यी हुन् १२ पासपछि बैंकर, उद्यमी र व्यवस्थापक बन्न खोज्नेले पढ्ने विषय

  २०७९ भदौ २० गते १३:५१     विकासन्युज

काठमाडौं । कक्षा १२ को परिक्षाको नतिजा आएसँगै उत्तिर्ण भएका विद्यार्थीहरुलाई विश्वविद्यालय तहमा अध्ययनको लागि ढोका खुलेको छ । आ–आफ्नो अनुकुलतामा विभिन्न विषय लिएर अध्ययन गरेका र उमेरका हिसाबले श्रम बजारमा प्रवेश गर्न योग्य भैसकेका व्यवस्थापन संकायका विद्यार्थीहरुले कुन विषय लिएर पढ्दा व्यवहारिक हुनसक्छ ? नेपालको बजारमा वा विदेशी बजारमा व्यवस्थापनको क्षेत्रमा कुन विषय लिएर पढेका जनशक्तिको माग रहेको छ ? नेपालमा कुन विश्वविद्यालयले स्नातक तहको व्यवस्थापन संकायमा कस्ता विषयहरु पढाइरहेका छन् ? विद्यार्थीले जीवनउपयोगी विषय कसरी रोज्ने ? यी र यस्तै विषय विद्यार्थीहरुकाे जीवनका लागि पनि महत्वपूर्ण हुन्छन् ।

नेपालमा सञ्चालनमा रहेका अधिकांश कलेजहरुले मुख्यतः ठुला विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । नेपालका मुख्य विश्वविद्यालयहरुमध्ये त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गत सञ्चालन गर्ने शैक्षिक कार्यक्रमको विषयमा यहाँ चर्चा गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हो । सो विश्वविद्यालयले स्नातक तहको व्यवस्थापन संकायमा १० वटा विषयहरुको सञ्चालन गर्ने गरेको छ । जसमा बिबिएम, बिबिएस, बिएचएम, बिआइएम, बिएमटिएम, बिएमएस, बिपिए, बिटिटिएम, बिबिए र बिबिएफ रहेका छन् ।

काठमाडौं विश्वविद्यालयले व्यवस्थापन संकायअन्तर्गत ५ वटा विभागीय विषयहरुमा कोर्षहरुको विकास गरेको छ । जसमा वित्त, अर्थशास्त्र र लेखा, मानव स्रोत तथा साधारण व्यवस्थापन, सूचना तथा सञ्चार व्यवस्थापन, सूचना तथा विज्ञान र बजार तथा रोजगार रहेका छन् । जसमा विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गत बिबिए, बिबिआइएस र बिएचएम विषयको अध्यापन सञ्चालन गर्ने गरेको छ ।

पोखरा विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गत ६ वटा विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । जसमा व्यवसायिक प्रशासन, बैंक तथा बीमा प्रशासन, कम्प्युटर सूचना प्रणाली, होटल व्यवस्थापन र स्वास्थ्य हेरचाह व्यवस्थापन रहेका छन् ।

त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयले बिबिए, बिबिए बैैंकिङ एण्ड इन्स्योरेन्स, बिबिए ट्राभल एण्ड टुरिजम, बिसिआइएस, बिएचएम र बिचसिएम कोर्ष सञ्चालन गर्ने गरेको छ ।

कुन विषय पढ्दा कुन क्षेत्रमा सम्भावना बढी ?

काठमाडौं मोडेल कलेजका प्राध्यापक प्रदिप पराजुली बिबिएम कोर्ष पढेर विद्यार्थीहरुले आफुलाई उद्यमी बन्न र विभिन्न क्षेत्रमा रोजगार प्राप्त गर्नको लागि योग्य हुने बताउँछन् । उनले सेमेस्टर प्रणालीमा पढाई हुने ४ वर्षे बिबिएम कोर्ष पढेपछि विद्यार्थी आँफै उद्यमी बन्न सक्ने वा मध्यम तहको व्यवस्थापक सम्म बन्न सक्ने उनको भनाइ छ ।

