दशैंमा काठमाडौंले खाँदैछ १ अर्ब बढीको मासु, केजीको १४ सयसम्म !

  २०७९ असोज १६ गते १०:५७     विकासन्युज

काठमाडौं । दशैंमा सबैभन्दा बढी खरिद बिक्री खसी बोका तथा च्याङ्ग्रा हुन्छन् । यो समयमा मासुको परिकार नै बढी उपभोग हुने हुन्छ । विशेष गरी फूलपातीको दिनदेखि खसी, बोका, कुखुरा, भेडा–च्यांग्रा, राँगा लगायतका जनावरहरुको बली दिन सुरु गरिन्छ । त्यसैले दशैंमा मासुको खपत अत्याधिक मात्रामा हुने गर्दछ ।

दशैंलाई नजै लक्षित गरेर अहिले हजारौं खसी बोका बजार खरिद बिक्री भइरहेका छन् । ठूलो जनघनत्व भएको काठमाडौं उपत्यकामा पनि दशैंको रौनक बेग्लै छ । दशैँ सुरु भएसँगै काठमाडौं उपत्यकामा खसी, बोका र च्याङ्ग्राको मासुको खरिद बिक्री निकै बढेको छ भने मासुको मूल्य पनि आकाशिएको छ ।

केही हप्ताअघिसम्म खसीको मासु प्रतिकिलो ९ सयदेखि एक हजार रुपैयाँ पर्ने खसी बोकाको मासुको मूल्य अहिले १४ सय रुपैयाँसम्म खरिद बिक्री भइरहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीम थापाका अनुसार खसीको बिक्री मूल्य प्रतिकिलो ६ सय ८० रुपैयाँ तोकिएको छ । त्यस्तै, च्याङग्रो मूल्य १२ सय ६० रुपैयाँ निर्धारण गरिएको छ । प्रतिकिलो १० रुपैयाँ छुटसहित उपभोक्ताले १२ सय ५० रुपैयाँमा किन्न पाउनेछन् । यस्तै, चौपाया खरिद बिक्री सेवा संघले मंगलबार लोकल खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ८० देखि ७ सय १० रुपैयाँ तोकेको छ ।

खाद्य र चौपाया खरिद बिक्री सेवा संघले कम मूल्यमा बिक्री गरिरहेको भएपनि खुद्रा बजारमा भने त्यसको दोब्बर अर्थात १४ सय रुपैयाँसम्म बिक्री भइरहेको छ । कम्पनी र संघले बिक्री गर्ने प्रतिकेजी ६ सय ८० र खुद्रा बजारमा बिक्री हुने १४ सय रुपैयाँको औसत १ हजार ४० रुपैयाँ पर्न जान्छ ।

पशु सेवा विभागले दशैँमा काठमाण्डू उपत्यकामा मात्रै करिब ५० हजारवटा खसीको खपत हुने अनुमान गरेको छ । विभागले एउटा खसीको औसत २० केजी भएपनि ५० हजार खसी बोकाको कुल १० लाख केजी मासु हुन्छ । यस पटकको दशैंमा काठमाडौं उपत्यकाले मात्रै १० लाख केजी मासु खाने देखिन्छ भने १० लाख केजी मासुको प्रतिकेजी औसित १ हजार ४० रुपैयाँ परे पनि कुल १ अर्ब ४ करोड रुपैयाँको मासु खरिद बिक्री हुने देखिन्छ ।

विभागका अनुसार नेपालमा वार्षिक एक करोड २८ लाखवटा खसी, बोका र बाख्रा तयार हुन्छन् । तीमध्ये प्रत्येक वर्ष करिब ३३ लाखवटा खसी मासुका लागि कटनीमा जान्छ । कुल ३३ लाखवटामा वार्षिक २७ लाख खसी काठमाण्डूबाहेक अन्य जिल्लामा खपत हुने सरकारी तथ्याङ्कले देखाउँछ । बाँकी छ लाखवटा खसीको राजधानीमा खपत हुन्छ । घटस्थापनाका दिनदेखि पूर्णिमासम्म दैनिक तीन लाख किलो कुखुराको मासु र दशैँमा १० हजार वटाजति च्याङ्ग्रा खपत हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.