सहकारीका सञ्चालकको तिनपुस्ते विवरण माग, अधिकांशको लगानी घरजग्गामा

  २०७९ भदौ १९ गते १४:०३     विकासन्युज

काठमाडौं । सहकारी विभागले समस्यामा परेका सहकारी संस्थाहरुका सञ्चालकको तीनपुस्ते विवरण माग गरेको छ । पछिल्लो समय एकपछि अको सहकारी संस्थामा समस्या देखिएको र सञ्चालक पनि भाग्ने प्रवृति बढ्दा विभागले समस्यामा परेका सम्पूर्ण सहकारीका सञ्चालकहरुको तीनपुस्ते विवरण माग गरेको हो ।

सहकारी विभागका रजिष्टार रुद्रप्रसाद पण्डितले समस्यामा परेका सहकारी संस्थाहरुका सञ्चालकहरुको तीन पुस्ते विवरण माग गरेको बताए । आइतबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १२औं स्थापना दिवसमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले सो विषयको जानकारी दिएका हुन् ।

‘पछिल्लो समय एकपछि अर्को सहकारीमा समस्या देखिएकाे छ, यसमा हामी सजग भएर काम गरिरहेका छौं, कतिपय सहकारीमा सञ्चालक नै फरार हुने र बचतकर्ताको रकम डुब्नेसम्मको जोखिम हुन सक्छ, त्यसैले पनि समस्यामा परेका सहकारी संस्थाहरुका सञ्चालकहरुको तीनपुस्ते विवरण माग गरेका छौं, तीन पुस्ते विवरण आएपछि सहकारी समस्यामा परेपनि बचतकर्ताको रकम उनीहरुबाट भराउँछौं,’ उनले कार्यक्रममा भने ।

यस्तै, उनले कतिपय सहकारीमा सञ्चालकहरु परिवर्तन भएकोले विवरण पाउन मुस्किल भइरहेको बताए । तर, अधिकांशको विवरण विभागमा आइसकेको उनकाे भनाइ छ ।

उनका अनुसार अहिले केही सहकारीहरुमा तरलताको ठूलो समस्या छ । विभागले अध्ययन गर्दै जाँदा कतिपय सहकारीहरुम एक प्रतिशत पनि तरलता नरहेको भेटाएको हाे । समस्या देखिएका सहकारीहरुले नीति नियमको कुनै प्रवाह नगरी घरजग्गामा लगानी गर्दा एक्कासी समस्या सिर्जना भएको तर्क दिए । धेरै सहकारीहरुले शतप्रतिशत लगानी घरजग्गामा गरेकाे बताए ।

यस्तै, उनले अहिले विभागले सबै सहकारीहरुलाई वित्तीय विवरण प्रकाशितका लागि निर्देशन दिएकोले त्यसले पनि केही तथ्यांक आउने र सहकारीको यथार्थ वस्तुस्थिति देखाउने धारणा राखे । उनका अनुसार फागुनसम्म विभागले नेपालका सहकारीका सम्पूर्ण तथ्यांकहरु सार्वजनिक गर्नेछ ।

उनले आफुले वर्तमान सहकारीको समस्या प्रधानमन्त्री शेरबहादुर देउवा संयोजक रहेको राष्ट्रिय समस्या समाधान समतिमिा पुर्याइसकेको बताउँदै सो समितिले पनि यो समस्यालाई सम्बोधन गर्नेमा आफु विश्वस्त रहेको धारणा राखे ।

उनले अहिले सहकारीका विषयमा धेरै समस्या बाहिरिँदा पनि बचतकर्ताहरुले आत्तिएर आवधिक बचत पनि फिर्ता मागिरहेको बताए । यसले पनि सहकारीलाई एक किसिमको दबाब सिर्जना गरेको बताए ।

पछिल्लो समय सहकारी संस्थाहरुमा पनि मर्जरको विषयले प्राथमिकता पाइरहेको बताउँदै यसमा विभाग सकारात्मक भएको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेबी मल्लले विश्वको अर्थतन्त्रमा नै समस्या आउँदा सहकारीमा पनि केही समस्याको संकेत देखिएको बताइन् । सहकारी संस्थाहरु स्वनियमन, अनुशासन र शुसानको अभ्यास गरिनै रहेको बताउँदै उनले केही सीमित सहकारीको कारण सहकारी क्षेत्र नै बदनामी बन्नु परेको धारणा राखिन् । यसमा सहकारीका सदस्यहरु पनि जिम्मेवार बन्नु पर्ने उनले बताइन् ।

यस्तै, उनले विभिन्न बैंकहरुले १० गुणा बढी बचत योजना ल्याएको कारण पनि सहकारीमा केही समस्या आएको बताइन् । ‘मेरो स्मरण भएसम्म बैंकहरुले यस्ता खालको आकर्षक मुद्दति योजना ल्याएका थिएनन्, मानिसहरु सहकारीमै बचत गर्न रुचाउँथे, बैंकहरुले पैसा १० गुणासम्म बढ्ने योजना ल्याएपछि सहकारीहरुबाट पैसा झिकेर बचतकर्ताले पैसा ती योजनाहरुमा राख्ने थाले, तरलतामा समस्या भएकै कारण बैंकहरुले निक्षेप बढाउन त्यस्ता योजनाहरु ल्याए, जसको प्रत्यक्ष असर सहकारीमा परेको हो,’ उनले कार्यक्रममा भनिन् ।

यस्तै, नेपाल नेपाल बचत तथा ऋण केन्द्रिय संघ (नेफ्स्कुन)काक वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले पनि पछिल्लो समय केही सहकारीमा समस्या आएकोले सबै मिलेर त्यस्ता समस्या नआउने वातावरण सिर्जना गर्नु पर्ने धारणा राखे । उनले सहकारीमा संख्यात्मक वृद्धिभन्दा पनि गुणात्मक वृद्धि हुनु पर्ने बताए ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले पनि सहकारी संस्थाहरु गुणस्तरीय हुनु पर्नेमा जोड दिए । सहकारी संस्थाहरुमा तरलताको अभाव हुँदै गएको बताउँदै उनले त्यसमा सजग बन्नु पर्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.