पूर्व अर्थमन्त्री पाण्डे र अर्थशास्त्री पौडेलबीच चितवनमा ‘ब्याटल’, कसले जित्ला चुनाव ?

  २०७९ असोज २३ गते १२:४२     विकासन्युज

काठमाडौं । देशमा चुनावको रौनक देखिन थालिसकेको छ । सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभाको मिति तय गरेसँगै राजनीतिक दलहरु उम्मेदवार टुङ्ग्याएर जनताको घरदैलो गर्न सुरु गरिसकेका छन् । मंसिर ४ गते हुने चुनावमा विशेष गरेर काँग्रेस, माओवादी र एकिकृत समाजवादी लगायत दल सम्मिलित गठबन्धन र नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

यही बिचमा चितवनको निर्वाचन क्षेत्र नम्बर एकमा पनि ठूलो प्रतिस्पर्धा हुने देखिएको छ । चितवन एक नम्बर क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र काँग्रेसबाट अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

चितवन क्षेत्र नम्बर एक सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र हो । सोही क्षेत्रबाट काँग्रेसका स्वर्णिम वाग्ले र विश्व पौडेलको नाम सिफारिस भएको थियो । तर, वाग्लेले टिकट पाएनन् । नेता पाण्डे सो क्षेत्रका लोकप्रिय नेता हुन् । काँग्रेसबाट परिचित अर्थशास्त्री डा. पौडेल र पूर्वअर्थमन्त्री पाण्डेबीच प्रतिस्पर्धा हुने भएपछि माहोल रोचक हुने देखिएको छ ।

डा. पौडेल चितवन मात्रै होइन देशभर राम्रो छवि बनाएका व्यक्ती हुन् भने एमालेका नेता पाण्डे लामो क्षेत्रदेखि सो क्षेत्रको विकास निर्माणमा संलग्न छन् । चितवनको विकासमा पाण्डेको भूमीमा पनि ठूलो छ । उनी अर्थमन्त्री हुने समयमा मात्रै होइन अन्य समयमा पनि जतिसक्दो ठूलो योजना तथा बढी बजेट चितवन निर्वाचन क्षेत्र नम्बर एकमा पार्ने कसर गरिरहेका हुन्छन् भने त्यसमा उनी सफल पनि बनेका छन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्षकै हैसियतमा रहेका डा.पौडेलले पनि चितवनमा विकासका योजना पार्न ठूलो भूमिका खेलेका छन् ।

हुन त केही दिनअघि पाण्डेले आफ्नो निर्वाचन क्षेत्रमा अमेरिका र बेलायतका अर्थशास्त्रीहरु चुनाव लड्न आएपनि फरक नपर्ने अभिव्यक्ती दिएका थिए । उनले भनेका थिए्, ‘म अहिले पनि आफ्नो निर्वाचनमा मतदाताकै माझमा छु, महिनाको चार पटक निर्वाचन क्षेत्रमा नै हुन्छु, काठमाडौँ हुँदा पनि निरन्तर टेलिफोनमा नागरिकसँग सम्पर्कमा नै रहन्छु,। मैले अघिल्लो निर्वाचनमा गरेका अधिकांश प्रतिबद्धता लगभग पूरा गरेको छु, त्यसैले जोकोहीसँग चुनावी प्रतिस्पर्धा गर्न पनि तयार छु ।’

यो अभिव्यक्तिले पनि उनी आफु जित्नेमा ढुक्क देखिन्छन् । त्यो उनको आफुले गरेको काम र जनताप्रतिको उनको विश्वास पनि हुन सक्छ । तर, गठनबन्धन र त्यसमाथि पनि लोकप्रिय अर्थशास्त्री नै उनीसँग प्रतिस्पर्धा गर्न आउँदा उनीमाथि भारी मात्रै होइन उनको निर्वाचन क्षेत्र नै नखोसिएला भन्न सकिँदैन ।

