चितवनकाे जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा फिजियोथेरापी र अकुपन्चर सेवा सुरु

  २०७९ कार्तिक ६ गते १३:०५     विकासन्युज

चितवन । चितवनको रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा फिजियोथेरापी र अकुपन्चर सेवा सुरु भएको छ । आज आरोग्यता दिवस तथा धन्वन्तरि जयन्तीको अवसर पारेर जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले सेवा सुभारम्भ गरे । प्रदेश स्तरको सो केन्द्रको उपचार थप प्रभावकारी बनाउन सेवा थप गरिएको कार्यालय प्रमुख डा कोपिला अधिकारीले जानकारी दिए ।

उनका अनुसार अकुपञ्चर सेवा पूर्वी चितवनमै पहिलो पटक आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत प्रदान गर्न लागिएको छ । आयुर्वेद थेरापी, दुःखाइ व्यवस्थापन, बाथरोग, नशासम्बन्धी रोग, निद्रा नलाग्ने लगायतका रोगको उपचार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत भइरहेको अधिकारीले जानकारी दिए ।

केन्द्रमा प्रयोगशाला, भिडियो एक्सरे सेवा पनि उपलब्ध छ । प्रस्तावित ५० शय्याको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा २५ शय्याको भवन निर्माण भइरहेको छ । केन्द्रले गतवर्ष मात्रै ४० हजार नागरिकलाई सेवा प्रदान गरेको जनाएको छ । आरोग्यता दिवस तथा आज धन्वन्तरि जयन्तीमा प्रभातफेरी प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आरोग्य दिवस एवं धन्वन्तरि जयन्तीको अवसरमा चितवनमा प्रभातफेरी निकालिएको छ ।

रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा प्रभातफेरी निकालिएको हो । केन्द्रको कार्यालय परिसरदेखि सुरु भएको प्रभातफेरी ईलाका प्रहरी कार्यालय हुँदै सौराहा चोक, बकुलहर चोक, हरिहर मन्दिर हुँदै पुनः कार्यालयमा आएर समापन भएको थियो ।

प्रभातफेरीमा सहभागीलाई विभिन्न जनचेतनामूलक सन्देश लेखिएका प्ले कार्ड समातेका थिए । दिवसकै अवसरमा कार्यालयमा धन्वन्तरि पूजन एवं धन्वन्तरि मूर्ति प्रतिस्थापन गरिएको छ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्दति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा सो जयन्ती मनाउने गरिन्छ ।

आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङकल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् । विसं १९८५ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.