झापाको सहारा सहकारी : निक्षेप करिब १० करोड, सदस्य एक लाख ६० हजार बढी

  २०७९ असोज ९ गते ९:२७     विकासन्युज

झापा । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था आर्थिक कारोबार र सदस्य सङ्ख्याका आधारमा देशकै ठूलो सहकारी संस्था भएको छ ।

बिर्तामोड नगरपालिका वडा नं २ चारपानेमा प्रधान कार्यालय रहेको सहारा नेपालको यही भदौ मसान्तसम्ममा सदस्य सङ्ख्या एक लाख ६० हजार २५ जना पुगेको छ भने सोही अवधिमा कुल निक्षेप बचत नौ अर्ब ९६ करोड ३५ लाख २२ हजार चार सय ६७ रहेको छ ।

संस्थाका अध्यक्ष हरिकुमार राजवंशीले सहारा नेपाल देशकै पहिलो बनेको बताए । प्रदेश नं १ को झापा, मोरङ, सुनसरी, इलामसहित ११ जिल्लामा ७९ वटा सेवा केन्द्र विस्तार गरिसकेको सहारा नेपालले सदस्यमाझ बचत सङ्कलन, कर्जा लगानी र लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

मुलुकको वित्तीय क्षेत्रमा आर्थिक सङ्कुचन र तरलता अभावको समस्या देखापरेको भए पनि सहारा नेपालको वित्तीय प्रगति सन्तोषजनक रहेको संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले बताए । उनले यही भदौ मसान्तसम्ममा संस्थाको सेयर पूँजी एक अर्ब ६३ करोड १८ लाख ९१ हजार आठ सय र साधारण जगेडा कोषमा एक अर्ब ११ करोड १९ लाख ८२ हजार नौ सय ५८ पुगेको जनाउँदै संस्थाले आफ्ना सदस्यलाई १२ अर्ब ८४ करोड ३४ लाख ४१ हजार तीन सय ७८ कर्जा लगानी गरेको बताए ।

विसं २०५२ मा ३३ जनाले ३४ हजार सेयर पूँजी सङ्कलन गरेर स्थापना गरेको सहारा नेपाल मुलुककै ठूलो मात्र नभएर नमूना सहकारी संस्थामा विकास भएको संस्थापक सदस्य एवं कार्यकारी प्रमुख गिरीको भनाइ छ । संस्थामा हाल पाँच सय २० कर्मचारी र ऋणी सङ्ख्या ८७ हजार ७० रहेका छन् । तरलता अभाव नहोस् भनेर संस्थासँग एक अर्ब ६३ करोड सात लाख ४४ हजार आठ सय १६ नगद तथा बैंक मौज्दात रहेको गिरीले जानकारी दिए ।

संस्थाले चाडपर्वका अवसर पारेर ज्येष्ठ, एकल र अशक्त सदस्यलाई सामाजिक सुरक्षा सुविधाका रूपमा नगद वितरण गरेको छ । शनिबार सहारा नेपालका सबै सेवा केन्द्रमा कुल एक हजार ५४ जनालाई यस वर्षको सामाजिक सुरक्षा सुविधाअन्तर्गत  ९५ लाख ९० हजार नगद वितरण गरेको संस्थाका केन्द्रीय कार्यालयका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए ।

उनका अनुसार ७५ वर्ष उमेर पुगेका ज्येष्ठ सदस्य र मृत्यु भएका सदस्यका परिवारलाई एक लाखदेखि पाँच लाखसम्म परिवार राहत वितरण गरिएको छ । यो राहत यस वर्ष १२ जना सदस्यलाई दिइएको छ । ज्येष्ठ सदस्यमध्ये ८५ वर्ष उमेर पार भएका चार जनालाई जनही रु २५ हजारका दरले दीर्घायू सदस्य सम्मान प्रदान गरिएको छ भने अशक्त, एकल र ज्येष्ठ सदस्यलाई जनही वार्षिक रु छ देखि १० हजारसम्म सामाजिक सुरक्षा सुविधा प्रदान गरिएको उहाँले बताउनुभयो । एकल महिला र पुरुष दुवैले सुविधा पाउने गरेका छन् ।

सहारा नेपालले गत वर्ष सामाजिक सुरक्षा सुविधाअन्तर्गत सदस्यहरूलाई दशैँको अवसरमा एक करोड सात लाख ४९ हजार वितरण गरेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.