पोखरा विश्वविद्यालयले तयार गरेको बिबिए–बिआई कोर्ष ८ सेमेस्टरमा पढाइ हुने गर्दछ । यो मल्पी इन्टरनेशनल कलेज काठमाडौंका प्राध्यापक प्रतिक शर्माकाअनुसार बिबिए–बिआई कोर्षको ३ सेमेस्टरसम्मको विषय बिबिएसँग मिल्छ, त्यसपछिका सेमेस्टरमा भने बीमा र बैंकिङ क्षेत्रलाई जोड दिइएको हुन्छ । बिबिए–बिआई अध्ययन गरेपछि बैंकिङ क्षेत्र र बीमा क्षेत्रमा काम गर्नको लागि सो विद्यार्थी सक्षम हुने प्राध्यापक शर्माले बताए ।

विश्वविद्यालयहरुले सञ्चालन गर्दै आएको वाणिज्य शास्त्रको सट्टामा विकास भएको नयाँ कोर्ष हो बिबिए । बिबिए कोर्षलाई सबै विश्वविद्यालयहरुले सेमेस्टर प्रणालीमा सञ्चालन गर्ने गरेका छन् । ८ सेमेस्टरमा पढाइ हुने बिबिएमा विद्यार्थीहरुले ४० वटा विषय पढ्नुपर्ने हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्राध्यापक अमित गुप्ता बताउँछन् । जुनसुकै संकायबाट कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीले पढ्न पाउने सो विषय पढेपछि विद्यार्थी जुनसुकै फिल्डमा काम गर्न जानको लागि योग्य हुने उनको भनाइ छ ।

स्नातक तहमा अध्यापन हुने बिएचएम विषय सबै विषय पढेका विद्यार्थीहरुले पढ्न सक्ने विषय हो । जसमा किचन, सर्भिस, हाउसकिपिङ, फ्रन्टअफिस, आदि लगायतका विषयहरु पर्दछन् । होटलमा खाना कसरी बनाउने, कसरी गेष्टहरुलाई सर्भिस दिने, रुमहरुको व्यवस्थापन कसरी गर्ने, गेष्टहरुलाई आतिथ्यता कसरी टक्र्याउने, आदि लगायतका व्यवहारिक विषयहरु विएचएम लेभलमा अध्ययन गरिन्छ ।

मुलतः जसले भोकेस्नल कोर्षहरु सिक्न खोजिरहेको हुन्छ वा सैद्धान्तिक भन्दापनि प्राक्टिकल बेसमा बसेर काम गर्ने रुची भएको विद्यार्थीका निमित्त निकै उपयोगी र व्यवहारिक विषय मानिन्छ । होटल म्यानेजमेन्टको अध्ययन गरिसकेपछिको उपयोगिताको क्षेत्र धेरै नै बृहत रहेको छ । पहिलो त होटलमा धेरै भूमिकामा काम गर्न सकिन्छ । ट्राभल एण्ड टुरिजम क्षेत्रमा टिकेटिङ अफिसर, दोभासेलगायतको काम गर्न सकिन्छ ।

त्यस्तै एयरलाइन्सको क्षेत्रमा प्लेनभित्र किचनको काम गर्ने, यात्रुहरुलाई खानाको सर्भिस गर्ने लगायत कामहरुमा होटल म्यानेजमेन्ट अध्ययनको आवश्यकता र महत्व रहेको छ । फिटनेस सेन्टरहरुमा डाइटिसियनको रुपमा पनि काम गर्न सकिन्छ । न्युट्रेसन क्षेत्रमा, खाना तथा खाजाहरुको मेनुमार्फत् सन्तुलित भोजन निर्माण गर्ने कुरामा यसको महत्वपूर्ण भुमिका रहेको हुन्छ ।

