ललिता निवासदेखि साइकल खरिद प्रकरणको अनुसन्धान भइरहेको छ : अख्तियार

  २०७९ भदौ ३१ गते १८:३७     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले आयोगले साना मात्रै नभएर ठूला भ्रष्टाचारका मुद्दाको अनुसन्धान गरिरहेको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले आज यहाँ आयोजना गरेको भ्रष्टाचार नियन्त्रण एवं सुशासन प्रवद्र्धनमा सहकार्यसम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा आयुक्त सिलवालले ठूला भ्रष्टाचारका मुद्दाको पनि अनुसन्धान गरिरहेको उल्लेख गरे ।

सहभागीले ठूलालाई छाडेर साना मुद्दामा आयोग केन्द्रित भएको गुनासो गरेपछि त्यसको जवाफ दिँदै उनले ललिता निवासको जस्तै धेरै मुद्दाको अनुसन्धान भइरहेको जानकारी दिए ।

सरकारी सम्पत्ति दुरुपयोगका विषयमा महत्वपूर्ण अनुसन्धान भइरहेको उनको भनाइ थियो । मधेश प्रदेशको साइकल खरिद प्रकरणलगायत महत्वपूर्ण अनुसन्धान आयोगले गरिरहेको सिलवालले बताए । भ्रष्टाचार निवारण ऐन, २०५९ मा बनेको भन्दै उनले संसोधन हुन नसक्दा समस्या देखिएको बताए ।

उनले भने, ‘भ्रष्टाचार निवारण ऐन २० वर्षसम्म जस्ताको तस्तै त्यहीँ ठाउँमा रहेको छ ।’ सिलवालले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर काम नगर्न पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई सुझाव दिए । पालिकाका प्रमुख, उपप्रमुख एवं भ्रष्ट्राचार निवारणका क्षेत्रमा काम गरेका सङ्घ संस्थाका प्रतिनिधि एवं सहभागीले राखेका जिज्ञासाको उनले जवाफ दिएका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले ऐन कानुन सबैलाई समान भएको भन्दै भ्रष्टाचार नियन्त्रणमा सबै एकजुट हुनुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले समाजका सबै तह र तप्काको सहयोग बिना भ्रष्टाचार निवारण गर्न नसकिने बताए । सो अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँँडाका प्रमुख नरहरि घिमिरेले भ्रष्टाचारका कारण, असर, लागत, आयोगसम्बन्धी संवैधानिक व्यवस्था, काम कर्तव्य, अधिकारलगायत विषयमा कार्यपत्र पेश गरेका थिए ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले गलत नीतिका कारण भएका नोक्सानको सुनुवाई गर्ने निकाय नहुँदा नीजि क्षेत्र प्रभावित बनेको बताए । कार्यक्रममा जिल्लाका पालिकाका प्रमुख र उपप्रमुखले काम गर्दा भए गरेको अफ्ठ्याराका विषयमा प्रश्न गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.