टिकट पाएमा पूर्व गभर्नर डा. नेपालको प्रतिस्पर्धा ठाकुर गैरेसँग, जित्ने सम्भावना कसको बढी ?

  २०७९ भदौ ३१ गते १३:३३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जिबी नेपालले आगामी मंसिरमा हुने निर्वाचनमा संघीय सांसदको उम्मेदवार बन्ने तयारी गरिरहेका छन् । नेपाल राष्ट्र बैंक, विश्व बैंक, लगायत विभिन्न संस्थामा लामो समय काम गरेका नेपाललाई नेपाली काँग्रेस पाल्पा जिल्ला कार्यसमितिले निर्वाचन क्षेत्र नम्बर दुई को उम्मेदवारको लागि सिफारिस गरेको छ ।

उम्मेदवारीको लागि सिफारिस हुनेहरुमा नेपालसहित अन्य दुई जना पनि रहेका छन् । तर, नेपालले आफ्नो उम्मेदवारीको विषयमा सम्पूर्ण पार्टी र जनस्तरमा उत्साह भएको र आफुले टिकट पाउनेमा विश्वस्त भएको प्रतिक्रिया दिएका छन् । गठबन्धको तर्फबाट टिकट तय गर्दा पनि आफ्नो उम्मेदवारीमाथि परिचित भएको नेपालको भनाइ छ ।

विगतमा नेपाल राष्ट्र बैंक लगायत विभिन्न क्षेत्रमा रहेर काम गर्दा पाल्पा क्षेत्र नम्बर दुई को विकासका निम्ति आफूले ठूलो भूमिका खेलेको आफुले टिकट पाउनेमा ढुक्क भएको उनको भनाइ छ । पाल्पा जिल्लामा वित्तिय संस्था विस्तारको लागि महत्वपूर्ण भूमिका खेलेको, कतिपय सडक, विद्यालय लगायत क्षेत्रमा विकासको लागि काम गरेको नेपालको भनाई छ । अब पाल्पा, बुटवल, गुल्मी र स्याङ्जा लगायतका जिल्लाको विकासका लागि आफ्नो उम्मेदवारी आवश्यक भएको नेपालले विकासन्युजलाई बताए ।

गभर्नर भएर काम गरिसकेको मान्छे आफ्नो क्षेत्रको विकास गर्नका लागि सांसद बन्नैपर्छ त भन्ने सन्दर्भमा उनले गभर्नर हुँदा आँफूले नेपाल राष्ट्र बैंकको आधुनिकिकरण गर्नेदेखि बैंकिङ क्षेत्रमा सुधार गर्ने धेरै कामहरु गरेको बताए । तर, नेपाल राष्ट्र बैंकमा बसेर नीतिगत तहमा काम गर्न नमिल्ने भएकाले आगामी दिनमा नीतिगत तहमा रहेर मुलुकको विकासका निम्ति काम गर्न इच्छुक रहेको नेपालको भनाइ छ । सांसदमा कानून बनाउने अधिकार भएको हुने हुनाले त्यो ठाउँमा पुगेर धेरै काम गर्न सक्ने उनले बताए ।

सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सडक खण्डमा वर्षौंदेखि देखिएको समस्या समाधान गर्ने विषय नै नेपालले आफ्नो मुख्य चुनावी एजेण्डा बनाएका छन् । ‘पाल्पाको दोभानमा जुन सधँै पहिरो जाने समस्या छ, सोही समाधानको लागि पहिलो र अन्तिम एजेण्डा मेरो त्यही नै हो’, नेपालले भने ।

उनले भने, ‘सिद्धबाबा क्षेत्रको ५/६ किलोमिटर सडकखण्डलाई सुधार गर्दा नै यो पाल्पा र बुटवल क्षेत्रमा ठूलो विकास हुन्छ, पाल्पामा पर्यटनको विकास गर्न र बुटवल बजारको थप विस्तार गर्नका लागि यो अनिवार्य विषय हो ।’ आफ्नै पहलमा ९ वर्षअगाडि सो सडक खण्डमा देखिएको समस्यालाई स्थायी रुपमा कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको भन्दै नेपालले यो बीचमा सो सम्बन्धी निर्णायक रुपमा काम हुन नसकेको बताए ।

आफूहरुले तत्कालिन समयमा गरेको छलफलमा एउटा बिकल्पको रुपमा सुरुङमार्गपनि आएको तर सुरुङमार्ग बन्नुभन्दा अगाडि वैकल्पिक सहज बाटो छिटो तयार गर्नुपर्ने उनी बताउँछन्, ‘निश्चित रुपमा सुरुङमार्ग निर्माण गर्नुभन्दा अगाडि नै सहज बैकल्पिक बाटो बनाउने भन्ने कुरा भैसकेको छ, म नीतिगत तहमा पुगेपछि सम्बन्धित क्षेत्रलाई सक्रिय बनाएर काम गराउँछु’, नेपालले भने ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा रहेको समस्या समाधान भएपछि सो पाल्पादेखि बुटवल क्षेत्रका मानिसहरु रातारात करोडपति बन्नसक्ने नेपाल बताउँछन् । ‘जब त्यो सुरक्षित बाटो हुन्छ, सुरक्षित बाटो भइसकेपछि बुटवलको शहर विस्तार हुँदै जान्छ, उत्तरतिर विस्तार हुनेवित्तिकै त्यहाँ बसेका मानिसहरु रातारात करोडपति हुन्छन्’, उनले भने, ‘जसरी काठमाडौंमा रिङरोड बाहिरको जग्गा कसरी महंगो भयो ? अहिले पहाड डाँडाकाँडाहरु कसरी महंगो भयो ?’

