अवस्था फेरिन नसकेको सिंहदरबार (फोटोफिचर)

  २०७९ कार्तिक ५ गते ९:५०     विकासन्युज

फोहोर पोखरी ।

काठमाडौं । हरेक पाँच वर्षमा सिंहदरबार पस्ने पात्र फेरिरहेका छन् तर अवस्था उही छ । बाहिर चिटिक्क सिंगारिए पनि सिंहदरबार भित्रका दृश्यहरु फेरिन सकेका छैनन् । न काम गर्ने शैली फेरिएको छ, न त त्यसको इतिहास बचाउन कसैको ध्यान पुगेको नै छ । वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पपछि भत्किएका संरचनाहरुको अझै पुनःनिर्माण राम्रोसँग सकिएको छैन । नेपालको इतिहास झल्काउने राजामहाराजाको फोटो, सालिक, मूर्तीहरु फालिएको अवस्थामा छन् । केही ठाउँमा पानी चुहिएर अवस्था बेहाल छ ।

बगैचामा सुकेर मरेको धुपी ।

गृह मन्त्रालयले यसको संरक्षण दायित्व लिएको छ भने सिंहदरबारलाई सफा राख्ने काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको छ । सिंहदरबार पुनर्निर्माण आयोजनाले यहाँ भवन बनाउने काम गर्छ । तर आश्चर्य यी तीन निकायबीच समन्वय हुन नसक्दा पुनःनिर्माणले गति लिन सकेको छैन । सिंहदरबार भित्र जो कोही सर्वसाधारण जनता पस्न पाउँदैन । पावर र पास बिना सिंहदरबार छिर्ने कल्पनासमेत गर्न सकिँदैन । अधिकांश सर्वसाधारण जनताले सिंहदरबार कस्तो छ भन्नेकुरा पत्तै पाएका छैनन् ।

एक क्याण्टिन अगाडि राखिएको पुराना कागजात ।

प्रधानमन्त्री, मन्त्रीहरुको कार्यालय रहेको ठाउँ आम सर्वसाधारणको नजरमा सुविधासम्पन्न र नमूना होला भन्ने लाग्छ नै । तर सोचजस्तो छैन सिंहदरबार । त्यहाँ भित्रका दृश्यहरु अव्यवस्थित छन् । सडकको नजिक खाल्डो, फोहोरको थुप्रो, पोखरीहरुमा पोहोर, कुकुरका हुल जताततै देख्न सकिन्छ । नयाँ, पुराना सवारीसाधन त्यत्तिकै बेवारिसे फालिएको छ, कार्यालय वरपर झाडीले ढाकेको छ तर सफा गर्न कोही अघि सर्दैनन् । मन नै कटक्क खाने नयाँ र पुराना बहुमूल्य सवारीसाधनहरु त्यत्तिकै मिल्काइएको छ । यो बहुमूल्य सम्पदा जोगाउने एजेण्डा कोहीसँग छैन ।

पुराना सरसामान र गाडी ।

सडक सम्याउने, बढार्नेमा केन्द्रित सरोकारवालाहरु सिंहदरबारको मुटु जोगाउने एजेण्डामा बेखबर छन् । यसतर्फ कसैको ध्यान नजाने हो भने इतिहासको एउटा पाटो समाप्त हुनबाट कसैले रोक्नेछैन ।

गृह मन्त्रालयको पुरानो भवनअगाडिको सडक ।

फोटो स्रोत : न्युज एजेन्सी नेपाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.