स्नातक तहको हेल्थ केयर म्यानेजमेन्ट ४ वर्षे शैक्षिक कार्यक्रम हो । यो कार्यक्रम व्यवसायिक हेल्थ केयर जनशक्ति उत्पादनको लागि डिजाइन गरिएको हो । यो कोर्षमा स्वास्थ्य योजना निर्माण, वृहत अर्थशास्त्र, व्यवसायिक सूचना, अस्पताल योजना, स्वास्थ्य प्रणाली र नीति तथा कार्यक्रम निर्माण सम्बन्धी अध्ययन गरिन्छ । अंग्रजी विषयमा राम्रो क्षमता भएका कक्षा १२ अध्ययन सकेका विद्यार्थीहरुले यो विषय अध्ययन गर्न सक्छन् ।

स्नातक तहको हेल्थ केयर म्यानेजमेन्ट अध्ययन गरिसकेपछि ती विद्यार्थीहरुले सार्वजनिक तथा निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुको व्यवस्थापकीय नेतृत्व वा सञ्चालनमा सहभागी भएर काम गर्न सक्छन् । नोवेल कलेज व्यवस्थापन संकायका प्रमुख ज्ञानेन्द्र चौलागाईंका अनुसार यो विषय पढेपछि विद्यार्थीहरु अस्पताल मात्रै नभएर एनजिओ, आइएनजिओ र डब्लुएचओ लगायतले सञ्चालन गर्ने स्वास्थ्य कार्यक्रममा समेत सहभागी भएर काम गर्ने क्षमता राख्दछन् ।

बिपिएच अर्थात् ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी मुख्यत हस्पिटालिटी उद्यमसँग सम्बन्धित विषय हो । काठमाडौं युनिभर्सिटीले सञ्चालन गरेको यो कार्यक्रम सीमित कलेजहरुले मात्रै सञ्चालन गरेका छन् । गर्दै सिक्दैमा आधारित यो कोर्ष कक्षा १२ पास भएका विद्यार्थीले पढ्ने व्यवहारिक विषय हो । ८ सेमेस्टरमा अध्यापन हुने यो विषय पढिसकेपछि हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित पर्यटन क्षेत्रका धेरै विधाहरुमा काम गर्न सक्छन् । पछिल्लो समय नेपालमा हस्पिटालिटी क्षेत्रको विस्तार हुने क्रम रहेको छ ।

बिपिए अर्थात् ब्याच्लर अफ पब्लिक एडमिनिस्ट्रेसन त्रिभुवन विश्वविद्यालले विकास गरेको ४ वर्षे कार्यक्रम हो । ८ सेमेस्टरमा पढाइ हुने यो कोर्ष सार्वजनिक क्षेत्रमा प्रशाशन तथा व्यवस्थापकीय काम गर्नको लागि तय गरिएको हो । बिपिए पढिसकेपछि सार्वजनिक क्षेत्रको व्यवस्थापन तथा अनुसन्धान, सार्वजनिक सेवाको नेतृत्व र विभिन्न संस्थाहरुको नेतृत्वमा रहेर काम गर्न सकिन्छ । नेपालमा सार्वजनिक, सार्वजनिक निजी र निजी क्षेत्रको स्वामित्वमा सार्वजनिक सेवा प्रवाह गर्ने क्षेत्रहरुको विस्तार भइरहेको छ ।

बिआइएम अर्थात् ब्याचलर अफ इन्फर्मेसन आइटी र म्यानेजमेन्टको समायोजन गरेर अध्ययन गरिने विषय हो । यो कोर्षमा व्यवसायिक प्रशासन तथा निर्णय प्रकृयामा सूचना तथा सञ्चार प्रणालीको मिश्रण गरे(र अध्ययन गरिन्छ । सूचना व्यवस्थापन कोर्षमा आधारभूत रुपमा अर्थशास्त्र, कम्प्युटर विज्ञान, र व्यवस्थापनका प्रविधि, विधि र सैद्धान्तिक कुराहरुलाई विश्लेषण गरेर अध्ययन गरिन्छ । पछिल्लो समय सेवा, उद्यम तथा व्यवसायको सम्पूर्ण क्षेत्र आधुनिक व्यवस्थापनमा आधारित हुँदै गएकाले बिआइएम अध्ययनको महत्व बढ्दै गएको छ । यो कोर्षलाई नेपालका विभिन्न विश्वविद्यालयहरुले विभिन्न नाम दिएर सञ्चालन गर्ने गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.