नवलपरासीमा ज्येष्ठ नागरिकको घर–घरमा स्वास्थ्य सेवा

  २०७९ कार्तिक ६ गते १४:३१     विकासन्युज

नवलपरासी । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका– ९ की पुतली कुमाल ७५ वर्ष पुगिन् । उमेर ढल्किँदै गएपछि विभिन्न स्वास्थ्य समस्याले उनी पीडित छिन् ।

स्वास्थ्यकर्मीले घरमै आएर स्वास्थ्यजाँच गराउन थालेपछि पुतली कुमाल खुसी भएकी छिन् । स्वास्थ्यकर्मीले घरमै आएर रक्तचाप, मधुमेह, दमलगायतका रोगको जाँच गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराएका छन् । मध्यविन्दु नगरपालिका–९ कै ७८ वर्षीय रोशन सिंहलाई पनि रक्तचाप र दमको समस्या छ । आफैँ अस्पताल पुगेर औषधि लिन उनलाई समस्या थियो । गत साउनदेखि स्वास्थ्यकर्मी घरमै आएर जाँच गरी औषधि दिन थालेपछि उनी पनि खुसी भएका छन् ।

मध्यविन्दु नगरपालिकाले चालू आर्थिक वर्षको नीतिकार्यक्रममा समावेश गरेको को ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमा स्वास्थ्य सेवा कार्यक्रम अन्र्तगत नगरभित्रका १५ वटै वडामा गत साउनदेखि सञ्चालन गरेको छ ।

मध्यविन्दु नगरपालिकामा चालू आर्थिक वर्षदेखि महिनाको एक पटक ज्येष्ठ नागरिकको घरमा नै पुगेर स्वास्थ्य परीक्षण गर्न थालिएको हो । प्रत्येक महिनाको २० गतेदेखि २४ गते सम्म स्वास्थ्यकर्मी घर घरमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।

स्वास्थ्य परीक्षणका क्रममा ज्येष्ठ नागरिकको मासिक स्वास्थ्यअवस्थाको अभिलेख राखिने गरिएको छ भने आवश्यक परामर्श प्रदान गर्ने गरिएको मध्यविन्दु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ख्यामबहादुर क्षेत्रीले बताए । ‘घर–घरमा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत नगरभित्रका करिब दुई हजार तीनसय ज्येष्ठ नागरिकले लाभ लिएका छन्’, स्वास्थ्य शाखा प्रमुख क्षेत्रीले भने, ‘अशक्त, अपाङ्गता, दीर्घ रोगी र पहाडी क्षेत्रका ज्येष्ठ नागरीकलाई अझ प्रभावकारी भएको महसुस गरिएको छ ।’

भौगोलिक दृष्टिले विकट पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकदेखि आर्थिक अवस्था कमजोर भएका घरपरिवारले यस कार्यक्रमबाट लाभ लिएको मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले बताए ।

जनताकाबीचमा गरिएको प्रतिबद्धता अनुसार ज्येष्ठ नागरिकलाई घर आँगनमै स्वास्थ्यपरीक्षण गर्न १५ वटै वडामा स्वास्थ्यकर्मीको टोली गाउँगाउँ खटिएको बताए् । उनले भने,’हामीले पहिलो चरणमा उनीहरूको स्वास्थ्य परीक्षण गरी सामान्य औषधि वितरण गरिरहेका छौँ । स्वास्थ्यचौकीमा निःशुल्क नपाइने औषधि पनि खरिद गरेर वितरण गर्दै आएका छौँं ।’ पहिलो चरणमा सबै ज्येष्ठ नागरिकको स्वास्थ्यअवस्था, सेवन गरिरहेको औषधिको विवरणलगायतका आधारभूत तथ्याङ्क टिपोट गरी लगत सङ्कलन गरिएको थियो । सबै लाभग्राहीको छुट्टछुट्टै रेकर्ड फाइल तयारी गरी अवस्था विश्लेषण गर्ने गरिएको छ ।

प्रत्यैक ६/६ महिनामा विशेषज्ञ चिकित्सकसहित घर–घरमा स्वास्थ्य परीक्षण गरिने जनाइएको छ । घर घरमा ज्येष्ठ नागरिकको स्वास्थ्यपरीक्षणमा खटिने स्वास्थ्यकर्मिलाई विशेष प्रोत्साहान भत्तासमेत उपलव्ध गराइएको नगरपालिकाका सूचना अधिकारी सुमनराज रेग्मीले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.