बैंकको ब्याजदर बढेपछि सहकारीमा दबाब, सन्दर्भ ब्याजदर बढाउन लबिङ

  २०७९ असोज ४ गते १५:४९     सीआर भण्डारी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएपछि त्यसको दबाब सहकारी संस्थाहरुमा परेको छ । वाणिज्य बैंकहरुले पनि सहकारी संस्थाहरुले दिने हाराहारीमै ब्याज दिन थालेपछि सहकारीहरु ठूलो दबाबमा परेका हुन् । अहिले सहकारीकर्मीहरु सहकारीको सन्दर्भ ब्याजदर पनि बढाउनु पर्ने भन्दै लविङ सुरु गरेका छन् ।

यसअघि नै ब्याजदर बढाउन माग गरिरहेका सहकारी संस्थाहरुले यसपटक भने ठूलो दबाव नै दिन थालेका हुन् । यसअघि १४ प्रतिशतको हाराहारीमा रहेको सहकारीको ब्याजदर वृद्धि गरेर हाल १६ प्रतिशत कायम गरिएको थियो । तर, अहिले पुनः बैंकहरुले ब्याज बढाएपछि सहकारी संस्थाहरु पनि ब्याज बढाउनु पर्ने भन्दै नियामक सहकारी विभागमा लविङ सुरु गरेका हुन् ।

हाल सहकारी संस्थाहरुलाई १६ प्रतिशतको क्याप लगाइएको छ । सहकारी संस्थाहरुले यो भन्दा बढी लिन पाउँदैनन् । जसले गर्दा सहकारी संस्थाका सदस्यहरु बैंक तथा वित्तीय क्षेत्रको ब्याजदरमा लोभिने अवस्था पुगेकाले बढाउनु पर्ने आवाज उठाउँदै आएका छन् ।

सहकारी संस्थाहरुले बजारको माग अनुसार ब्याजदर थपघट गर्न पाउनु पर्ने समेत माग गरेका छन् । बैंकको ब्याज बढेपछि सहकारीको निक्षेप बैंकमा जाने भन्दै सन्दर्भ ब्याज बढाउन सहकारीका संचालकहरुले माग गरेका हुन् ।

राष्ट्रिय सहकारी महासंघकी जनरल म्यानेजर चित्रा कुमारी थामसुङ सुब्बाले बैंक तथा वित्तीय संस्थाहरुले जस्तै सहकारी संस्थाले पनि सन्दर्भ ब्याजदर स्वचालित रुपमा थपघट गर्न पाउनु पर्ने बताइन् । सन्दर्भ ब्याजदरमा लगाइएको क्याप हट्नुपर्ने बताउँदै उनले बजारको माग अनुसार ब्याजदर निर्धारण गर्न पाउनुपर्ने उनको भनाइ छ ।

‘सहकारीले १६ प्रतिशतभन्दा बढी दिन नपाउने भनेर क्याप लगाएको छ, अहिले बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेको हुँदा सहकारी संस्थाको पनि बढ्नुपर्छ,’ उनले भनिन्, ‘सहकारीको ब्याजदर बैंक तथा वित्तीय संस्थाको जस्तै स्वचालित हुनुपर्छ, ब्याजदर बजारले निर्धारण गर्ने हो, बजारमा उच्च भयो सहकारीले बढाउन पाउनु पर्याे, बजारमा घट्यो भने सहकारीले पनि घटाउनुपर्याे, सन्दर्भ ब्याजदर पुनरावलोकन हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

राष्ट्रिय सहकारी बैंकका सञ्चालक समेत रहेका सहारा नेपाल बचत तथा सहकारीका प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरीले सहकारीको सन्दर्भ ब्याजदर बढाउनु पर्ने माग गरे । सहकारीको सन्दर्भ ब्याजदर बढाउनु पर्ने अहिलको आवश्यकता भएको बताउँदै उनले परिस्थिति अनुसार अघि बढ्नु पर्ने धारणा राखे ।

राष्ट्रिय सहकारी बैंकको सञ्चालक ध्रुबनारायण यादवले बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दा सहकारीमा समस्या उत्पन्न भएको बताए । यसमा राष्ट्र बैंकले पनि एक्सन लिनु पर्ने उनको भनाइ छ । अन्य देशमा सामान्य ब्याजदर बढ्दा पनि केन्द्रिय बैंकले स्पष्टिकरण सोध्ने गरेको भएपनि नेपालमा त्यो अभ्यास नरहेको उनले बताए ।

‘बैंकहरुको ब्याजदर बढ्दा राष्ट्र बैंकलले एक्सन लिनुपर्छ, अन्य मुलुकमा ब्याजदर ०.५ प्रतिशत बढाउँदा हँगामा हुन्छ, कुन बजारलाई आवश्यक परेर ब्याज बढायौं भनेर केन्द्रिय बैंकलाई स्पष्टिकरण साधिन्छ,’ उनले भने, ‘यहाँ बचतको ब्याजदर बढाएर तरलताको समाधान हुन्छ त ? जति ब्याजदर भएपनि पैसा बैंकमा नै आउने हो, तर बैंकको ब्याजदर बढ्दा सहकारी क्षेत्रमा समस्या पर्छ ।’

