चितवन महानगरले २७४ विद्यार्थीलाई दियाे पूर्ण छात्रवृत्ति

  २०७९ भदौ १० गते १०:५३     विकासन्युज

चितवन । भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । दुई सय ७४ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् ।

महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइन आवेदन माग गरी छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विद्यार्थीको क्षमता र योग्यताका आधारमा विद्यार्थीलाई कक्षा १२ सम्म पढ्न छात्रवृत्ति वितरण गरिएको बताइन् ।

छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई सिफारिसपत्र वितरण गरिएको छ । अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई समेत छात्रवृत्ति वितरण गरिएको छ । ‘जहेन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने नीति लिएका छौँ’, शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौड्यालले भने । एकतीस संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको छ ।

छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ एक सय ६३ र अन्य एक सय ११ जना छन् । महानगरले बनाएको छात्रवृत्ति वितरण कार्यविधिअनुसार विद्यार्थी छनोट गरिएको हो । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ एक सय १५, गरिब तथा विपन्नतर्फ ९९, आदिवासी जनजातितर्फ २७, दलिततर्फ १७, अपाङ्गता भएका सात, जनआन्दोलनका घाइतेका सन्ततितर्फ पाँच तथा सहिदका सन्ततितर्फ तीन जना छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.