आइएमई र यूएनसिडिएफबीच महिला रेमिटेन्स प्राप्तकर्ताको अनुसन्धान गर्ने सम्झौता

  २०७९ असोज ४ गते १८:१८     विकासन्युज

काठमाडौं । आइएमई र युनाइटेड नेशन क्यापिटल डेभलपमेन्ट फण्ड (यूएनसिडिएफ) बीच समझदारी भएको छ ।

समझदारी अनुसार सूचना प्रविधिको विकाससँगै डिजिटल वालेटमा रेमिटेन्सको आप्रवाह बढाउन दुवै सँस्थाहरूबीच सहकार्य हुनेछ । यो सम्झौता विशेषतः महिला रेमिटेन्स प्राप्तकर्ताहरूका समस्या र ती समस्याहरूको न्यूनीकरणमा बढ्ता केन्द्रीत हुने बताइएकाे छ ।

डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्न र ग्रामिण क्षेत्रमा रहँदै आएको बैंकिङ्ग पहुँचको कमजोर अवस्थामा सुधार ल्याउन समेत यो समझदारी उपयोगी हुनेछ । महिलाहरूको वित्तीय पहुँच अभिवृद्धि गर्ने उद्देश्यसमेत यो समझदारीमा समेटिएको छ । यस समझदारीपछि नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल र वित्तीय समावेशीकरणमा थप सहयोग पुग्ने विश्वास दुवै सँस्थाले लिएका छन् ।

सन् २०२१ को शुरूवातदेखि आइएमई र यूएनसिडिएफले वैदेशिक रोजगारीमा गएका परिवारको हितका लागि सहकार्य गर्दै आइरहेका गरेका छन् । सर्वेक्षण एवम् अनुसन्धानका माध्यमबाट ग्राहकका समस्या बुझ्न र विशेषतः रेमिटेन्स प्राप्तकर्ताहरूका समस्या पहिचान गरी ग्राहक प्रोफाइलको निर्माण गरिने उद्देश्य यसपटकको समझदारीमा उल्लेख गरिएको छ ।

आइएमईले सन् २०२० देखि विद्यमान अन्तर्राष्ट्रिय रेमिटेन्स सेवामा मोबाइल वालेट सेवाहरू संयोजन गरी नेपालमा रेमिटेन्स आप्रवाहको अवस्थालाई झनै सहज बनाउँदै आएको छ । यसबाट ग्राहकहरूले अन्तर्राष्ट्रिय रेमिटेन्स ट्रान्सफरहरू सिधैं उनीहरूको मोबाइल वालेटमा प्राप्त गर्न सक्ने गरी अध्यावधिक गरिँदै आएको छ ।

आइएमईले यूएनसिडिएफसँगको सहकार्यमा यहीँ २० सेप्टेम्बरदेखि दुई दिवसीय डाटा एनालिटिक्स र मानव केन्द्रित उत्पादन विकास कार्यशाला राजधानी काठमाडौंमा आयोजना गरेकाे थियाे । आइएमईद्वारा आयोजित अध्यान र कार्यशाला यूएनसिडिएफसँगको सहकार्यमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.