बाटो सहज भएपछि पाल्पामा उत्पादन भएका वस्तुहरु बिक्री गर्न सहज हुने उनको भनाइ छ । साथै रुपन्देही र पाल्पाको छोटो दुरीमा हावापानीमा ठुलो भिन्नता भएकाले सिद्धार्थ राजमार्गमा यातायातको सहजता भइसकेपछि पाल्पामा पर्यटन क्षेत्रको विकासमा सहजता हुने नेपालले बताए । सबैभन्दा महत्वपूर्ण कन्केक्टीभीटी भएकाले राजमार्ग सहज हुनेवित्तिकै वातावरण तयार भएर धेरै कुराहरुको आँफै विकास हुने नेपाल बताउँछन् ।

बुटवलको बजार विस्तार हुन नसक्नुको मुख्य कारण सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा रहेको समस्या भएको बताउँदै नेपालले सो समस्या समाधान भएमा बुटवलको बजार समेत विस्तार हुने बताए । सिद्धार्थ राजमार्गको सडक खण्डलाई व्यवस्थित गर्दा कनेक्टिीभिटी पनि जोडिने, पर्यटन क्षेत्रको विकास हुने, उत्पादन विस्तार हुने र रोजगारी सिर्जना हुने जस्ता सकारात्मक प्रभावहरु देखापर्ने नेपालको भनाई छ । सोही कारणले आफूले आगामी चुनावमा सोही ऐजेण्डालाई मुख्य बनाएर अगाडि बढेको उनले बताए ।

पाल्पा बाइसे चौबिसे राज्यको समयमा पनि बलियो क्षेत्र भएको, राणाकालमा पनि बलियो भएको भन्दै पछिल्लो समय मुख्य कनेक्टिभीटीमा राम्रो गर्न नसक्दा पछाडि परेको नेपालको भनाइ छ । पुरानो एतिहासिक पृष्ठभूमी भएको क्षेत्रलाई संरक्षण गर्दै थप विकास गर्नको लागि कनेक्टिभीटीमा सुधार गर्नु अवको आवश्यकता भएको उनी बताउँछन् ।

‘हरेक कुरामा अगाडि रहेको ठाउँ तर, कनेक्टिीभीटीको कुरामा हामीले ध्यान नदिँदा पाल्पा पछाडि पर्यो’, उनले भने, ‘मैले नै शुरुदेखि उठाएको हो दोभानको विषय, विष्णु पौडेल मन्त्री बन्नुभन्दा ९ वर्ष अगाडि यस क्षेत्रसँग सम्बन्धित १६/१७ जना सभासद बसेर छलफल गरेका हौं ।’ आफूले शंकर पोखरेल मुख्यमन्त्री बन्दा पनि दोभान क्षेत्रको विषयलाई उनीसमक्षा राखेको तर सो सम्बन्धमा थप काम हुन नसकेको बताए ।

टिकट पाए जित्ने सम्भावना कति ?

गठबन्धनको तर्फबाट नेपालले टिकट प्राप्त गरेमा गत बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको नतिजालाई हेर्दा उनले चुनाव जित्न सक्छन् भनेर अनुमान गर्न सकिन्छ । पाल्पाको निर्वाचन क्षेत्र नम्बर दुईमा ५ वटा पालिका पर्छन् । जसमा तानसेन नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, रिब्दिकोट गाउँपालिका, तिनाउ गाउँपालिका र बगनासकाली गाउँपालिका रहेका छन् । गत बैशाखमा भएको निर्वाचनमध्ये अधिकांश स्थानीय तहमा नेपाली कांग्रेश र माओवादीका उम्मेदवारले बिजयी हासिल गरेका थिए ।

पाल्पाको निर्वाचन क्षेत्र नम्बर दुईमा पर्ने पालिकाहरुमा गत वैशाखमा भएको निर्वाचनमा अहिले गठबन्धनमा रहेका दलहरुले ५ वटा पालिका मध्ये ३ वटा पालिकाको प्रमुखमा बिजयी हासिल गरेका थिए भने २ वटा पालिकाको प्रमुखमा एमालेले बिजयी हासिल गरेको थियो । मतको आधारमा हेर्दा सो निर्वाचन क्षेत्र नम्बर अन्तर्गत पर्ने पालिकाहरुको प्रमुखमा वर्तमान गठबन्धनमा रहेका दलहरुले प्राप्त गरेको मत ३३ हजार ७ सय १९ थियो । जहाँ एमालेले ३२ हजार ८ सय २१ मत प्राप्त गरेको थियो ।

गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा तानसेन नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ ११ हजार २ सय ७३ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ मत प्राप्त गरेका थिए । उपप्रमुखमा गठबन्धनबाट (नेकपा माओवादी केन्द्र)की प्रतीक्षा सिँजाली ११ हजार १ सय ५१ मत प्राप्त गरी विजयी भएकी थिइन् । यस हिसाबले पनि सो नगरपालिकामा गठबन्धन नै बलियो देखिन्छ । तानसेनमा २०७४ को निर्वाचनमा प्रमुख, उपप्रमुख दुवै पदमा एमाले फराकिलो मतान्तरले विजयी भएको थियो ।

यस्तै, पाल्पाकै क्षेत्र नम्बर दुईमा पर्ने रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाटै नेपाली कांग्रेसका रुक्मांगत भट्टराई र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापा विजयी भएका थिए । कांग्रेसका भट्टराईले ६ हजार ६ सय ४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका रामबहादुर राउतले ६ हजार १ सय ४५ मत पाएका थिए । उपाध्यक्षमा माओवादी केन्द्रका थापाले ६ हजार ३ सय ७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी गीता भट्टराई घिमिरेले ५ हजार ७ सय ६१ मत प्राप्त गरेकी थिइन् । यस गाउँपालिमामा पनि गठबन्धन नै अगाडि देखिन्छ ।

पाल्पाकै रिब्दिकोट गाउँपालिकामा पनि गठबन्धन नै विजयी भएको थियो । गठबन्धनतर्फका नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणबहादुर कार्कीले ५ हजार ७०४ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नारायणबहादुर जिसीले चार हजार ७२६ मत पाएका थिए । उपाध्यक्षमा गठबन्धनकै नेपाली कांग्रेसकी उम्मेदवार कान्ता अधिकारी पाँच हजार ४७९ मत पाएर विजयी भएकी थिइन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार लक्ष्मी खनालले ४ हजार ९२६ मत मात्रै प्राप्त गरेकी थिइन् ।

यस्तै, तिनाउ गाउँपालिका र बगनासकाली गाउँपालिकामा एमाले विजयी भएको थियो । तिनाउ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रेम श्रेष्ठले ५ हजार ९० मत ल्याएर विजयी भएका थिए भने गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठले ४ हजार ४ सय ६६ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका लालबहादुर थापाले ५ हजार ८२ मत प्राप्त गरेर विजयी भएका थिए ।

बगनासकाली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका थिए । अध्यक्षमा नेकपा एमालेकी सरस्वती दर्लामी (चिदी) र उपाध्यक्षमा हरि पाठक विजयी भएका थिए । अध्यक्षमा विजयी भएकी दर्लामीले ६ हजार ४ सय ६६ मत प्राप्त गरेकी थिइन् भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सुनिता अधिकारीले ५ हजार ६ सय ३३ मत पाएकी थिइन् ।

पाँच वटा पालिका रहेको चितवन क्षेत्र नम्बर दुईमा तीन वटा पालिकामा गठबन्धन र दुइटामा नेकपा एमाले विजयी भएको देखिन्छ । चिरञ्जिवी नेपाललाई गठबन्धनले उम्मेदवार बनाएमा जित्ने सम्भावना बढी देखिन्छ ।

ठाकुर गैरेसँग भिडन्त

पाल्पा क्षेत्र नम्बर दुईबाट एकल रुपमा सिफारिस भएका नेकपा एमालेका नेता ठाकुर गैरेसँग गठबन्धनका उम्मेदवारले प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । एमाले पोलिटब्यूरो सदस्य रहेका ठाकुर एमालेमा अवसर नपाएका नेताका रुपमा पनि चिनिन्छन् ।

काँग्रेसबाट क्षेत्र नंं दुईमा डा. चिरञ्जिवी नेपालसँगै वीरबहादुर राना, हरि प्रसाद नेपाल र सिफारिस भएका छन् भने माओवादी केन्द्रले अनिल किशोर घिमिरे र कोशल राज न्यौपानेको नाम सिफारिस गरेको छ । एकिकृत समाजवादीले लेखनाथ पोखरेल सिफारिस गरेको छ ।

तर, पाल्पा क्षेत्र नम्बर दुईमा एकिकृत समाजवादीले टिकट पाउने सम्भावना बढी देखिन्छ । गठबन्धनबीच भएको हालसम्मको सहमति अनुसार पाल्पा दुईमा समाजवादीले पाउन सक्छ । सो क्षेत्रमा समाजवादीले टिकट पाएमा एमालेका गैरे र समाजवादीका पोखरेलबीच प्रतिस्पवर्धा हुनेछ । तर, काँग्रेसले पाएको खण्डमा भने डा. नेपालले गैरेसँग प्रतिस्पर्धा गर्नु पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.