स्वास्थ्यमा निजी क्षेत्रको वर्चश्व बढ्दो, अन्तर्राष्ट्रिय स्तरको उपचारदेखि हेलिप्याडसम्मको सुविधा

  २०७९ भदौ १४ गते ११:०७     नारायण अर्याल

काठमाडौं । काठमाडौंमा सरकारी र गैरसरकारी वा निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरु सयौंको संख्यामा छन् । ती मध्ये काठमाडौं उपत्यकामा मात्रै ४ सय २७ वटा विभिन्न प्रकृतिका उपचार सेवा प्रदान गर्ने अस्पतालहरु रहेका छन् । संख्यात्मक र उपचार प्रवाहको कोणबाट हेर्दा सरकारी अस्पतालको तुलनामा निजी अस्पतालको संख्या निकै नै धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य उपचार गर्ने संस्थाहरुलाई १६ वटा विशेषतामा वर्गिकरण गरेको छ । जसमध्ये केन्द्रीय अस्पताल र जिल्ला अस्पताल सरकारी तवरबाट सञ्चालन भएको छ । काठमाडौं उपत्यकाभित्र सरकारले ६ वटा केन्द्रीय अस्पतालको सञ्चालन गरेको छ । स्वास्थ्य मन्त्रालयले गरेको बर्गिकरणअनुसार काठमाडौं उपत्यकाभित्र २ सय ९९ वटा विशेष अस्पताल रहेका छन् । ती मध्ये २ सय ९२ वटा विशेष अस्पताल निजी क्षेत्रबाट सञ्चालनमा रहेका छन् । बाँकी मध्ये सरकारी ५ र गैरसरकारी क्षेत्रबाट २ वटा अस्पताल सञ्चालमा रहेका छन् ।

काठमाडौं उपत्यका भित्र सञ्चालनमा रहेका ५ वटा शिक्षण अस्पतालमध्ये ३ वटा निजी क्षेत्रबाट सञ्चालित छन भने २ वटा मात्रै सरकारी तवरबाट सञ्चालनमा रहेका छन् । त्यस्तै मन्त्रालयको वर्गिकरण अनुसार साधारणमा परेका अस्पतालहरु काठमाडौं उपत्यकामा १ सय १६ वटा रहेका छन् । यसरी सञ्चालनमा रहेका साधारण अस्पतालहरुमा ९१ वटा निजी क्षेत्रबाट, ११ वटा सरकारी क्षेत्रबाट, ७ वटा सहकारी क्षेत्रबाट र ७ वटा गैरसरकारी क्षेत्रबाट सञ्चालनमा रहेका छन् ।

मुलुकको राजधानी काठमाडौंमा अधिक मानिसको संख्यासँगै धेरै प्रकारका सेवा सुविधाहरुको पनि केन्द्रीकरण रहेको छ । निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजसहित अस्पतालहरुले ४ हजार भन्दा धेरै बेडहरु सहित उपचार सुविधा उपलब्ध गराउँदै आएको छ । सामान्यतया आर्थिक दृष्टिकोणले हेर्दा निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुमा आम मानिसको पहुँचमा कमी रहेको छ । तर, अहिले सम्मको सार्वजनिक स्वास्थ्य क्षेत्रलाई सरकारले सहि ढंगले व्यवस्थापन गर्न नसकिरहेको सन्दर्भमा निजी क्षेत्रका अस्पतालहरुले त्यसलाई पुर्ति गरिरहेका छन्, अर्थात आम मानिसहरुको स्वास्थ्य उपचारमा योगदान पुर्याइरहेका छन् ।

सरकारी स्वामित्वमा सञ्चालित अस्पतालहरुमा उपचार सेवा लिन आउने मानिसहरुको असाध्यै ठूलो भिडभाड भइरहेको देखिन्छ । सो अवस्थामा निजी क्षेत्रबाट सञ्चालित विभिन्न तहका अस्पतालहरुले उपलब्ध गराएको उपचार तथा अनुसन्धान सेवाले सरकारको स्वास्थ्य सम्बन्धी नागरिक प्रतिको दायित्वलाई पुरा गर्न सहयोग पुर्याएका छन् भन्न सकिन्छ । ठूला अस्पतालहरुमा हेलिप्याडसम्मको सुविधा छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल

