भिजिट भिसामार्फत मानव बेचविखन

  २०७९ भदौ १५ गते १९:१०     विकासन्युज

काठमाडाैं । भ्रमण भिसाको दुरुपयोग गरी मानव बेचविखनका घटना सार्वजनिक हुन थालेपछि प्रहरीले कडा निगरानी थालेको छ ।

यही भदौ ८ देखि ११ गतेसम्ममा प्रहरीले भ्रमण भिसामा जान लागेका झण्डै दुई सय व्यक्तिको कागजात शङ्कास्पद देखिएपछि उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरेको थियो ।

उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा ३९ जनालाई नक्कली कागजात बनाएर भ्रमण भिसा दिई कुवेतमा बेचविखन गर्न लागेको खुलेको प्रहरीको मानव बेचविखन तथा अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । त्यसमा केही व्यक्ति संलग्न रहेका पाइएकाले उनीहरुको खोजीकार्य सुरु भएको उनले बताए ।

नेपाल सरकारले घरेलु कामदार पठाउन रोक लगाएको कुवेतमा पठाउने क्रममा यही भदौ ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पीडितलाई फिर्ता गराएको थियो । पीडितलाई फ्रि–भिसा फ्रि–टिकटमा कुवेतमा घरायसी काममा लगाइदिने र आकर्षक तलब मिल्ने प्रलोभन दिइएको पाइएको छ । ती गिरोहले पीडितको आवश्यक पासपोर्टलगायतका कागजातसमेत आफैँ बनाई महिला र पुरुषलाई काठमाडौँमा ल्याएर राख्ने गरेको खुल्न आएको छ ।

उनीहरुका कागजात जाँच गर्दा नक्कली रहेको फेला परेको छ । गैरकानूनीरूपमा कुवेत लैजान लागेको पुष्टि भएपछि पीडितले आवश्यक कानूनी कारवाहीका लागि ब्युरोमा जाहेरी दिएको मल्लले बताए ।

आरोपीमाथि मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको र खोजीकार्य जारी रहेको ब्युरोले जनाएको छ । उनीहरुको नाम भने ब्युरोले खुलाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.