उनले ब्याजदर बढ्दा सहरी क्षेत्रका संस्थामा ठूलो समस्या परेको बताए । ‘गाउँका लागि न ब्याजदर बढाउन जरुरी छ न घटाउन जरुरी छ, यहाँ सरल रुपमा चलिरहेको छ, गाउँमा पहिलादेखि नै १२÷१४ प्रतिशतमा चलिरहेको छ, सहरमुखी संस्थाहरुलाई समस्या पछ’ उनले भने, ‘सदस्यहरुले बढी फाइदा कहाँ हुन्छ त्यहाँ जानु मानविय स्वभाव हो, यसकारण सहकारीको ब्याजदर बढाउनुपर्छ ।’

सहकारी संस्था अनुशासनमा बस्ने भएकाले ब्याजदर थपघट गर्न नपाएको गुनासो उनले गरे । विभागको ब्याजदर निर्धारण समितिले नयाँ ब्याजदर निर्धारण नगरेसम्म सहकारी संस्थाले स्वेच्छिक बढाउन नसक्ने उनको भनाइ छ । एक÷दुई प्रतिशत घाटा लागेपनि सहकारी संस्थाले नियम नतोड्ने उनी बताउँछन् ।

यस्तै, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेती बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेको हुँदा सहकारीको पनि ब्याजदर बढाउनु पर्ने माग गर्छन् । सहकारी संस्थाको ब्याजदर बढाउनुको विकल्प नरहेको उनको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाको भन्दा सहकारीको निक्षेपमा ब्याज कम भएपछि सहकारीमा पैसा नराख्ने सम्भावना बढी रहेको उनको धारणा छ । उनले बैंक तथा वित्तीय संस्थाका कारण सहकारीमा समस्या आउने गरेको बताए ।

‘बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेको हुँदा सहकारीको पनि ब्याजदर बढाउनुको विकल्प छैन, सहकारीको निक्षेपमा ब्याज कम ब्याज पाइने भएपछि पैसा नराख्ने सम्भावना छ,’ उनले भने, ‘बैंकहरुले ब्याजदर अप्रत्यासित ढंगले बढाए, बैंक तथा वित्तीय संस्थाहरुका कारण नै वित्तीय समस्या आउँछ, अप्रत्यासित रुपमा ब्याजदर बढाएपछि सहकारीका सदस्यहरु मार्केटिङ गरे, अहिले अस्वस्थ प्रतिस्पर्धा बढ्यो, सहकारीले पनि बढाउनुपर्छ ।’

जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञान बहादुर तामाङ सहकारीको सन्दर्भ ब्याजदर बढाउन माग गरेको बताउँछन् । आफूहरुले ब्याजदर संशोधन हुनु पर्छ भनेर माग गरिरहेको उनको भनाइ छ ।

‘बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धि गर्दा सहकारीको सन्दर्भ ब्याजदर बढाउन माग गरेका छौं, महासंघ र बैंक, समितिका साथीहरुले समन्वय गरिरहेका छन्, सन्दर्भ ब्याजदर संसोधन हुनुपर्छ, छिटोभन्दा छिटो यसलाई परिमार्जन गर्नर्छ,’ उनले भने ।

सहकारी विभागका उप–रजिष्ट्रार टोलराज उपाध्याय अध्ययन, तथ्याङ्क विश्लेषण गरेर, बजारको माग हेरेर ब्याजदर बढाउने वा नबढाउने भनेर निष्कार्श निकाल्ने बताउँछन् ।

राष्ट्र बैंकका प्रतिनिधिहरु, महासंघको प्रतिनिधिहरुसँग, सहकारी अभियानका प्रतिनिधिहरुसँग छलफल गरेर ब्याजदर निर्धारण गरिने उनले बताए । सबैसँग छलफल तथा प्राप्त तथ्याङ्कको विश्लेषण गरेर थपघट गर्ने उनको भनाइ छ ।

सहकारी विभागले कानुनका आधारमा ब्याजदर निर्धारण गर्ने उनले बताए । कानुनमा भएका प्रावधान अनुसार सहकारी संस्थाको कम भएको हो की होइन भनेर तथ्याङ्क विश्लेषण गरेर मात्रै ब्याजदर बढाइने उनले बताए ।

सहकारी ऐन–२०७४ को दफा ५१ मा सन्दर्भ ब्याजदर तोक्ने व्यवस्था छ । सहकारी विभागका रजिष्टार संयोजक रहेको समितिमा सहकारी मन्त्रालयका प्रतिनिधि, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रि सहकारी बैंक र सहकारी विभागकै उप–रजिस्टार सदस्य रहने व्यवस्था छ । हाल ब्याजदर निर्धाणरणका लागि एउटा उपसमिति बनेको छ । सो उपसमितिले निर्धारण गरेर सिफारिस गरेपछि मात्रै समितिले ब्याजदर बढाउने वा यथावत राख्ने भन्ने विषयमा निर्णय हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.