सन् २०१० मा ‘हेरचाह सहितको उपचार’ भन्ने नारासहित निजी क्षेत्रका लगानीकर्ताहरुले ग्राण्डी  इन्टरनेशनल हस्पिटलको स्थापना गरिएको थियाे । सो अस्पतालले धेरै विषयहरुमा आकस्मिक, साधारण र गहन उपचार सेवा प्रदान गर्दै आइरहेको छ । साथै अस्पतालले द्रुत उद्दारको विषयलाई पनि सञ्चालन गर्दै आएको छ । अस्पतालले अनुसन्धान, उपचार र प्रयोगशालामा अत्याधुनिक प्रविधिको प्रयोग गर्दैै आएको छ । २ सय बेड सहित सञ्चालन भएको यो अस्पतालले वेलनेस सेन्टरको पनि सञ्चालन गर्दै आएको छ ।

अस्पतालका मार्केटिङ प्रमुख भास्कर दासका अनुसार अस्पतालले दैनिक रुपमा ५ सय जना बिमारीहरुलाई ओपीडी सेवा प्रदान गर्ने गरेको छ । औसत रुपमा दैनिक १५ जना बिमारीहरुले अस्पतालबाट सर्जरीको सेवा लिने गरेका छन् । मार्केटिङ प्रमुख दासका अनुसार अस्पतालले सबै रोगहरुको उपचार गराउने गरेतापनि हाडजोर्नी, युरोलोजी, स्त्रीरोग, नाक–कान–घाँटी लगायतका विमारीहरु उपचारको लागि बढी संख्यामा आउने गरेका छन् ।

मेडिसिटी अस्पताल

निजी क्षेत्रबाट सञ्चालित ठूलो क्षेत्रफलमा फैलिएको मेडिसिटी ठुलो अस्पताल मध्येमा पर्दछ । ७ सय ५० वटा बेड भएको सो अस्पतालले उन्नत स्तरको ल्याब, अप्रेसन कक्ष, अनुसन्धान प्रविधि, ब्लड बैंक र २ हेलिकप्टर प्याड लगायतका विषयहरुको व्यवस्था गरेको छ । अस्पतालले एक संस्था एक डाक्टर, विश्वस्तरीय प्रविधि, सामुहिक बहुविषयगत उपचार पद्दती र परिणाममा आधारित व्यवस्थापन आफ्नो भिन्न विशेषता भएको बताउँदै आएको छ । अस्पतालले आफुलाई सुपर स्पेशियालिटी कन्सेप्टअनुसार अगाडि बढाएको अस्पतालकी सञ्चार अधिकृत मनिता पोखरेल बताउँछिन् । मेडिसिटीमा आगोले जलेका, सर्पको टोकाई र रेडियो अंकोलोजी बाहेकका सबै बिमारीको उपचार हुने उनको भनाइ छ ।

मेडिसिटीमा औसतरुपमा दैनिक १ हजार जना बिमारीले ओपीडी सेवा र २० देखि ३० जना बिमारीले अप्रेसनको सुविधा लिने गरेका छन् ।

ह्याम्स अस्पताल

२ दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहँदै आएको निजी क्षेत्रबाट सञ्चालित ह्याम्स अस्पतालले धेरै रोगहरुको उपचारमा आधुनिक मेडिसिन र सर्जरीमा जोड दिँदै आएको बताउने गरेको छ । ह्याम्स विशेष गरेर क्रिटिकल केयरको उपचारलाई जोड दिने गरेको देखिन्छ ।

