कमला–ढल्केबर–पथलैया सडक ४ लेनमा विस्तार गरिने, ६४ अर्ब खर्च लाग्ने 

  २०७९ भदौ २८ गते १३:४९     विकासन्युज

काठमाडाैं । सरकारले पूर्व–पश्चिम राजमार्गको कमला–ढल्केबर–पथलैया सडक चार लेनमा विस्तारका लागि यो वर्ष प्रक्रियाअघि बढाउने भएको छ ।

विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा ‘स्टाटेजिक रोड कनेक्टिभिटि एण्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट’अन्तर्गत सडक विस्तार अघि बढाउन लागिएको सडक विभागले जनाएको छ ।

सो सडक चार लेनमा विस्तार गर्न लागिएको भए पनि सहरी क्षेत्रमा दायाँबायाँ दुवैतर्फ ‘सर्भिस लेन’ थप एकएक लेनमा निर्माण गरिने र विभिन्न स्थानमा सवारीसाधनका लागि ‘अण्डर पास’ तथा ‘ओभर पास’ निर्माण तथा जनावरका लागि सडक पार गर्न संरचना बनाइने विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए । उनले भने, ‘झण्डै आठ ठाउँमा जनावरका लागि पास बनाइने गरी डिजाइन भइरहेको छ ।’

वातावरणीय अध्ययन तथा सर्वेक्षणको काम सम्पन्न भएर सडक तथा पुलहरु डिजाइन भइरहेको छ । जम्मा १३० किमी लम्बाइको सडकमा झण्डै ७६ पुल निर्माण हुने भएको छ । बागमती, बकैया र कमला खोलामा गरी तीन स्थानमा ‘सिग्नेचर पुल’ निर्माण गरिने भएको छ । डिजाइनमा नै सवारीसाधन एक सय किमी प्रतिघण्टाका दरले गुड्ने गरी र कतिपय स्थानमा ७५ किमी गुड्नसक्ने छ ।

सडक विस्तारका लागि जग्गा अधिग्रहण गर्न नपर्ने भएपनि कतिपय स्थानमा भइरहेका संरचना हटाउनुपर्ने हुनसक्ने महानिर्देशक थापाले बताए । उनले भने, ‘केही पसल र घरका थोरै संरचना हटाउनुपर्ने हुनसक्छ ।’ उक्त सडक सन् २०२७ सम्ममा निर्माण गरिने अनुमान गरिएको र यसको लागत अनुमान ६४ अर्ब रहेको छ ।

सरकारले पूर्वपश्चिम राजमार्गको सबै खण्ड चार लेनमा विस्तार गर्ने गरी प्रक्रिया अघि बढाएको छ । कतिपय खण्डमा निर्माण अघि बढी सकेको छ भने कतिपय प्रक्रियामा रहेको छ । विस्तार भइरहेका सबै खण्डमा सहरी क्षेत्रमा ‘सर्भिस लेन’ निर्माण गर्ने गरी डिजाइन भएको छ । आरक्षण क्षेत्र आसपासका क्षेत्रमा जनावरमैत्री सडक निर्माण गरिने भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.