गठबन्धन चितवन १ मा पनि कायमै रहेमा पाण्डेलाई चुनाव जित्नमा भने सकस पर्ने देखिएको छ । तर, एमालेलाई राप्रपाले पनि सघाउने आन्तरिक तयारी भइरहेको बुझिएको छ । यसले भने पाण्डेलाई केही सहज हुने देखिन्छ । तर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका चर्चित अर्थशास्त्री पौडेल पाण्डेका लागि ठूलो जोखिम बन्न सक्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा समेत सफल र प्रखर अर्थशास्त्रीका रुपमा परिचित पौडेलले नयाँ एजेण्डाका साथ जनतामाझ जान सकेमा एमालेको विरासत चितवन १ बाट खोसिने सम्भावना पनि प्रवल छ ।
किनकी सो क्षेत्रमा पाण्डे पटक–पटक निर्वाचित भइसकेका छन् । पाण्डे २०७० र २०७४ मा प्रत्यक्षतर्फबाट निर्वाचित भएका हुन् थिए भने वि.स २०६४ मा समानुपातिक तर्फबाट सभासद् बनेका थिए । तर, उनले २०७४ को चुनावमा भने वाम गठबन्धनको सहयोग पाएर जितेको चर्चा पनि अहिले चल्न थालेको छ ।

जित्ने सम्भावना कसको बढी ?

चितवन १ मा राप्ती नगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिका पर्छन् । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा राप्ती नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका शमशेर लामा निर्वाचित भए । उनले एमालेका प्रतिस्पर्धी गोविन्द प्रसाद कँडेललाई पराजित गरेका थिए । लामाले कुल १२ हजार ५२४ मत प्राप्त गरेर विजयी भएका थिए भने उनका प्रतिस्पर्धीले १२ हजार ५१ ल्याएका थिए ।

राप्तीका १३ वडामध्ये एमालेले आठ, कांग्रेसले तीन र समाजवादीले दुई वडा जितेको थियो । समाजवादीले राप्तिमा काँग्रेसलाई साथ दिएको खण्डमा काँग्रेसका उम्मेदवारले बढी मत ल्याउने सम्भावना देखिन्छ ।

२०७४ को स्थानीय तहको चुनावमा भने राप्ति नगरपालिकामा एमालेकी प्रभा बराल विजयी भएकी थिइन् । त्यतिबेला उनले ११ हजार ६१३ मत प्राप्त गरेकी थिइन् । उनीसँग नेपाली कांग्रेसका किरण भुषण ओली पराजित भएका थिए भने उनले ७ हजार २९२ मत प्राप्त गरेका थिए ।

यस्तै, चितवन क्षेत्र नम्बर एकमै पर्ने रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस नै विजयी भएको छ । कांग्रेसका प्रल्हाद सापकोटा सो नगरपालिकामा निर्वाचित भएका थिए । उनले २० हजार ७९६ मत प्राप्त गर्दा एमालेका बिमला दुवाडीले जम्मा १२ हजार ७२८ मत प्राप्त गरकी थिइन् । यस नगरपालिमा पनि काँग्रेस नै बलियो देखिन्छ ।

चितवनकै खैैरहनी नगरपालिकाको मेयरमा पनि नेपाली कांग्रेसकै नेता निर्वाचित भएका थिए । नेपाली कांग्रेसका शशिकुमार खनिया १४ हजार ५४५ मतले विजयी भएका थिए भने एमालेका लालमणि चौधरीले १३ हजार ६९५ मत मात्रै पाएका थिए । यसरी स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्दा चितवनको क्षेत्र नं. १ मा काँग्रेस नै बलियो भएर आएको देखिएको छ । यसले पनि नेता पाण्डेलाई ठूलो चुनौतिसँगसँगै जोखिम पनि देखिन्छ ।

चितवन १ मा रहेका तीन पालिका अन्तर्गतका ४२ वटा वडा पर्छन् । जसमध्ये २० वटा वडाका अध्यक्ष एमालेले जितेको छ । कांग्रेसले १८, माओवादी केन्द्रले एक, एकीकृत समाजवादीले एक र स्वतन्त्रले दुई वडाका अध्यक्ष जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.