बाटोको कारण ४० वर्ष बित्दा पनि फेरिएन धनकुटाको बुधबारे बजार

  २०७९ भदौ २५ गते ११:५४     विकासन्युज

धनकुटा । सडक सञ्जालले छोएको ४३ वर्ष बितिसक्दा पनि धनकुटा जिल्लाको सदमुकामबाट सुदुरपूर्वमा रहेको छ नं.बुधबारे बजार ग्रामीण सहरको स्तरबाट उठ्न सकेको छैन ।

त्यही सहरको ४४ किमि पूर्वमा रहेको भेडेटार बजारलाई सडक सञ्जालले छोएको ४६ वर्षमा पूर्वको प्रमुख पर्यटकीय गन्तव्य र महँगो पर्यटकीय नगरी पनि बन्यो । तर, तीन वर्षपछि सडक सञ्जालले छोएको धनकुटा, पाँचथर र मोरङको सङ्गममा रहेको बुधबारे बजारको अवस्था चार दशक बितिसक्दा पनि उस्तै छ ।

जिल्लाको सदरमुकामबाट ८० किमि दक्षिण–पूर्व र भेडेटारबाट ४४ किमि पूर्वमा रहेको यो बजार साविक ६ नं बुधबार गाविस हाल चौबिसे गाविसको वडा नं १ मा पर्दछ । हाल एक सय ५० घरधुरी रहेको उक्त बजार आधा धनकुटा र आधा पाँचथरमा रहेको छ । यो बजार इलाम, पाँचथर, धनकुटा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानबाट सुनसरी, मोरङ र झापा जिल्ला जाने सङ्गमस्थल पनि हो ।

यो बजार पूर्व–पश्चिम महेन्द्र राजमार्गको कानेपोखरी(मोरङ)बाट ३५ किमिको दूरीमा पर्छ भने भेडेटार सोही राजमार्गको इटहरी (सुनसरी)बाट ३३ किलोमिटरको दूरीमा रहेको छ । विसं २०३३ मा तत्कालीन राजा महेन्द्रले धरान धनकुटा ५२ किमि कोसी राजमार्गको शिलन्यास गरेपछि भेडेटारलाई सडक सञ्जालले छोएको थियो । उता पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले आफू प्रधानमन्त्री भएको समयमा २०३६ सालमा लेटाङ–६ नं बुधबारे सडकको शिलन्यास गरी कच्ची सडक विस्तार गरेका थिए ।

विसं २०३८ मा कालोपत्रे भएको भेडेटार २०५२ सालको माओवादी सशस्त्र द्वन्दका कारण केही समय सुनसान भए पनि २०६४ साल पछि पर्यटकको भीड बढेर समृद्ध बन्यो । अहिले भेडेटार र आसपासका क्षेत्रमा चीसो वातावरण र प्राकृतिक दृश्यपान गर्न पूर्वी तराई र विहार, उत्तर प्रदेश, पश्चिम बङ्गाल क्षेत्रका भारतीय पर्यटक र सवारीको घुइँचो लाग्ने गर्दछ तर उति नै दूरीमा रहेको उस्तै वातावरण र पर्यटकीय गन्तव्य भएको बुधबारे बजार भने दीगो सडक सञ्जाल नहुँदा लामो समयदेखि आज पनि ग्रामीण बजारकै रुपमा रहेको छ ।

विसं २०३६ मा लेटाङ–बुधबारे सडक शिलन्यास पछि सडक निर्माणमा काम गर्नुभएका सोही बजारका ५२ वर्षीय आनन्दकुमार श्रेष्ठले अहिले पनि बाटो पहिलेकै अवस्थामा भएकाले बजारको विकास हुन नसकेको बताए । ‘बर्खाले बाटो बगाएर अहिले पनि मान्छे हिँड्ने बाटो खनेर हिँड्नुपर्छ’, श्रेष्ठले भने, ‘कालोपत्रे नभएसम्म बाटोको अवस्था उस्तै हो ।’ यस सडकको सुधार र स्तरोन्नतिका लागि नेपाल सरकार तथा विभिन्न दातृ निकायले सकम खर्च गरे पनि सडकको अवस्था झन बिग्रिएको वडा अध्यक्ष देवेन्द्र श्रेष्ठले जानकारी दिए ।

