भारतीय कम्पनी मेडेन फार्मास्युटिकल्सको कफ सिरप प्रयोग नगर्न डब्ल्यूएचओको चेतावनी

  २०७९ असोज २० गते १३:२६     विकासन्युज

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठनले भारतमा बनेका चारवटा कफ सिरपलाई गाम्बियामा ६६ बालबालिकाको मृत्युसँग जोडेर उत्पादन चेतावनी जारी गरेको छ। यो पश्चिम अफ्रिकी देशमा मृगौलामा चोटपटक लागेका बालबालिकाको मृत्युको अनुसन्धानपछि आएको हो।

डब्लुएचओले मेडेन फार्मास्यूटिकल्स र भारतीय अधिकारीहरूसँग थप अनुसन्धान गरिरहेको छ जनाएको छ । साथै डब्लुएचओले नियामक निकायहरुलाई उक्त औषधीको बिक्री वितरणमा रोक लगाउन सुझाव दिएको छ ।

भारतको औषधि सम्बन्धी नियामक निकायले सेप्टेम्बर २९ मा सो औषधीको विषयमा जानकारी पाएपछि अुनुसन्धान शुरु गरेको जनाइएको छ । बुधवार विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले चार कफ सिरपको नमूना परीक्षण गरेपछि प्राप्त नतिजालाई लिएर मेडेनको उत्पादनको विषयमा जानकारी गराएकाहुन् । प्रोमेथाजिन ओरल सोल्युसन, कोफेक्समालिन बेबी कफ सिरप, मकोफ बेबी कफ सिरप र मग्रिप एन कोल्ड सिरप नामका औषधीहरु माथि डब्लुएचओले अनुसन्धान गरेको थियो ।

प्रयोगशाला विश्लेषणले सिरपमा डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोलको अस्वीकार्य मात्रा रहेको पुष्टि गरेको छ, जुन मानिसका लागि विषाक्त हुन्छ र सेवन गर्दा घातक साबित हुन सक्छ। डब्ल्यूएचओका अनुसार अहिलेसम्म, गाम्बियामा उत्पादनहरू पहिचान गरिएको छ, तर तिनीहरू अनौपचारिक बजारहरू मार्फत अन्य देशहरूमा पनि वितरण गरिएको हुन सक्छ।

मेडेन फार्मास्यूटिकल्सले गरेका उत्पादनहरूका सबै ब्याचहरूलाई प्रासंगिक राष्ट्रिय नियामक प्राधिकरणहरूले विश्लेषण नगरेसम्म असुरक्षित मान्नु पर्ने डब्लुएचओले जनाएको छ । यद्यपी सो औषधी अहिलेसम्म गाम्बियामा मात्र निर्यात गरेको पाइएको छ । प्रायः जेनेरिक औषधीको रुपमा भारतले विश्वको एक तिहाइ औषधि उत्पादन गर्दै आएको छ । दर्जनौं बालबालिकामा मृगौलाको गम्भीर समस्या भएको पत्ता लागेपछि गाम्बियाका मेडिकल अफिसरहरूले जुलाईमा पहिलोपटक चेतावनी दिएका थिए।

गाम्बियाका स्वास्थ्य सेवाका निर्देशक मुस्ताफा बिट्टेले रोयटर्सलाई हालका हप्ताहरूमा मृत्युको संख्या घटेको र देशले उत्पादनहरूको बिक्रीमा प्रतिबन्ध लगाएको बताएका छन्। यद्यपि, हालसम्म, केहि सिरपहरू निजी क्लिनिक र अस्पतालहरूमा बिक्री भइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.