ह्याम्स अस्पतालमा औसत रुपमा दैनिक ५ सय जना बिमारीहरु ओपीडीमार्फत उपचारको लागि आउने गर्दछन् । अस्पतालले दैनिक रुपमा ५ जना भन्दा धेरै विमारीलाई सर्जरी सेवा प्रदान गर्ने गरेको छ । ह्याम्समा सबैजसो रोगको उपचार हुने भएपनि विशेषगरी मुटु, हाडजोर्नी, नाक–कान–घाँटी, स्त्रीरोग, न्युरो र युरोलोजी सम्बन्धी बिमारीहरुको बढी चाप हुनेगरेको अस्पतालले जनाएको छ । अस्पतालसँग १ सय ६० जना भन्दा धेरै डाक्टर रहेका छन् भने उपचारको लागि १ सय भन्दा धेरै कोठाहरुको व्यवस्था रहेको छ ।

ओम हस्पिटल एण्ड रिसर्च सेन्टर

बिक्रम सम्बत २०४६ सालमा ओम नर्सिङ होमको रुपमा शुरु गरेर २०५२ सालमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको रुपमा दर्ता भएर सञ्चालन हुँदै आएको छ । अस्पतालले आँफुलाई स्त्रीरोग, प्रसुती सेवा, हेमोडाइलोसिस, अंकोलोजी, क्रिटिकल केयर र जटिल सल्यक्रियाको लागि रेफरेवल सेन्टरको रुपमा बताउँदै आएको छ । आइभिएफ टेस्टट्युव बेबी र वेलनेस क्लिनिक सेवा पनि अस्पतालले उपलब्ध गराउने गरेको छ ।

१ सय ७५ बेड र १ सय भन्दा बढी विशेषज्ञ डाक्टरको व्यवस्था रहेको छ । साथै अस्पतालले १२ बेडको इमर्जेन्सी सेवा पनि उपलब्ध गराउँदै आएको छ । अस्पतालका सञ्चार अधिकृत विनोद अधिकारीका अनुसार अस्पतालले दैनिक रुपमा ५ सय देखि ७ सय संख्याका विमारीहरुलाई ओपीडीमार्फत सेवा दिने गरेको छ । त्यस्तै अस्पतालले सामान्यतया १० देखि १५ जना विमारीहरुलाई सर्जरी सेवा प्रदान गर्दै आएको छ ।

अधिकृत अधिकारीका अनुसार अस्पतालले ३६ वटा विषयमा विशेषज्ञता सेवा प्रदान गर्ने प्रयास गरिरहेको छ । जसमध्ये स्त्रीरोग, नेफ्रोलोजी, क्यान्सर र आइसियु लगायतका विषयहरु रहेका छन् । निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुमध्ये सस्तो शुल्कमा आइसियु र सरकारले सञ्चालन गरेको कार्यक्रमसँग जोडिएर केमोथेरापी र हेमोडाइलोसिस सेवा उपलब्ध गराउँदै आएको अधिकृत अधिकारी बताउँछन् ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पताल

चौधरी ग्रुपले सन् १९९३ मा नर्भिक अन्रर्राष्ट्रिय अस्पतालको स्थापना गरेको थियो । सो अस्पतालले आफूलाई सघन उपचार र बहुविशेषताको केयर फ्यासिलिटीमा अन्तर्राष्ट्रियस्तरको अस्पतालको रुपमा बताउँदै आएको छ । नर्भिकले आफुसँग गुणस्तरीय आइएसओ प्राप्त ल्याब रहेको बताएको छ ।

नर्भिकले २९ वटा विषयहरुमा विशेषज्ञता सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । जसमा अडियोलोजी तथा स्पिच थेरापी, मुटु, छाला, आँखा, कान, ग्याष्ट्रिक, आइभिएफ, प्रसुती तथा स्त्रीरोग आदि लगायत रहेका छन् । सो अस्पतालले दैनिक रुपमा सयौंको संख्यामा बिमारीहरुलाई उपचार सेवा प्रदान गर्दै आएको छ ।

 

