एक सय मिटर बत्तीको मूल्य ११ हजार रुपैयाँ

  २०७९ कार्तिक १ गते १२:१६     राजिव न्यौपाने

काठमाडौं । यतिबेला बजारमा तिहारका लागि सामान खरिदबिक्री गर्नेको भीड लागेको छ । तिहार नजिकिएसँगै इलेक्ट्रोनिक्स पसलहरूमा पनि बत्ती खरिद बिक्री गर्नेहरुको संख्या बढ्न थालेको छ । अहिले धेरैले बत्ती खरिद गरेर घर सजाइसकेका छन् भने कतिपय तयारी गरिरहेका छन् ।

अहिले विभिन्न किसिमका झिलिमिली बत्ती बजारमा उपलब्ध छन् । बजारमा उपलब्ध बत्ती खरिद गर्न ग्राहकहरुको भीड पसलपसलमा देखिन्छ । व्यापारीहरुका अनुसार अहिले सबैभन्दा बढी माग भइरहेको झिलिमिली बत्तीमध्ये पाइप लाइट बत्ती हो । अहिले यो बत्तीको सबैभन्दा बढी कारोबार भइरहेको न्यूरोडमा बत्तीको व्यपार गर्दै आएका उमेश मण्डल बत्ताउँछन् । उनका अनुसार पाइपलाइट बत्ती झिलिमिली बत्तीमध्येको सबैभन्दा बढी माग र मूल्य भइरहेको बत्ती हो ।

पाइपलाइट बत्तीको एक सय मिटरको मूल्य न्यूनतम ११ हजार रुपैयाँ पर्ने उनले बताए । सो बत्तीको एक मिटरको भने १५० रुपैयाँ पर्ने उनको भनाइ छ । यसको मुल्य पसल अनुसार फरक–फरक परे पनि न्यूनतम भने ११ हजार पर्छ ।

पाइपलाईट बत्ती ‘मल्टीकलर’ मा भएको उनीहरु बताउँछन् । ‘पाइपलाईट बत्ती तिहारमा बल्ने बत्ती मध्यको सबै भन्दा महँगो हो, यसको ग्यारेन्टी वारेन्टी हुँदैन, वाटर प्रुफ हुने भएकाले लामो समयसम्म टिक्छ,’ उनले भने ।

परम्परागत दियो बाल्ने चलन कम हुँदै गएकाले आधुनिक बिजुली बत्तीको प्रयोग बढ्दो छ । तिनै बत्ती, फूल र मानिसहरूको चहलपहलले काठमाडौं उपत्यकामा तिहार सुरु भइसकेको झल्को हुन्छ ।

तिहारमा घरमा सजाउने बत्तीको न्यूनतम १२० रुपैयाँदेखि लाखौंसम्म हुने व्यापारीहरु बताउँछन् । न्युरोडका अर्का व्यापारी रमेश शर्मा अघिल्ला वर्षको तुलनामा ग्राहकको उपस्थिति यस पटक कम भएको बत्ताउँछन् । उनका अनुसार बजारमा डाईमन, रकेट, रुफ लगायतका लाइट उपलब्ध छन् ।

‘अहिले बत्ती धेरै मात्रामा बिक्री भएको छैन, तिहार नजिकिँदै छ, त्यो समयमा धेरै लाइटको माग आउला, केही दिन पछिबाट मात्र बत्तीको व्यापार राम्रो हुने हाम्रो अनुमान छ,’ उनले भने ।

बजारमा झिलिमिली बत्ती खोज्न ग्राहक आए पनि सो बत्तीको अभाव रहेको व्यापारीहरु बताउँछन् । चाइनाबाट बत्ती आयात गरेता पनि समयमा नै समान आउन नसक्दा बजारमा बत्तीको अभाव भएको उनीहरुको भनाइ छ ।
‘आयातकर्ताले बत्ती आयात गरेता पनि सामान चीनियाँ नाकामै छ, आयात कर्ताका डिलरबाट हामीले सामान ल्याउने हो, तर सामान आउन नसक्दा महँगो हुने देखिन्छ,’ उनले भने ।

नेपाल विद्युतीय व्यवसायी महासंघले यो वर्षको तिहारमा करिब २० करोड बढी रुपैयाँ हाराहारीको झिलिमिली बत्ती बिक्री हुने अनुमान गरेको छ । गत वर्षको तिहारमा करिब ४० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती खपत भएको महासंघले जनाएको छ । यो वर्ष झिलिमिली बत्तीको मूल्य ३० प्रतिशतसम्म महँगो बन्नसक्ने अनुमान महासंघको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.