उडान

देशैभरि पखेटा फिजाइसकेपछि, अन्तर्राष्ट्रिय उडानको सपना साकारः पार्नतिर लाग्यौ । सन् २०१० को अगस्टदेखि भुटानको पारो विमानस्थलमा उडान भर्याैं । यो नै हाम्रो पहिलो अन्तर्राष्ट्रिय उडान थियो । अर्को वर्ष सन् २०११ को जनवरीबाट भारतको उत्तरप्रदेशको राजधानी लखनउलाई पनि काठमाडौसँग जोड्यौ ।

यसैगरी सन् २०१२ को मार्चबाट भारतकै उत्तरप्रदेशको धार्मिक नगरी वाराणसीको उडान भर्याै । जुन अहिले पनि जारी छ । साताको दुई दिन सोमबार र शुक्रबार वाराणसीको उडान भरिरहेका छौं । सन् २०१९ को मे देखि भारतको वेष्ट बङ्गालको राजधानी कोलकोत्ताको पनि उडान सुरु भर्याै । पछि विभिन्न कारण र परिस्थितिवश वाराणसी बाहेक अन्य गन्तव्यका उडान बन्द गर्न बाध्य भयौं ।

सबैका लागि हवाई यात्रा

ठूला जहाज र आफ्नै ह्यांगर निर्माणपछि सञ्चालन खर्च स्वतः घट्यो । यसको फाईदा अहिले प्रत्यक्ष रूपमा सबै यात्रुवर्गले पाएका छन् । आजभन्दा दुई दशक अगाडिको भाडादर र अहिलेको भाडादर तुलना गर्ने हो भने भाडामा खासै अन्तर देखिंदैन । चार जात छत्तिस वर्णको साझा फूलबारी हाम्रो विमानस्थल भएको छ। साधारण चप्पल लगाउनेदेखि सुटेड बुटेड यात्रुहरु एउटै जहाजबाट यात्रा गरिरहेका हुन्छन् ।

ठूला जहाजसँगै विभिन्न वर्गीकृत भाडा दर ल्याई इतिहासकै सस्तो भाडादर कायम गरी सबै नेपालीलाई हवाईजहाज चढ्ने अवसर सिर्जना गर्याै । हाल वर्षको ३० लाख यात्रुलाई सेवा दिइरहेका छौं ।

इमरजेन्सीमा पनि सहज उडान

विसं २०६१ माघ १९ मा देशैभर इमरजेन्सी लागू हुँदा उडान सेवा सञ्चालनमा निकै असहज भएको थियो । टेलिफोन लाइन काटिँदा हामीले वाकीटाकीका माध्यमबाट उडान सञ्चालन गरेका थियौं । लगत्तै वाकीटाकी पनि काटिँदा निकै असहज भएको थियो, तर पनि यात्रुलाई सहज उडानका लागि निकै चुस्तताका साथ सेवा प्रदान गरेका थियौं ।

एटीआर–७२ को छलाङ

सानो १८ सिटे जहाजपछि ४२ सिटे एटीआर–४२ जहाजको सफल व्यवसायिक उडान । त्यसपछि, अझ ठूलो जहाज किन नल्याउने ? यसले उडान खर्चलाई अझ धेरै घटाउँछ र सबै तप्काका लागि हवाई उडान सहज हुन्छ भनेपछि हामीले सन् २०१० को जुलाईदेखि एटीआर ७२ जहाजबाट सेवा विस्तार गर्यौं । यो जहाजले एकैपटक ७० जना यात्रुलाई सेवा दिन्छ । हामीसँग ११ ओटा एटीआर ७२ जहाज छन् ।

भुँइचालो

वि.सं. २०७२ वैशाख १२ को महाभूकम्पका कारण विशेषतः गोरखादेखि काठमाडौको जनजीवन निकै प्रभावित बन्यो । काठमाडौबाट आउजाउ गर्नेको संख्या हवात्तै बढेको थियो । यस्तो विषम् परिस्थितिमा पनि हाम्रा सम्पूर्ण कर्मचारीहरु उडान सहज बनाउन खटिएका थिए ।

