चन्द्रागिरी नगरपालिकाले पहिरोको कारण मृत्यु भएको परिवारलाई तत्काल ५० हजार दिने

  २०७९ असोज २१ गते १३:१२     विकासन्युज

काठमाडौं । चन्द्रागिरी नगरपालिकाले पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई तत्काल किरिया खर्चबापत ५० हजार उपलब्ध गराउने भएको छ ।

अविरल वर्षापछि गएराति आएको पहिराले चन्द्रागिरि–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका–१२ स्थायी घर भई हाल ध्यान केन्द्रमा बस्दै आएका ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया गीता श्रेष्ठ र १८ महिनाकी छोरी सारथी छन् ।

चन्द्रागिरी नगरप्रमुख घनश्याम गिरीले आज बिहान घटनास्थलको अवलोकन तथा पहिरो पीडितका आफन्तजनसँग कुराकानी गर्दै सो जानकारी दिएका हुन् । उनले भने, ‘पहिराले थप क्षति हुन नदिन स्थानीय क्षेत्रमा अवरुद्ध बाटो खुलाउने काम भइरहेको छ । सम्भावित जोखिमलाई ध्यान दिँदै नगरपालिकाले सचेतना जगाउने काम गरिरहेको छ ।’

नगरप्रमुख गिरीले पहिरामा पुरिएकाको शव निकालिएको परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको जानकारी दिए । स्थानीयवासीका अनुसार ध्यान केन्द्रमा बसेका श्रेष्ठ परिवार दमका रोगी रहेका बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.