सबै बैंकको ध्यान १० गुणा वृद्धि योजनामा, बीमा बजारलाई धक्का

  २०७९ भदौ १९ गते ९:१६     सीआर भण्डारी

काठमाडौं । गत माघमा नेपाल इन्भेष्टमेन्ट बैंकले वार्षिक उत्सव मनाउँने क्रममा ‘एनआइबिएल गज्जब ६ मुद्दती खाता’ योजना ल्यायो । यसको अवधि २० वर्षे राखियो । अहिले १ लाख बचत गर्नेले २० वर्षपछि ६ लाख पाउने अर्थात बचत रकमको ६ गुणा फिर्ता हुने योजना बैंकले ल्यायो ।

नेपालको बैकिङ इतिहासमा २० वर्ष लामो अवधिको मुद्दती योजना यो नै पहिलो भएको जानकारहरु बताउँछन् । तीन दशकभन्दा बढी बैकिङ क्षेत्रमा काम गरेर गत वर्ष मात्र सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएका दाहालको अनुभवमा अधिकांश नेपालीले १ वा २ वर्ष अवधिको मुद्दती खातामा पैसा राख्छन् । व्यक्तिगत निक्षेपकर्ताले ५ वर्षभन्दा बढी अवधिको मुद्दतीमा पैसा जम्मा गर्न मान्दैनन् । बीमा कम्पनीहरु, कर्मचारी संचय कोष, नागरिक लगानी कोष जस्ता संस्थाहरुले भने उच्च दरको व्याज हुँदा १० वर्ष अवधिको मुद्दतीमा पनि पैसा राख्न रुचाउँछन् ।

नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीको अनुभव पनि त्यस्तै छ । २ वर्षभन्दा बढी अवधिको मुद्दती खातामा पैसा राख्ने निक्षेपकर्ता विरलै पाइने उनले बताए । बैंकहरुले ४० वर्ष अवधिको घर कर्जा दिएको, २५ वर्षसम्मको परियोजनामा कर्जा प्रवाह गर्ने गरेको सन्दर्भमा २० वर्षसम्मको निक्षेप योजना ल्याउन आफैमा राम्रो भएको उनको भनाई छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकका नायव प्रमुख कर्याकारी अधिकृत बिजेन्द्र सुवालले २० वर्ष लामो अवधिको निक्षेप योजना आफूहरुले पहिलो पटक ल्याएको बताए । ‘एनआइबिएल बैंकले पहिलो पटक २० वर्षमा ६ गुणा भनेर ल्याएको हो । यसपछि अरु बैंकहरुले पनि केही फरक सुविधाहरु थपेर यस्तै प्रकृतिको निक्षेप योजना ल्याएका छन्’ उनले भने ।

दीर्घकालका कर्जा प्रवाह गर्ने बैंकहरुले निक्षेप पनि दीर्घकालिन प्रकृतिको ल्याउनु पर्छ भन्ने आवाज आईरहेको समयमा यस्तो योजना ल्याएको पनि उनले सुनाए । ‘दीर्घकाल समयको लागि घर कर्जा, सवारी कर्जा, परियोजनामा ऋण प्रवाह गर्नुपर्छ, एसेट लाइबिलीटी म्यानेज गर्नुपर्छ, कर्जा २५ वर्षको लागि दिने तर निक्षेप १ वर्षको लागि लियो भने एक वर्षपछि त डिपोजिट हुँदैन, त्यसलाई म्याच गर्न लामो अवधिको डिपोजिट राख्ने हो,’ डीसीईओ सुवालले भने ।

१० गुणा योजना, १ खर्ब २८ अर्ब गायब

गत असारमा एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्यायो । उक्त योजनामा अहिले १० लाख रुपैयाँ निक्षेप राख्यो भने १९ वर्ष १० महिनापछि १ करोड रुपैयाँ फिर्ता पाइने एनआईसी एशिया बैंकका ब्राण्डिङ प्रमुख सरोज भट्टराई बताउँछन् । १० गुणा प्रतिफल पाउने मुद्दती योजनामा एनआईसी एशिया बैंक बढी प्रभावकारी रुपमा बजारमा प्रस्तुत भएको अन्य बैंकहरुको बुझाईं छ । यस योजना अन्तर्गत बैंकले साउन महिनामा मात्र १० अर्बभन्दा बढी निक्षेप संकलन गरेको बताइएको छ ।

लगतै कुमारी बैंकले ‘कुमारी धनवृद्धि’ मुद्दती योजना ल्यायो । २० वर्ष ९ महिना ८ दिन अवधिको उक्त योजनामा मुद्दती अवधिपछि एकमुष्ट १० गुणा बढी रकम पाउने उल्लेख छ । निक्षेपकर्ताको व्याजमा लाग्ने कर बैंकले तिर्ने र बचतकर्ताले पाउने १० गुणा रकम पुरै पाउने बैंकले जनाएको छ ।

त्यसपछि सिद्धार्थ बैंक, सिटिजन्स बैंक, एनसीसी बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल बैंक, मेगा बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, सेञ्चुरी बैंक, बैंक अफ काठमाण्डू, नेपाल एसबिआई बैंक, नेपाल बैंक, नबिल बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंकले पनि निक्षेपमा दोब्बरदेखि १० गुणासम्म फिर्ता गर्ने योजना ल्याए ।