पटक–पटक स्तरोन्नति गरे पनि सडक चुरे क्षेत्रमा रहेकाले हरेक वर्ष बर्खाको बाढीले बागाएर बाटो नै हराउने गरेकाले बजार प्रभावित हुँदै आएको उनले जानकारी दिए । ‘कालोपत्रे नगरुञ्जेल बाटोमा गाडी चल्न सक्ने अवस्था नै छैन । पहुँच नभएका हामीजस्ताको मार्का कस्ले बुझ्ने ?’ श्रेष्ठले दुःखेसो गरे । बजार उत्थानका लागि बाटोलाई कालोपत्रे गर्न केन्द्रमा हरेक वर्ष दुई–तीन पटक धाए पनि सबैले हुन्छ भनेर कसैले सहयोग नगरेको श्रेष्ठले गुनासो गरे ।

जति स्तरोन्नति ग¥यो त्यति बिग्रने उक्त सडक पहिला केही राम्रो हुँदा यहाँ लाग्ने साप्ताहिक बजारमा मोरङका व्यापारीले भरिभराउ हुने गरे पनि अहिले एक जना पनि आउने नगरेको सोही बजारका राजकुमार श्रेष्ठले जानकारी दिए । अहिले उक्त स्थान भएर जाने निर्माणाधीन भेडेटार–रवी–राँके राजमार्ग अवरुद्ध भइरहने भएकाले हरेक दिन जमघट हुने बुधबारे बजार थप सुनसान भएको उनले दुखेसो गरे ।

धेरै भू–भाग मोरङ जिल्लामा पर्ने भएकाले आफूहरुले कालोपत्रेका लागि मोरङका सांसदसँग पहल गरिरहेको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिए ।
‘कालोपत्रेका लागि बजेट परेर शिलन्यास हुन लागेको जानकारी आएको छ’, लिम्बूले भने । दिगो सडक नहुँदा हाल यस बजार हुँदै धनकुटा, पाँचथर र इलामबाट मोरङ, सुनसरी र झापासम्म ठूला सवारी नचल्ने तर महँगो भाडा लिएर साना जिप मात्र जोखिम मोलेर जाने गरेका छन् । बजारबाट ३० किमि लेटाङ जान प्रतिव्यक्ति सात सय ५० भाडा लिने गरिएको छ ।

बाटोमा पहिरो झरिरहने जोखिमका साथै अत्यधिक सामान टुटफुट हुने गरेकाले भाडा महँगो लिनुपरेको १९ वर्षदेखि जिप चलाउँदै आएका मे१ज ७१९ का ४० वर्षीय चालक विनोद श्रेष्ठले जानकारी दिए । निकट भविष्यमा महेन्द्र राजर्मागको मापदण्डमा कालोपत्रे हुन लागेको भेडेटार–रवी–राँके सडक निर्माण पूरा भई लेटाङबाट बजार–बुधबारेसम्म कालोपत्रे भएमा यस क्षेत्रको दु्रत गतिमा विकास हुने देखिन्छ ।

बजारको शिरमा दार्जिलिङको टाइगरहिलभन्दा मौसम सफा रहने दुई हजार ५०० मिटर अग्लो मिक्लाजुङ डाँडा र आधा दर्जन जति प्रवद्र्धनका पर्खाइमा रहेको ताल, सिमसार र झरना रहेका छन् । सडक पहुँच नहुँदा महेन्द्र राजमार्गबाट ३५ किमि उत्तरमा रहेको यस क्षेत्रलाई छाडेर यहाँबाट पश्चिममा रहेको भेडेटारमा करिब ७० किमिभन्दा बढीको दूरी पार गरेर पश्चिमी क्षेत्रका भारतीय पर्यटक जाने गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.