अल्का अस्पताल

२०५२ सालमा अल्का फार्मेसीको रुपमा स्थापित भएर २०५७ सालमा अल्का पोलिक्लिनिक र २०६२ सालमा अल्का अस्पतालको रुपमा स्थापित भएको हो । ‘हामी हेरचाह गरेर उपचार गर्छौं’ लाई अस्पतालले आफ्नो आदर्श बनाएर सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालले नेफ्रोलोजी तथा हेमोडाइलासिस, प्लास्टिक सर्जरी, सर्जरी, अर्थोस्कोपी, आदि लगायत उपचारहरुमा आफ्नो मुख्य विशेषता रहेको जनाउने गरेको छ ।

अल्का अस्पतालमा १ सय वटा बेड सहितको अस्पताल हो । अस्पतालले दैनिक रुपमा ६ सय देखि ७ सय जना बिमारीहरुलाई ओपीडी मार्फत उपचार सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालले मल्टिस्पेशियालिटी विशेषज्ञतामा सेवा उपलब्ध गराउँदै आएका अस्पताल प्रशासनका प्रमुख भगवान केसीले विकासन्यूजलाई बताए ।

ब्लु क्रस अस्पताल

ब्लु क्रस अस्पतालले सन् १९९१ मा स्थापना गरेर स्वास्थ्य सेवा शुरुवात गर्दै आएको छ । शुरुमा सिटीस्क्यानबाट सेवा शुरु गरेको सो अस्पतालले अहिले आफुलाई विस्तार गरेर ५० बेडको अस्पतालको रुपमा विकसित गरेको छ । सो अस्पतालले विषयगत आधारमा ल्याब, रेडियोलोली अन्तर्गतका विभिन्न कार्यक्रम, मुटु, पेट, टाउको, अप्रेसन र हेमोडाइलोसिस सेवा प्र्रदान गर्दै आएको छ । साथै अस्पतालले इमर्जेन्सी सेवा पनि प्रदान गर्दै आएको छ ।

ब्लु क्रस अस्पतालमा दैनिकजसो १ सय ५० देखि २ सय जना सम्म विमारीहरु उपचारको लागि आउने गर्दछन् । औसतमा अस्पतालमा दैनिक ४ देखि ५ जना बिमारीको अप्रेसन हुने गरेको अस्पतालका सुपरभाइजर श्रीप्रसाद तिवारी बताउँछन् । तिवारीका अनुसार अस्पतालमा विशेष गरेर स्त्री रोग, युरोलोजी र ग्यास्ट्रोका बिमारीहरु ठुलो संख्या आउने गरेका छन् ।

माथि उल्लेखित बाहेक पनि काठमाडौं उपत्यकामा निजी क्षेत्रबाट सञ्चालित विभिन्न तहका सयौं अस्पतालहरु रहेका छन् । साथै निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजहरु रहेका छन् । निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुको छाता संगठन (अफिन) अध्यक्ष डा. पदम बहादुर खड्काले काठमाडौं उपत्यकामा निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुले २ तिहाई बिमारीहरुको उपचार गर्दै आएको बताए ।

‘सरकारी अस्पतालहरुको गुणस्तरमा त समस्या छैन्, तर प्रयाप्त छैनन्, जसकारणले निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुले नै उपचारको क्षेत्रमा ठुलो योगदान पुर्याइरहेका छन्,’ डा.खड्काले विकासन्युजलाई भने । स्वास्थ्य उपचारको क्षेत्रमा मात्रै नभएर जनशक्ति उत्पादनको क्षेत्रमा पनि निजी क्षेत्रको भूमिका सरकारी क्षेत्रको तुलनामा धेरै भएको उनको भनाई छ । संविधानले स्वास्थ्य क्षेत्रलाई राज्यको आधारभूत दायित्वभित्र राखेतापनि तथ्यांकहरुलाई हेर्दा राज्य आमजनताप्रतिको स्वास्थ्यको उत्तरदायित्व बहनको कुरामा संख्यात्मक रुपमा समेत असाध्यै कमजोर रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.