‘१० गुणा प्रतिफल’ योजनामा बैंकहरुले लिएको समय भने फरक फरक छ । सिटिजन्ज बैंकले २२ वर्ष १ महिनामा १० गुणा पाउने उल्लेख गरेको छ । सिद्धार्थ बैंकले २१ वर्ष ८ महिना अवधि तोकेको छ । एनसीसी बैंकले २१ वर्ष ६ महिना २८ दिनमा १० गुणा हुने भनेको छ । प्राइम बैंकले १९ वर्ष १० महिना ७ दिनमा १० गुणा पाउने भनेको छ ।

सबैं बैंकले व्यक्तिगत मुद्दती खातामा ११.०३ प्रतिशत व्याज दिने भनेका छन् । तर १० गुणा प्रतिफल योजनामा समय भने २ वर्षसम्मको अन्तर छ । व्याज गणना विधि, व्याज आम्दानीमा कर कट्टी गर्ने र नगर्ने बैंकहरुको फरक फरक नीतिको कारण मुद्दती अवधि फरक परेको नविल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले विकासन्युजसँग बताए । उनले सामाजिक सञ्जालमा नै लेखेका पनि लेखेका छन्- ‘निक्षेप रकमको व्याज भुक्तानी सम्बन्धित स्रोतमा कट्टि गरिनुपर्ने कर गणना तथा भुक्तानी सम्बन्धमा उदाहरणसहित कार्यविधि बनाई राष्ट्र बैंकले निर्देशन जारी गरिदिनु पर्यो ।’

बैंकिङ क्षेत्रमा तरलताको अभाव चर्किएको बेलामा १० गुणा प्रतिफल योजनालाई धेरै बैंकले अनुसरण गरे पनि समग्र बैकिङ क्षेत्रमा निक्षेप बढेको छैन, बरु घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तमा बैकिङ क्षेत्रमा कुल निक्षेप ५१ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको थियो । भदौं १५ गते कुल निक्षेप ५० खर्ब ३१ अर्ब भएको छ । यसअवधिमा एक खर्ब २८ अर्ब रुपैयाँ निक्षेप बैकिङ प्रणालीबाट वाहिर गएको छ ।

नयाँ निक्षेप ल्याउनु भन्दा पनि भएका पुराना निक्षेपकर्तालाई टिकाउन पनि १० गुणा प्रतिफल योजना ल्याउन बैंकर्सहरु वाध्य भएको ज्ञवालीको भनाई छ । निक्षेपमा अधिक पैसा हुनेहरुले छोरा छोरीको नाममा १० लाख राखिदिउ न त, बिहे गर्ने बेलामा काम लाग्छ, उच्च शिक्षामा खर्च गर्न काम लाग्छ भनेर थोरै थोरै रकम २०/२१ वर्ष लामो मुद्दती योजनामा राख्ने गरेको पाइएको उनले बताए ।

बैंकहरुले नयाँ प्रडक्ट ल्याउन नसकेको भनेर उपभोक्ताहरुले टिकाटिप्पणी गरिरहेको बेलामा आफूहरुले नयाँ प्रडक्ट ल्याएको उनको भनाइ छ । ‘एउटै प्रडक्ट भएपछि ग्राहकलाई खल्लो लाग्छ, नयाँ-नयाँ किसिमको प्रडक्ट बजारमा ल्याउँदा ग्राहकलाई रमाइलो हुन्छ, प्रडक्ट ल्याएन भने बैंकले सुतेर खायो भन्छन्, यस्ता प्रडक्ट सधैं आवश्यक छन्, बैंकले पनि कुनै न कुनै प्रडक्ट ल्याइरहेका हुन्छन्,’ उनले भने, ‘अहिले बैंकिङ्ग क्षेत्रमा तरलता अभाव छ, तरलता तान्नकै लागि योजना ल्याइएको हो ।’

बीमा बजारलाई धक्का

बैंकहरुले २ गुणादेखि १० गुणा वृद्धि बचत योजना ल्याएपछि जीवन बीमा कम्पनीहरुलाई धक्का लागेको छ । बीमा गर्दा बीमितले २०/२५ वर्षपछि दोब्बर पाँउछ भनेर बीमा गराउने जीवन बीमा अभिकर्ताहरु अहिले दवावमा परेको जीवन बीमक संघका उपाध्यक्ष एवं सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले बताए ।

‘बीमा गर्नेले दोब्बर रकम पाउँछ भनेर बीमा गराउनु नै मिस गाइड थियो । त्यस्ता कम्पनी वा अभिकर्ताहरुलाई बैंकका २ देखि १० गुणा वृद्धि योजनाले नराम्ररी असर गरेको छ’ पौडेलले भने । सर्बसाधारणले आर्थिक संकटको अनुभव गरेको, बैकिङ क्षेत्रमा तरलताको अभाव भएकोले पनि पछिल्लो समय बीमा बजार सुस्ताएको उनले बताए ।

बैंकहरुको चक्रबर्ती मुद्दती योजना जीवन बीमा योजनाभन्दा पनि कडा भएको बैंकर्स भुवन दाहाल बताउँछन् । ‘जीवन बीमा योजनामा त हरेक वर्ष बीमाशुल्क तिर्दै जान पाइन्छ । तर बैंक मुद्दतीमा त एकैपटक पैसा राख्नुपर्छ’ दाहाल भन्छन्- ‘चक्रबर्ती मुद्दती योजनामा निक्षेपकर्ताले व्याज पनि चलाउन नपाउने भएकोले नगद प्रवाह बन्द हुन्छ ।’ यस्तो योजना बचतकर्ताको लागि सकसपूर्ण हुने र दीर्घकालिन रुपमा बैंकहरुलाई पनि महँगो पर्ने दाहालको विश्लेषण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.