रिलायन्स लाइफ इन्स्योरेन्सबाट सबै विवरण पायौं, अब अध्ययन गर्छौं : अध्यक्ष सिलवाल

  २०७९ साउन १६ गते २०:१३     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बाँके कोहलपुरका मृतक सर्जन बिकको बीमा गरेदेखिको सबै विवरणहरु बीमा समितिलाई बुझाएको छ । इन्स्योरेन्सले बीमा समितिको निर्देशन अनुसार २४ घण्टाभित्रै उक्त विवरणहरु समितिमा पेश गरेको हो ।

समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले पनि इन्स्योरेन्सबाट सबै डकुमेन्टहरु पाइसकेको बताए ।

‘कम्पनीबाट डकुमेन्ट झिकाइएको छ, अध्ययन हुन्छ, कानुनी प्रकृया अनुसार नै अध्ययन गरेर कमी कमजोरी पत्ता लगाउँछौं र थप निर्णय गर्छौं,’ उनले भने ।

यससँगै अब समितिका नियमन विभागले उक्त विषयमा थप अध्ययन गर्ने छ । र, कारवाहीको प्रकृया अघि बढाउने छ ।

इन्स्योरेन्सले साउन १६ गते बीमा समितिलाई बुझाएको सम्पूर्ण डकुमेन्टलाई एकमुष्ट रुपमा ‘पोलिसी डकेट’ भनिन्छ । जसमा पोलिसी जारी गर्दा बुझाएको डकुमेन्ट, अण्डराइटिङ् गरेको डकुमेन्ट, बीमितको आयश्रोत लगायतको सबै विवरणहरु समेटिने समितिका अध्यक्ष सिलवालले जानकारी गराए ।

इन्स्योरेन्सका अध्यक्ष तारा चन्द केडिया भने यो काण्डले बीमा क्षेत्रमै नराम्रो निजिर परेको र अब आम मानिसमा शंका पैदा हुनेमा चिन्ता व्यक्त गरे ।


यस्तो थियो घटना ?

गरिब परिवारका २१ वर्षीय सर्जन बिकको परिवारलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराई २ करोड ५० लाख रुपैयाँको बीमासमेत गराएको पाइएको छ । २ महिला र ४ पुरुषको गिरोहले नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखेर बैंक खाता खोलिएको र बीमा गराइएको पाइए पछि सो ६ जना अहिले प्रक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मृतकसँग नक्कली विवाह गरी बीमाबाट प्राप्त २ करोड ५० लाख लिएकी २१ वर्षीया सपना मल्ल, मुख्य योजनाकार ३१ वर्षीय सञ्जीव अर्याल, सञ्जीव अर्यालसँग पूर्व चिनजान एवं बीमा एजेन्ट ३२ वर्षका सरदार अहमद खाँ, सपना मल्ललाई विदेश लैजाने भनि चिनाइएका व्यक्ति ३३ वर्षका टोपबहादुर राना क्षेत्री, काठमाडौंमा बीमाको भुक्तानि लिन सपना मल्ललाई ल्याउने ३८ वर्षका दीपक केसी र विवाह गरेर विदेश जाँदा फाइदा हुन्छ भनेर प्रतिवादी सपना मल्ललाई सञ्जीवसँग चिनजान गराउने वर्ष २१ की ललिता सापकोटा रहेका छन् ।

वार्षिक आम्दानी २ लाख मात्रै भएका युवकको २ करोड ५० लाख रुपैयाँ बराबरको बीमा गराइएको र ती युवकलाई योजनामै हत्या गरिएको पाइएको छ । हत्यापछि इन्स्योरेन्सबाट आएको पैसा गिरोहका सदस्यहरूले बाँडेर लिएको पाइएको पनि बताए । जसमध्ये  सपना मल्लको खातामा आएको २ करोड ५० लाख रुपैयाँमा ८० लाख ३६ हजार रुपैयाँ सञ्जीव अर्यालको खातामा, ६० लाख दीपक केसीको खातामा, सपनाकी आमा छविकुमारी मल्लको खातामा १७ लाख ४६ हजार, सपना मल्लाको खातामा ४६ लाख ८९ हजार रहेको बताए ।

उक्त रकमबाट ३ लाख ३ हजार पाँच सय एटीएम कार्डबाट निकालिएको, स्वाइप गरेर निकालिएको रकम २ लाख ६९ हजार ९ सय र ५ हजार ३ सय १६ रुपैयाँ रिचार्ज गरिएको पाइएको बताए । मृतकसँग एकपटक विवाह दर्ताका बेलामा मात्रै भेट भएकोले विवाह नक्कली भएको प्रमाणित हुने बताए ।

२ करोड ५० लाख रुपैयाँ बराबरको इन्स्याेरेन्स गराइएका सर्जन बिकको २०७८ वैशाख २ गते बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको बताइएको थियो । मोटरसाइकल चलाउने लाइसेन्ससमेत नभएका बिकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनिबसले ठक्कर दिएपछि बिकको मृत्यु भएको थियो । सवारी दुर्घटनामा युवकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सवारी ज्यान मुद्दा चलाइएकोमा २०७८ माघ २५ मा फैसला हुँदा रानालाई एक महिना कैद र २ हजार रुपैयाँ जरिवाना गरी छाडिएको थियो ।

मुद्दा सकिए लगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेस गरी गिरोहले रिलायन्स लाइफ इन्स्याेरेन्सबाट २ करोड ५० लाख रुपैयाँ भुक्तानी लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.