मोफसलबाट राजधानीमा उडान

आन्तरिक उडान केन्द्रीय राजधानी काठमाडौबाटै हुने गरेको छ ।यसबाट मोफसलका यात्रुलाई एकाबिहानै राजधानी आउन गाह्रो र ढिलो हुने भएकाले हामीले मोफसलबाट पनि उडान गुरु गर्याै । यसको सुरुवात हामीले विराटनगरबाट गरेका थियौं । अहिले त्रिभुवन विमानस्थल, काठमाडौंको आन्तरिकतर्फ जहाज राख्ने पर्याप्त ट्याक्सी वे नभएको हुँदा जहाजको रात्रि विसौनी धनगढी, जनकपुर, भद्रपुर र भैरहवामा हुने गरेको छ । भोलिपल्ट एकाबिहानै यी गन्तव्यबाट काठमाडौं उड्छन् ।

पोखरा हब

पोखरालाई हामी सबैजसो गन्तव्यबाट जोड्ने क्रममा छ । पोखराबाट भैरहवा, भरतपुर, नेपालगञ्जको सिधा उडान भरिरहेका छौं। अब पहिलाजस्तो काठमाडौं आउनै पर्ने बाध्यता हटेको छ । समय पनि धेरै लाग्ने र उडान खर्च पनि महँगिने हुँदा धेरैजसो पर्यटकलाई पोखरा अपायक भएको थियो । अब यो समस्या सबैका लागि समाधान उन्मुख भएको छ।

पोखराको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि एटीआर जहाजबाट भारतको नयाँ दिल्ली जोड्नेछौ ।

कोभिड–१९ को चुनौती

कोभिडको चुनौति अहिले पनि उत्तिकै छ । संसारका धेरैजसो देशले लकडाउन नै गरे । हामी कहाँ सन् २०२० मार्च २४ देखि पहिलो लकडाउनसुरु भयो । यो ६ महिनासम्म चल्यो । अर्का लकडाउन सन् २०२१ अप्रिल २९ देखि २ महिना भयो । अर्थात् ८ महिनासम्म विमान सेवा पूर्ण बन्द रह्यो । हामी शून्य आम्दानीमा झर्यााै । आम्दानी नभए पनि जहाजको नियमित मर्मतसम्भार, तलब खर्च यथावत नै रह्यो । हामीले यस अवधिमा सबै कर्मचारीलाई केही कटौती गरे पनि तलब वितरण जारी नै राख्यौं ।

कोभिडपछिका सुषप्त पर्यटन बजारलाई बुद्ध एयरले विभिन्न किसिमका स्कीम, विस्काउन्टबाट माथि ल्याउने कार्य गर्याे । यसोगर्दा कोभिडविरुद्धका सुरक्षा प्रोटोकोललाई त्यत्तिकै ध्यान दिइयो ।

सामाजिक उत्तरदायित्व कार्यक्रम

हाम्रो सामाजिक उत्तरदायित्व कार्यक्रम सन् २००४÷२००५ देखि नै निरन्तर चल्दै आइरहेको छ । पूर्वी नेपालको मोरङ, सुनसरी र झापाका किसानलाई खेतीकिसानी सजिलो बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका छौं । परम्परागत खेतीपातीबाट उल्लेख्य मात्रामा अन्न उत्पादन नहुने र खर्च पनि धेरै हुने हुँदा बुद्ध एयरले यान्त्रिकरण प्रविधि भित्र्र्याई खेतीकिसानीलाई सजिलो बनाएको छ। कार्यक्रमको उद्देश्य निर्वाहमुखी खेतीकिसानीलाई व्यवसायमुखी रूपान्तरण गर्नु हो ।

पर्वतीय उडानमा छलाङ

सगरमाथा पर्वतीय उडानको स्थापना हामीले पहिलो उडानबाट गर्याै र हालसम्म ५ लाख ५० हजार भन्दा बढि पर्यटकलाई सेवा दिई युएसडी ५ करोड २० लाख भन्दा बढि विदेशी मुदा राष्ट्रको लागि कमाएका छौं । आज सगरमाथा मात्र होइन अन्नपूर्ण÷धवलागिरि हवाई हिमश्रृंखला दर्शन पर्यटकहरुको लागि स्थानीय गन्तव्य बनाई राष्ट्रको लागि निरन्तर विदेशी मुदा कमाउने आधार बनाएका छौं ।

(लेखक बुद्ध एयरका प्रबन्ध निर्देशक हुन् । बुद्ध एयरको २५औं वार्षिकोत्सवको अवसरमा प्रकाशित जर्नलमा उनले राखेको विचार)

One comment on "कसरी सफल बन्यो बुद्ध एयर ? यस्तो छ बिरेन्द्र बस्नेतको संघर्षको कथा"

  • ekaraj subedi says:

    नेकोन एयर डुवाएर जनताको शेयर डुवाएर लुटेको पैसा हो वुद्द एयर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.