नवलपुरमा पोल्ट्री उद्योग खोल्दै चार उद्यमी, स्थानीय उत्पादन मात्रै प्रयोग गर्ने, लागत आठ करोड रुपैयाँ

  २०७९ असोज ४ गते ९:४८     विकासन्युज

नवलपुर । पोल्ट्री उद्योगका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री उत्पादन गर्न नवलपुरमै उद्योग स्थापना गरिएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिकास्थित दलदलेमा चार उद्यमीको आठ करोड रुपैयाँको लागतमा उद्योग स्थापना गरिएको हो ।

पोल्ट्री क्षेत्रमा बढ्दो लगानी र पोल्ट्री उद्योगका लागि आवश्यक पर्ने सामग्रीको अत्यधिक मागलाई मध्यनजर गर्दै दलदलेमा कम्पास एग्रो इन्डष्ट्रिज प्रालि स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत सङ्गम घिमिरेले जानकारी दिए । पोल्ट्रीजन्य उद्योगलाई चाहिने सबै सामग्रीसहित कृषिसँग सम्बन्धित सामग्री उत्पादन गर्ने उद्देश्यका साथ उद्योग स्थापना गरिएको उनले बताए । कम्पनीले पोल्ट्री फार्ममा आवश्यक पर्ने सम्पूर्ण प्लाष्टिकका सामग्री, कृषि उत्पादनमा थोपा सिँचाइका लागि आवश्यक पर्ने सामग्री तथा अन्य प्लाष्टिकका सामग्रीसमेत उत्पादन सुरु गरेको जनाइएको छ ।

‘पोल्ट्री फार्मका लागि आवश्यक पर्ने ९० प्रतिशतभन्दा बढी सामग्री हामीले यहाँ नै उत्पादन सुरु गरेका छौं,’ उनले भने, ‘यसका साथै व्यवसायी र किसानले चाहेअनुसारका सबै प्रकारका प्लाष्टिकजन्य सामग्री उत्पादन गर्ने क्षमता राख्दछौं ।’ कम्पनीले पोल्ट्रीको ड्रिङकर्स, पोल्ट्रीको फिडर्स (केजहरू ठूला, मिडियम र साना आकारमा) उत्पादन सुरु गरेको छ । त्यसैगरी प्यारेन्ट्स, ब्रोइलर र लेयर्स जातका कुखुराहरूका लागि अटोमेटिक ड्रिङकर्स, निप्पल ड्रिङकिङ सिस्टम उत्पादन भइरहेको जनाइएको छ । कम्पनीमा उत्पादन भएका निप्पल तथा ड्रिङकिङ सिस्टमहरू ठूला ह्याचरी, इनहाउस, मध्यम र साना ह्याचरीहरूमा जडान गर्ने गरिएको कार्यकारी घिमिरेले जानकारी दिए ।

कम्पास एग्रो इन्डष्ट्रिज प्रालिबाट उत्पादित सामग्रीको प्रयोग गरेपछि कुखुराले कहिल्यै पनि फोहरपानी नखाने र चल्ला पनि छिटो हुर्कने तथा कुखुरामा रोग कम लाग्न उनले दाबी गरे । कुनै पनि वितरक, पोल्ट्री व्यवसाय तथा अन्य कम्पनीले आफ्नो लोगो र नामसहित सामान उत्पादन गराउन चाहेमा पनि उद्योगले सोहीअनुसार प्रिन्टसहितको उत्पादन उपलब्ध गराउने उनले बताए ।

नेपालमा स्थापना भएका पोल्ट्री र ह्याचरी उद्योगसँग सम्बन्धित आवश्यक सम्पूर्ण सामान भारत र चीनबाट आयात हुने गरेकामा अब भने स्थानीय उत्पादन प्रयोग गर्न पाइएको वितरक शिव पौडेलले जानकारी दिए । ‘नेपालमा पहिले केही प्लाष्टिक कम्पनीहरूले एउटा-एउटा प्रोडक्टको मात्र उत्पादन गर्ने गर्दथे । तर, कम्पास एग्रोले सबै सामान एकै ठाउँमा उत्पादन सुरु गरेपछि हामी वितरकहरूलाई समेत सहज भएको छ,’ उनले भने, ‘पोल्ट्री उद्योगसँग सम्बन्धित सानादेखि ठूला सबै सामान यही उत्पादन सुरु भएकाले अब भारत र चीनबाट सामान ल्याउनुपर्ने बाध्यता हटेको छ ।’

कम्पनीले उत्पादन गरेका सामान आफूहरूले देशका विभिन्न सहरमा पठाइरहेको उनको भनाइ छ । यहाँ उत्पादन भएको सामान बाहिरबाट ल्याएको भन्दा रु २०-२५ सस्तो पर्ने गरेको जनाइएको छ । ‘यहाँका सामान प्रयोग गर्दा साना-साना सामान हराउने, फुट्ने समस्या भएको छैन,’ उनले भने, ‘बाहिरबाट ल्याउँदा एउटा फिडरको सानो सामान पाइएन भने पूरै फिडर फेर्नुपर्छ । तर कम्पास एग्रोले सबै फेर्न मिल्ने सामान उपलब्ध गराएको कारण यसले डिलरहरू र ग्राहक दुवैलाई सजिलो भएको हामीले पाएका छौं ।’

कम्पासका सबै उत्पादन गुणस्तरीय भएको उद्योगका प्रमुख कार्यकारी अधिकृत घिमिरेले दाबी गरे । ‘हाम्रो कम्पनीले हरेक उत्पादनको तीनवटा क्वालिटी बनाउने गरेको छ । सानो, मध्यम र उच्च दरको फरक-फरक मूल्य तोकिएको छ,’ उनले भने, ‘थोरै लगानीमा थोरै समय कुखुरा पाल्छु भन्ने किसानले धेरै लगानी गर्ने कुरा भएन । यसलाई पनि मध्यनजर गर्दै कम्पास एग्रोले सामान उत्पादन गरेको छ ।’ कसरी हुन्छ किसानलाई सहज बनाउने भन्ने नै आफूहरूको प्रमुख उद्देश्य रहेको उनले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.