विपद्मा परेको पाकिस्तानलाई नेपालले दियो राहत सामग्री

  २०७९ भदौ २८ गते १७:४६     विकासन्युज

काठमाडौं । नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई उपलब्ध गराएको मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ । राहत सामग्री लिएर आएको टोलीले केहीबेर अगाडि कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा आज (भदौ २८ गते) आयोजित कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता सेवा लम्सालले पाकिस्तानको सिन्ध प्रान्तका समाज कल्याणमन्त्री सजिद जोखियोलाई सहायता सामग्री हस्तान्तरण गरे ।

अत्यावश्यक औषधि, खाद्यान्न, लत्ताकपडालगायत २२ टनभन्दा बढी सामग्री हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयका प्रवक्ता लम्साल नेतृत्वको नेपाली प्रतिनिधीमण्डल आजै यहाँ आएको हो । पाकिस्तानमा हालै आएको भारी वर्षाका कारण यहाँको जनजीवन अस्तव्यस्त भएको थियो भने हजारौं घर डुबानमा परेका थिए ।

उक्त सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजमार्फत पाकिस्तानको कराँची सहर ल्याइएको हो । यसअघि उक्त टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा नारायण खड्काले बिदाई गरेका थिए । उक्त प्रतिनिधी मण्डल आजै साँझ काठमाडौं फर्कने कार्यक्रम छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.